व्यक्तित्वमंगलबार, मंसिर १९, २०६९
अर्गानिक तरकारी : काभ्रेदेखि सिंगापुरसम्म
आठ वर्षअघि काभ्रे, साँगाका प्रेम लामाले आशापुरी अर्गानिक फार्म स्थापना गरेर १०० रोपनी जग्गामा अर्गानिक खेती शुरू गर्दा धेरैले पत्याएका थिएनन् । हिजोआज उनी दैनिक ३०० केजी तरकारी बेचेर महीनामा रु.१५ लाख कमाउँछन् । उनको फार्ममा विषादी र रासायनिक मल प्रयोग नगरी फलाइने याकुन (ग्राउण्ड एप्पल), कुरिलो, सीताके च्याउ, काउली, बन्दा, प्याजलगायत ६० भन्दा बढी तरकारीको माग राजधानीका तारे होटलदेखि सिंगापुरसम्म छ । सिंगापुरबाट कुरिलो, याकुन र च्याउको माग बढी हुने गरेको लामा बताउँछन् ।
पात्लेखेतको गोविन्द शर्माको हसेरा अर्गानिक फार्मको तरकारी पनि सिंगापुर पुग्छ । ५० रोपनी जग्गामा याकुन, स्टेपिया र अन्य तरकारीको खेती गरेका उनको फार्मबाट उत्पादन हुने जाम, जेली, अचारले पनि अन्तर्राष्ट्रिय बजार पाएका छन् । अर्गानिक खेतीबाट लामा र शर्माले पाएको सफलता देखेपछि काभ्रेका अन्य गाउँमा पनि यसको लहर चलेको छ । पात्लेखेतमै समिर नेवाको सक्रियतामा शुरू गरिएको अर्को एक फार्मले अर्गानिक उत्पादन गर्दै आएको छ । धुलिखेलमा २० जना किसान मिलेर दुई वर्षअघि शुरू गरेका साफिनो कृषक समूहले जग्गा भाडामा लिएर मौसमी तरकारी खेती गरेको छ भने नालामा सात जनाको प्रयासमा ६५ रोपनी जग्गामा यस्तो खेती गरिएको छ । लभग्रिन नेपाल नामक संस्थाको सहयोगमा अनेकोट गाविसका सबै वडामा अर्गानिक खेती शुरू भएको छ । जिल्ला कृषि विकास कार्यालयले विश्व खाद्य संगठनको सहयोगमा महादेवस्थान, शंखुपाटीचौर र कुशादेवी–रयालेमा एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम) कार्यक्रम संचालन गरेर विषादीरहित उत्पादनमा जोड दिएको छ ।
वातावरणमा असर नपर्ने, माटोको उर्वराशक्ति बढ्ने र स्वास्थ्यको दृष्टिले मन पराइने भएकोले किसानहरू अर्गानिक खेतीप्रति आकर्षित भएका हुन् । केही वर्षअघिसम्म उनीहरू डढुवा, ढुसी, लाइ, पतेरो, गवारो आदिबाट तरकारी जोगाउन र थोरै जग्गाबाट धेरै उत्पादन लिन रासायनिक विषादी र मल प्रयोग गर्दथे । पछिल्लो समय तरकारी खेतीमा प्रयोग गरिएको रासायनिक मल–विषादीले मानव स्वास्थ्य र वातावरणमा असर गरेको गुनासो बढेपछि तथा अर्गानिक खेतीको महत्व बुझ्ेपछि तिनको प्रयोगमा कमी आएको अध्ययनहरूले देखाएका छन् ।
पाँचखालस्थित प्रगतिशील बहुउद्देश्यीय सहकारी संस्थाले विषादीको प्रयोगबारे गरेको सर्वेक्षणले विषादीको प्रयोग ९० प्रतिशतले घटेको देखाएको छ । पाँचखाल बीज भण्डारका सञ्चालक गोविन्दप्रसाद सापकोटा किसानहरू सचेत भएकाले विषादी बिक्रीमा कमी आएको बताउँछन् । कान्छा अधिकारीको अनुभवमा विषादी प्रयोग नगर्दा उत्पादनमा कमी आउने कुरा पनि गलत साबित भएको छ ।
प्रमुख बजार राजधानी
काभ्रेको तरकारीले राजधानीको एकतिहाई माग धान्दै आएको छ । यहाँ वार्षिक उत्पादन हुने १ लाख ५० हजार २३८ टन तरकारीमध्ये १ लाख २५ हजार टन राजधानी भित्रिन्छ । कृषि विकास कार्यालय काभ्रेका वरिष्ठ कृषि विकास अधिकृत सहदेव हुमागाईंका अनुसार जिल्लाको ९५४५ हेक्टर जमिनमा तरकारी खेती लगाइएको छ । तरकारी खेतीमा कहलिएका पाँचखाल, नाला, महादेवस्थान, जैसीथोक, ज्याम्दी, कुशादेवी, ढुंखर्क आदि ठाउँमा आलु, गोलभेंडा, काउली, बन्दा, मुला, सिमी, भन्टा लगायतका तरकारी उत्पादन हुन्छन् ।
१५ वर्षअघिसम्म पारिवारिक प्रयोजनमा सीमित काभ्रेको तरकारी खेती गाउँ–गाउँमा मोटरबाटो पुगेपछि व्यवसायमुखी बनेको हो । पाँचखाल–तामाघाट, नाला, ढुंखर्क, कुशादेवी, ज्याम्दी र बनेपामा तरकारी संकलन केन्द्र स्थापना भएपछि किसानहरूले आफ्ना उत्पादन बेच्न टाढा धाउनु नपर्ने भएको छ ।
सफल किसानको कथा
तीन रोपनी जग्गामा लगाएको एक पटकको बन्दा खेतीबाट ढुंखर्कका रामशरण तिमल्सिनाले रु.२ लाख आम्दानी गरेका छन् । “हचुवामा बेच्दा रु.२ लाख आयो, जोखेर बेचेको भए रु.४ लाख आउने रहेछ”, तरकारी खेतीबाट उत्साहित तिमल्सिनाले भने ।
बन्दाबाट राम्रो आम्दानी भएपछि मुला खेती पनि गर्न थालेका तिमल्सिनाले सिजन अनुसार बन्दा, काउली जस्ता तरकारीका बेर्ना बेचेर पनि थप आम्दानी गर्दै आएका छन् । यसरी उनी वर्षमा कम्तीमा रु.५ लाखसम्म फाइदा गर्छन् । कम लगानीमा धेरै समय दिनु नपर्ने र राम्रो आम्दानी हुने भएकाले आफ्नै माटोमा पसिना बगाउँदा मुग्लानको भन्दा बढी कमाउन सकिनेमा तिमल्सिना विश्वस्त छन् ।
गाविसमा मिहिनेती किसानका रूपमा चिनिएका तिमल्सिनाको प्रेरणाबाट गाउँका अरू किसानले पनि कुरिलो, काउली र मुला खेती गरेका छन् । बेसिजनको तरकारी उत्पादन गर्ने क्रम पनि बढेको छ ।
–नगेन्द्र अधिकारी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
