थप समाचारबिहीबार, बैशाख २, २०७३
१२ बैशाखलाई सम्झेर न्यूयोर्कमा पदयात्रा
न्युयोर्कको म्यानहटनमा ‘न्युयोर्क टु नेपाल’ नामक पदयात्रा अप्रिल २४ मा हुने भएको छ ।
गत वर्ष नेपालमा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाएकाहरुको सम्झनामा अमेरिकाको न्यूयोर्कमा पदयात्राको आयोजना गरिएको छ ।
म्यानहटनको व्यस्त ८९ साउथ स्ट्रीट पियरमा हुने पदयात्रामा करिब दुई दर्जन बढी नेपाली तथा अन्य संस्थाहरुको साथ रहने आयोजक ‘लिभ टु लभ ईन्टरनेशनल’ले जनाएको छ
आयोजक सहयोगी सँस्था ड्रुक्पा युएसएका संयोजक टासी कान्छी शेर्पाका अनुसार पदयात्रामा करिब ५ हजारको सहभागिता हुने अनुमान गरिएको छ । पदयात्रामा अमेरिकाका चर्चित कलाकार, अन्तराष्ट्रिय दाता, नेता साथै न्युयोर्क राज्यका अधिकारीसमेत सहभागी हुने उनले बताए ।
“यो पदयात्रा नेपाललाई माया गर्ने सबैको लागि खुला छ, नेपालले भोग्नु परेको त्यो दुःखमा हामी पनि साथ छौं भन्ने मुख्य सन्देश हुनेछ,” उनले भने ।
लिभ टु लभ इन्टरनेशनलका संयोजक क्यारी लिले भनिन, “नेपालमा परेको दुःखलाई सम्झेर पदयात्रामा सहभागी हुन हामी सबैलाई आमन्त्रण गर्दछौ ।”
पदयात्रामा विभिन्न झाँकी सहितको सहभागिताले अमेरिकी लगायत अन्यसमुदायको ध्यानाकार्षण हुने र पुनःनिर्माणमा सहयोग जुट्ने आशा आयोजकको छ ।
“नेपालको विविधताबीच एकता न्युयोर्क शहरसँग मिल्दोजुल्दो छ, त्यसैले पनि न्यूयोर्क शहरले नेपाललाई सहयोग गर्नेछ,” क्यारी लिले भनिन् ।
ङिमा पाख्रिन, न्यूयोर्क