समाचारशुक्रबार, बैशाख ३, २०७३
पार्टी अध्यक्ष ओलीलाई चरम गुटबन्दीको आरोप
नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले चरम गुटबन्दी गरेको आरोप लगाएका छन् ।
२ वैशाख साँझ केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ नै नदिई अध्यक्ष ओलीले बैठक समापनको तयारी गरेपछि नेता खनाल र नेपालले समय लिएर बोलेका थिए । पार्टी अध्यक्ष ओलीले नवौं महाधिवेशनपछि पनि गुटबन्दी नछोडेको उनीहरुले आरोप लगाए ।
नेता खनालले पार्टी अध्यक्ष र प्रधानमन्त्री रहेको व्यक्तिले गुटबन्दी गरेकोमा आश्चार्य प्रकट गरे । खनालले भने, “लामो समय पार्टी प्रमुख र प्रधानमन्त्री म पनि भएको थिएँ तर अहिलेजस्तो गुटबन्दी गरिनँ ।”
बरिष्ठ नेता नेपालले पार्टी विधिविधान अनुसार नचलाइएको आरोप लगाए । अध्यक्ष ओलीले पार्टीलाई एकतावद्ध बनाउने प्रयास समेत नगरेको उनले आरोप लगाए ।
२७ चैतबाट जारी केन्द्रीय कमिटी बैठकमा अधिकांश नेताहरुले एकताबद्ध पार्टी बनाउनुपर्नेमा जोड दिएको खबर आजका दैनिक पत्रिकाहरुमा प्रकाशित छन् ।