समाचारबुधबार, बैशाख १, २०७३
डोटी जिप दुर्घटनामा प्राध्यापक पन्तसहित ८ जनाको मृत्यु
डोटीको बाङ्दुङ्ग्रीसैनबाट जिजोडामान्डौँतर्फ गइरहेको ना१ज ३२९४ नंको जिप गए राति ९ बजे जिजोडामान्डौँ–८ मा दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ ।
दुर्घटनामा सातजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जिजोडामान्डौँ–८ घर भएका ६२ वर्षीय प्रा डा जयराज पन्त, ५५ वर्षीया गुडी पन्त र ५२ वर्षीया सावित्रा पन्तको मृत्यु भएको छ । डा पन्त पद्मकन्या क्याम्पस, काठमाडौँका प्राध्यापक हुन् ।
यसैगरी, ६१ वर्षीय डा गणेश पन्त, ५९ वर्षीय केशवराज पन्त र ३६ वर्षीया हरिना टमटाको पनि मृत्यु भएको छ ।
घटनामा गम्भीर घाइते भएका जिपचालक डोटी जिल्लाकै वनलेक–१ का ४५ वर्षीय चेतराज बलायर र ठेगाना थाहा हुन नसकेकी अन्दाजी १७ वर्षकी जानकी ताम्राकारको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचारका क्रममा गए राति नै मृत्यु भएको छ ।
यस्तै, घटनामा ४५ वर्षीया नवरता पन्त, ३० वर्षीय गौरव पन्त, नौ वर्षीय लक्ष्मी नेपाली, ३८ वर्षीय धनबहादुर टमटा, ३८ वर्षकै कलावती टमटा, २२ वर्षीय अनिता टमटा र धौली टमटा घाइते भएका छन् ।
घाइते सबैलाई उपक्षेत्रीय अस्पताल डडेल्धुरा पुर्याइएकामा केही घाइतेलाई थप उपचारका लागि धनगढीतर्फ ल्याइएको छ ।
जिप सडकबाट झन्डै ५०० मिटर तल खसेर दुर्घटना भएको डोटी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डिल्लीराज विष्टले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
