थप समाचारशुक्रबार, बैशाख ३, २०७३
गुरुदक्षिणामा चामल
मनहर्वा–५, बारा; बेलबाडी टोलका निराजन ठाकुर (८) हरेक बिहान ७ नबज्दै रामजानकी मन्दिर पुग्छन्। उनीसँगै गाउँको श्रीनेरा प्राविका अधिकांश विद्यार्थी सबेरै मन्दिर धाउँछन्। मन्दिरका पुजारी रामशरण वैरागी (७२) उनीहरूलाई कुरिरहेका हुन्छन्।
विद्यार्थी र पुजारीबीचको यो नित्य सम्बन्ध पूजाका लागि नभई पढाइका लागि हो। ४० वर्षदेखि वैरागीले यसरी नै विद्यार्थीलाई ट्यूसन पढाउँदै आएका छन्।
गाउँमा विद्यालय अभावमा सन्तानले पढ्न नपाएपछि स्थानीयले २०३१ सालमा मन्दिर स्थापना गरी वैरागीलाई पूजापाठ र पठनपाठन दुवैको जिम्मेवारी सुम्पेका थिए। तर, अहिले गाउँमै सरकारी र निजी विद्यालय खुलिसक्दा पनि वैरागीको कक्षा जारी छ।
गुरुदक्षिणाको शैली पनि वेग्लै छ। स्थानीय अवधेशप्रसाद साह एक जना विद्यार्थीलाई महीनाभरि पढाएबापत एक किलो चामल र रु.२० पाउने गरेको बताउँछन्। “पहिलेपहिले धान र चामल मात्र उठाउँथें”, उनी भन्छन्।
वैरागीले आफैंले भने कक्षा ६ सम्म मात्र पढेका छन्। त्यसैले उनी कक्षा ५ सम्मका विद्यार्थीलाई मात्र पढाउँछन्। तर पनि उनमा अंग्रेजी, गणित र नेपाली तीनवटै विषय पढाउने क्षमता छ।
उमेर घर्कीर्दै गए पनि वैरागीको पढाउने जोशमा कमी नआएको स्थानीय चन्द्रेश्वर यादव बताउँछन। उनी भन्छन्, “पहिलेको जस्तै जोश, जाँगर र माया गरेर सिकाउनुहुन्छ।” वैरागीका लागि भने, बालबालिका र भगवान उस्तै हुन्। “त्यसैले पनि उनीहरूलाई पढाउँदा खुशी लाग्छ”, उनी भन्छन्, “अब धेरै बाँच्दिन होला, पढाएरै मर्ने मन छ।”
-गोकुल घोरसाइने, बारा