थप समाचारबुधबार, बैशाख १, २०७३
न्यायाधीशले सोधे ग्रिनेड कसरी पड्क्यो, प्रहरीले भन्यो– यसरी
पाकिस्तान, कराचीको अदालतमा एक प्रहरीले ग्रिनेड कसरी पड्किन्छ भन्ने देखाउँदै गर्दा विष्फोट भई न्यायाधीश समेत केही व्यक्ति घाइते भएका छन् ।
गत सोमबार अदालतको नियमित न्यायिक कार्वाही जारी रहेका बेला अदालतमा विष्फोट भएपछि भागाभाग भयो । विष्फोटका घटना भइरहने कराचीमा ठूलो आवाज सुनेपछि सबैले आतंकवादी आक्रमण भएको ठाने र कोलाहल मच्चियो ।
तर यो आतंकवादी आक्रमण नभई एक प्रहरी जवानले विष्फोट कसरी हुन्छ भन्ने देखाउँदै गर्दा भएको थियो ।
कराचीको कलां प्रहरी कार्यालयले ‘एन्टी टेरोरिष्ट कोर्ट नम्बर–३’ मा एक अपराधीलाई पेश गरेको थियो । उसबाट बरामद भएका हतियार र गोलीगठ्ठा समेत प्रमाणका रुपमा न्यायाधीश सामू प्रस्तुत गरियो ।ती हतियारमा एउटा ग्रिनेड पनि थियो ।
त्यसैबेला न्यायाधीशले सोध, ‘यो ग्रिनेड कसरी विष्फोट हुन्छ ?’ एक जना प्रहरी कन्सटेबल अघि सरे । न्यायाधीशले यो चलाउँदा विष्फोट त हुँदैन ? भन्दै गर्दा कन्सटेबलले ग्रिनेडको पिन थुते र विष्फोट भयो ।
ग्रिनेड पड्किएपछि न्यायाधीश कुर्सीबाट उफ्रिएर भूइँमा लडे र प्रहरी जवानसहित अदातलमा उपस्थित अन्य व्यक्तिहरु घाइते भए । गम्भीर घाइते तीन जना अझै पनि अस्पतालमै छन् ।
विष्फोटका बेला नजिकैको अर्को अदालतमा रहेकी अधिवक्ता असमाउल हुस्नाका अनुसार यो घटनाबाट सबै पाकिस्तानी अचम्ममा परेका छन् । “पाकिस्तानको इतिहासमै यसखालको यो पहिलो घटना हो,” उनले भनिन् ।
घटनाको तीन दिनपछि पनि वकिलहरु बीच विष्फोटकै चर्चा भइरहेको छ । उनीहरु भन्छन, “अब न्यायाधीशले कहिल्यै ग्रिनेड कसरी विष्फोट हुन्छ भनेर सोध्ने छैनन् ।सबैले थाहा पाइसके कसरी हुँदो रहेछ भन्ने ।”
अधिवक्ता हुस्नाका अनुसार अपराधीबाट बरामद हतियार या विष्फोटक ‘डिफ्यूज’ गरेपछि मात्रै वरिष्ठ प्रहरी अधिकारीको रोहबरमा न्यायाधीश सामु पेश गरिन्छ । उनी यो घटनामा चरम लापरवाही भएको बताउँछिन् ।
अदालतले ग्रिनेड विष्फोटको घटनाबारे जाँचको आदेश दिएको छ ।