थप समाचारआइतबार, चैत्र २८, २०७२

जडिबुटीको व्यवसायिक खेति कति सम्भव, कति असम्भव?

हिमालखबर

madhusudanमधुशुदन थापा मगर

पृष्ठभूमि
सामान्यतः औषधिय वा रोग निदान गर्न सक्ने गुण भएका वनस्पतिहरु नै जडिबुटी हुन् । विभिन्न संचार माध्ययमहरुमा जडिबुटी संग सम्बन्धित सामग्रीहरु नियमित जस्तो प्रकाशन तथा प्रशारणमा आउने गर्दछन् । ति सामग्रीहरुको मूख्य सूचनाहरु विश्लेषण गर्ने हो भने प्रष्ट दुई धारमा विभक्त गर्न सकिन्छ ।

“… जडिबुटीको खेतिवाट लाखौ आम्दानी” भन्ने धारका समाचारहरु प्रायः जसो फरक फरक प्रजातीका जडिबुटी संग सम्बन्धित हुने गर्दछन् जसले जो कोही कृषकलाई उत्साही वनाउन सक्छ भने अर्कोतर्फ कृषकलाई महत्वकांक्षी वनाउने जोखिम पनि उत्तिकै रहन्छ ।

अर्को तर्फ “… जडिबुटी खेतिको कारण कृषक ऋणमा” भन्ने धारका समाचारले जडिबुटी कृषकलाई सम्भवित जोखिमको जानकारी गराउछ भने अर्कोतर्फ कृषकलाई हतोत्साही वनाउने सम्भावना पनि प्रवल रहन्छ ।

यि फरक धारका समाचारको प्रतिफलको रुपमा व्यवसायिक जडिबुटी खेति सम्भव छ वा छैन भन्नेमा सर्वसाधारण कृषकहरु चरम् द्विविधामा रहेका पाईन्छन् । कुनै पनि व्यवसायमा सफलता वा असफलताको सम्भावना रहन्छ, जडिबुटी खेति पनि एक व्यवसाय नै हो ।

यसको सफलताको कथामा सम्बन्धित कृषकको प्रयासलाई मात्र कारक मान्ने तथा असफलताको कथामा अर्को पक्ष वा परिस्थिीतीलाई दोष दिई निश्कर्ष निकाल्ले परिपाटी व्याप्त रहेको पाईन्छ । यसलाई पूर्णता दिने प्रयास स्वरुप जडिबुटी व्यवसायमा रहेका विविध पक्षहरु सम्बन्धि सामान्य तर महत्वपूर्ण विवरणहरु संकलन तथा विश्लेषण गरि प्रस्तुत सामग्री तयार गरिएको छ ।

नेपालको सन्दर्भमा जडिबुटी
नेपालमा पाईने करिब ७००० प्रजातिका फुल फुल्ने वनस्पतिहरु मध्ये करिव ८०० प्रजातिका जडिबुटीहरु पहिचान भैसकेका छन् । नेपालमा जडिबुटी सदुपयोगको सन्दर्भमा हेर्दा हिमाली भेगमा प्राकृतिक वासस्थानवाट संकलन गर्ने, पहाडी भेगमा सामूदायिक वन वाट संकलन तथा व्यवस्थापन गर्ने र तराई भेगमा निजी स्तरमा व्यवसायिक खेतिलाई प्राथमिकतामा राखेको पाईन्छ ।

जडिबुटीमा आश्रित घर धुरीलाई आधार मान्दा तराईमा तुलनात्मक रुपमा कम, पहाडमा मध्यम र हिमाली भेगमा बढी घरधुरीहरु आश्रित रहेको पाईन्छ । बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलनमा आश्रित निश्चित हिमाली क्षेत्रका वासिन्दाहरुको वार्षिक आयको ५० देखि १०० प्रतिशत स्रोत नै यार्सागुम्बा रहेको देखिन्छ । समग्रमा हेर्दा नेपालको कुल गार्हस्थ उत्पादनमा करिब ५ प्रतिशत योगदान जडिबुटी तथा गैह्रकाष्ठ वन पैदावार क्षेत्रको रहेको छ (Malla et al.1995, ANSAB 1999) ।

नेपाल सरकारले जडिबुटी तथा गैह्रकाष्ठ वन पैदावार क्षेत्रको विकास तथा विस्तार गर्नको लागी “जडिबुटी तथा गैह्रकाष्ठ वन पैदावार विकास नीति २०६१” तर्जुमा गरी लागु गरेको छ । यसैगरी नेपालको आर्थिक विकासको लागी ३० प्रजातिका जडिबुटीहरुलाई प्राथमिकतामा राखी सो मध्येवाट १२ प्रजातीका जडिबुटीहरुलाई खेति प्रविधि विकासको माध्ययमबाट व्यवसायिक खेतिको लागी सिफारिस समेत गरेको छ ।

