रमझमबुधबार, बैशाख १, २०७३

न्युयोर्कमा शेर्पा समुदायको ल्हाप्सो

हिमालखबर

न्युयोर्कमा शेर्पा समुदायको ल्हाप्सो
ल्होसार (नयाँ बर्ष) को अवसरमा न्युयोर्कस्थित शेर्पा किदुृग अमेरिकाले ल्हाप्सो कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम न्युयोर्क शहरबाट करिब डेट घण्टाको गाडी यात्रामा पुगिने वाल्देन गाउँस्थित छेचेन कुन्छब लिङ गुम्बामा सम्पन्न गरिएको हो ।

ल्हुक ल्हो (भेँडा बर्ष) बिदाई गरी टे (ल्हो (बाँदर बर्षं) शुरु भएको अवसरमा यसपालीको ल्हाप्सो कार्यक्रम गरिएको आयोजकले जनाएको छ । चन्द्र पात्रोमा आधारित रहेर चिनियाँ पध्दती अनुसार बिभिन्न १२ थरीका जनावरलाई बर्षको रुपमा मान्ने परम्परागत प्रचलन नेपालका हिमाली भेगमा बसोबास गर्ने शेर्पा, तामाङ, गुरुङ, ह्योल्मो लगायतका समुदायले प्रयोग गर्ने गर्दछन् ।

चन्द्र पात्रो अनुसार ल्होसार गत फेब्रुअरी ९ तारिकबाट शुरु भए पनि यसको अवसरमा मनाईने ल्हाप्सो कार्यक्रम मौसम अनुकुल बनाउँन यसपाली केहि समय पछि सारिएको हो । अघिल्लो बर्षहरुमा ल्होसार शुरु सँगै हिउँदमै आयोजना गरिन्थ्यो । तर यस पटकबाट हिउँद सके लगत्तै न्यानो याममा पारेर मनाउँदा विगतको तुलनामा सहभागीहरु बढी थिए ।

ल्हाप्सोमा धार्मिक पुजापाठसंगै शेर्पा किदुगका लामा गुरुहरुले महान धर्म गुरु शाक्य ट्रिजेन रिम्पोचेको उपस्थितिमा परम्परागत विभिन्न धार्मिक नृत्यहरु प्रस्तुत गरे । न्युयोर्क र आसपासका राज्यबाट उपस्थित सहभागीहरुले इष्टमित्रहरुसग भेटघाट गर्नको साथै नाचगान गरेर रमाए । यसका साथै सहाभागीहरुले प्रभावशाली धर्मगुरु शाक्य ट्रिजेन रिम्पोचेको दर्शन गर्न पाए ।

तिब्बतीयन बौध्द धर्म मान्यता अनुसार ४१ औ अवतरको रुपमा मानिने धर्म गुरु शाक्य ट्रिजेन रिम्पोचेको जन्म सन् १९४५ मा तिब्बतको छेदाङमा भएको थियो । तिब्बतीयन बौध्द धर्म आध्यात्मिक तहगत प्रणाली अनुसार उनलाई धर्म गुरु दलाई लामापछिको गुरुको रुपमा लिईन्छ ।

धार्मिक नृत्य सके लगतै सबै जना गोलाकार उभिएर हातमा राखेको चम्पा (पिठो) आकाशमा छर्केर देवीदेवताको जयजयकार गदै विश्व शान्ति र सम्पुर्ण प्राणीको कल्याणको कामना ल्हाप्सोमा गरिन्छ ।

किदुगका अध्यक्ष दावा जाङबु शेर्पाका अनुसार शेर्पा समुदायको भाषा, धर्म र सस्कृतिको संरक्षणसंगै विश्व शान्तिको कामना र मानवता वीचको एकताको लागी यो ल्हाप्सो कार्यक्रम गदै आएको हो । कार्यक्रममा गैर शेर्पाहरुको उपस्थिती पनि उल्लेख्य रहेका थिए । शेर्पाहरुले मनाउँदै आएको ल्हाप्सो सँस्क्रिती सम्बन्धमा अमेरिकाका नेपाली समुदाय लगायत अन्य समुदायले समेत चासो बढाउँदै आएको धारणा सगरमाथा आरोही पत्रकार आङ छिरिङ शेर्पाको छ ।

नेपालका शेर्पा बस्तीहरुमा धुमधामसँग मनाउँने ल्हाप्सो परम्परा शेर्पाहरुको बसाई सराई सँगै न्युयोर्क आई पुगेको शेर्पा कदिुगका पुर्व सचिव निमा शेर्पा बताउँछन् । किदुगले प्रत्येक बर्षको ल्हाप्सो कार्यक्रमको लागी नेपालका शेर्पा बस्ती भएको जिल्लाको प्रतिनिधित्व हुने गरी ९ परिवार सम्मिलित ल्हाप्सो आयोजक समिति बनाइन्छ । किदुगका महासचिव जाङबु शेर्पा गोलेले बताए अनुसार ल्हाप्सो कार्यक्रमबाट बचेको रकम किदुगले निकट भविष्यमा अमेरिकामा बनाउँने शेर्पा बस्ती निर्माणमा खर्चिने छ ।

ङिमा पाख्रिन, न्युयोर्क

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>