अन्तराष्ट्रिय बजारमा नेपालको जडिबुटी उच्च गुणस्तरको मानिनु, प्राकृतिक रुपमा दिगो संकलन संगै व्यवसायिक खेतिको प्रचुर सम्भावना, जडिबुटी व्यवसायको ऐतिहाँसिक पृष्ठभूमि आदी नेपालमा जडिबुटीको सम्भावना संग सम्बन्धित सकारात्मक पक्षहरु हुन् । यि यावत् सम्भावनाको बाबजुद नेपालले जडिबुटी क्षेत्रबाट आशातित उपलब्धी हाँसिल गर्न सकेको छैन ।

जडिबुटीको अस्थिर बजार संयन्त्र, स्वदेशमा जडिबुटी जन्य उद्योगको अप्रयाप्ता, जडिबुटी जन्य उत्पादनको निर्यातमा गिरावट तथा आयातमा वृद्धी आदी यस क्षेत्रको चुनौतिको रुपमा रहेका छन् ।

व्यवसायिक जडिबुटी खेतिका न्यूनतम पूर्वशर्तहरु
यस अन्तर्गत प्राविधिक र व्यवस्थापकिय पक्षहरु पर्दछन् ।

प्राविधिक पक्षहरु
प्रजातिको छनौट एक महत्वपूर्ण प्राविधिक पक्षको रुपमा आउँछ । प्रत्येक वनस्पति प्रजातिले आफ्नै विशेष किसिमको हावापानी, माटो, भिरालोपन आदी रुचाउँछ, त्यो विशेष किसिमको अवस्था उक्त प्रजातीको प्राकृतिक वासस्थानको आसपासको क्षेत्रमा उपलब्ध हुन्छ ।

यसकारण व्यवसायिक खेतिको लागी जहिले पनि प्रस्तावित खेति क्षेत्रको आसपास पाईने रैथाने जडिबुटी प्रजाती लाई प्राथमिकतामा राख्नु उपयूक्त हुन्छ । कुनै वाह्य प्रजाती हुर्कन त सक्छ तर उत्पादकत्व कम हुने सम्भावना अधिक रहन्छ । यदि सवै आधारमा वाह्य प्रजाति राम्रो पाईएमा सो को व्यवसायिक खेति गर्न सकिन्छ तर नयाँ प्रजाति छनौट गर्दा विस्तृत अध्ययन आवश्यक हुन्छ ।

प्रजाति छनौट पश्चात् उक्त प्रजातीको खेति प्रविधि सम्बन्धि पूर्ण प्राविधिक ज्ञान आवश्यक हुन्छ । यस अन्तर्गत उपयूक्त हावापानी, माटो, खेति प्रविधि, वेर्ना उत्पादन, रोपण, गोडमेल, स्याहार सम्भार, वाली संकलन, प्रशोधन, भण्डारण आदी सम्पूर्ण पर्दछन् । यि सम्पूर्ण ज्ञान हाँसिल गरेपछि पनि एकै पटक वृहद क्षेत्रफलमा खेति गर्नुहुदैन, सानो क्षेत्रफलमा परिक्षण खेति गर्नुपर्दछ । परिक्षण खेतिवाट सफलता प्राप्त भएपश्चात् मात्र व्यवसायिक खेतिमा प्रवेश गर्नुपर्दछ ।

व्यवस्थापकिय पक्षहरु
लाभ लागत विश्लेषण अत्यन्त महत्वूर्ण व्यवस्थापकिय पक्ष हो, तर हाम्रो सन्दर्भमा सवैभन्दा छुटेको पक्ष पनि यही नै हो । सामान्य अर्थमा बुझ्नुपर्दा व्यवसायिक खेति चक्रमा हुने सम्पूर्ण लागत तथा प्राप्त हुने लाभको पूर्वानुमान तथा मूल्यांकन नै लाभ लागत विश्लेषण हो ।

यो कुनै आयोजनाको विस्तृत दस्तावेजमा समावेश हुने परिच्छेद वा नजिकैको छिमेकीले जडिबुटी खेतिवाट गरेको आम्दानी वा व्यहोरेको नोक्शानीको विवरण मात्र होईन । साधारण कृषकले सामान्य जोड घटाउवाट पनि लाभ लागत विश्लेषण गर्न सक्दछ र यो गर्नु अत्यावश्यक छ । लाभ लागत विश्लेषणवाट फाईदा देखिन्छ भने मात्र व्यवसायिक खेतिमा जान सकिन्छ ।

जडिबुटीको व्यावसायिक खेती अन्य अन्नवाली भन्दा यस अर्थमा फरक छ कि उत्पादन विक्रि नभएमा न त लामो समय सम्म भण्डारण गर्न सकिन्छ न त उपभोग गर्न नै । त्यसकारण यसको लागी प्रष्ट व्यवसायिक योजना आवश्यक हुन्छ । उत्पादन परिमाण कति हुन्छ, मूल्य अभिवृद्धीको योजना के छ, वजार कहाँ हो, बजार संयन्त्र कस्तो छ, तत्काल बजार नपाएमा कसरी कति समय सम्म भण्डारण गर्न सकिन्छ आदि जस्ता सम्पूर्ण प्रश्नहरुको जवाफ दिने योजना नै व्यवसायिक योजना हो ।

प्रजाति विविधिकरण र व्यवसायको निरन्तरता अर्को महत्वपूर्ण व्यवस्थापकिय पक्ष हो । एउटा प्रजातिमा मात्र सिमित नरही दुई देखि तिन प्रजातीको व्यवसायिक खेति गर्नु नै प्रजाति विविधिकरण हो । व्यवसायको निरन्तरता भन्नाले हरेक वर्ष उत्पादन निरन्तर बजारमा ल्याउने किसिमको व्यवसायिक खेति हो ।

उदाहरणको लागि ३ वर्षे बाली चक्र भएको प्रजाती ९ हेक्टर क्षेत्रफलमा खेति गर्ने योजना छ भने पहिलो वर्ष ३ हेक्टरमा, दोश्रो वर्ष थप ३ हेक्टरमा विस्तार गर्ने र तेस्रो वर्ष अर्को ३ हेक्टरमा विस्तार गर्नु पर्दछ । बजार मूल्यको उतार चढाव, रोग किरा आदी वाट हुन सक्ने जोखिम न्यूनिकरणको लागी यो महत्वपूर्ण हनुको साथै बजार संयन्त्रलाई स्थीर राख्न यसले सहयोग गर्छ ।

निष्कर्ष
सतही ज्ञानको पछि लागेर कुनै पनि व्यावसाय सफल हुन सक्दैन, सफलताको लागी विस्तृत ज्ञान तथा अनुभवले निर्देशित गरेको दिशामा अटुट परिश्रम आवश्यक पर्दछ । आजको समयमा कुनै पनि कार्य असम्भव प्रायः हुनै सक्दैन, व्यवसायिक जडिबुटी खेतिमा पनि यो लागु हुन्छ । माथि छलफल गरिएका न्यूनतम पूर्वशर्तहरु पुरा गर्ने हो भने व्यवसायिक असफलताको सम्भावनालाई न्यूनतम भन्दा न्यूनतम विन्दुमा झार्न सकिन्छ ।

व्यवसायिक सफलताको सम्भावना अधिकतम विन्दुमा ल्याउनको लागी प्रजाती, स्थान, समयको आधारमा केही पूर्वशर्त थप हुन सक्छन्, सोको पहिचान र व्यवस्थापन गर्ने प्रमुख जिम्मेवारी एवं दायित्व सम्बन्धित व्यवासायी कै हुन आउँछ, यसमा सहयोगी भूमिका भने सम्बन्धित अन्य निकाय तथा व्यक्तिको हुन्छ ।

वनस्पति श्रोतहरुको अनुसन्धान तथा विकासको माध्ययमबाट राष्ट्र विकासमा टेवा पुर्याउने लक्षको साथ नेपाल सरकार, वन तथा भू–संरक्षण मन्त्रालय अन्तर्गत वनस्पति विभागले आफ्ना कृयाकलापहरु संचालन गर्दै आइरहेको सन्दर्भमा जडिबुटीको व्यवसायिक खेतिमा सहयोगी तथा समन्वयकारी भूमिका खेलिरहेको छ । चैत्र २९ गते वनस्पति विभागले आफ्नो स्थापनाको ५६ औं वार्षिकोत्सव तथा वनस्पति दिवस “गरौं संबद्र्धन वनस्पतिको, हुन्छ समुन्नती राष्ट्रको” भन्ने नाराका साथ मनाउन गैरहेको छ ।

जडिबुटी तथा महत्वपूर्ण वनस्पतिहरु सम्बन्धि प्राविधिक सेवा लिनको लागी वनस्पति विभाग, थापाथली, विभाग अन्तर्गतका केन्द्रिय स्तरका कार्यालयहरु (प्राकृतिक सम्पदा अनुसन्धानशाला, थापाथली, राष्ट्रिय हर्वेरिम तथा वनस्पति प्रयोगशाला, गोदावरी र राष्ट्रिय वनस्पति, उद्यान गोदावरी) तथा ईलाम, धनुषा, मकवानपुर, सल्यान, बाँके, जुम्ला र कैलालीमा अवस्थित जिल्ला वनस्पति कार्यालयहरुमा सम्पर्क गर्न सकिन्छ ।

( जिल्ला वनस्पति कार्यालय कैलालीमा कार्यरत लेखक वनस्पति शास्त्री हुन् ।¬)

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>