अन्तर्वार्ता/विचारशुक्रबार, बैशाख ३, २०७३

क्रिकेट प्रशिक्षक टमटासँग अन्तर्वार्ता

हिमालखबर

२० वर्षदेखि क्रिकेट प्रशिक्षणमा रहेका जगत टमाटाले पहिलो पटक ‘सिनियर टिम’ सम्हालेका छन् । विश्व क्रिकेट लिग च्याम्पियनशीप अन्तरगत अति महत्वपूर्ण मानिएको नामिबियासँगको खेलमा टिम सम्हाल्ने मौका पाएका टमाटाका लागि यो अवसरसँगै चुनौती पनि हो ।

tmata1नेपालसँगै नेदरल्याण्ड, हङकङ, स्कटल्याण्ड, केन्या, पपुवा न्यूगिनी, नामिबिया र यूएई गरी आठ टिम सहभागी च्याम्पियनशीपको सबैभन्दा पुछारमा रहेको नेपाललाई आफ्नो सम्भावना कायमै राख्न पनि शनिबार र सोमबार हुने नामिबियाविरुद्धको दुवै खेल जित्नैपर्ने दबाब छ ।

दबाबका बिच दुवै खेल जित्नेमा आशावादी प्रशिक्षक टमाटासँग हिमाल खबरका लागि तुफान न्यौपानेले गरेको कुराकानीको अंश–

टिम नेपालको तयारी कस्तो छ ?
राम्रो तयारी र मिहिनेत गरेका छौं । होम ग्राउण्ड छ । दर्शकको राम्रो उपस्थिति हुनेछ । जित्नैपर्ने दबाब छ । यस्तोमा बलियो आत्मविश्वासका साथ मैदानमा उत्रनेछौं ।

राष्ट्रिय टोली लामो समयदेखि मैदान बाहिर रह्यो, अन्तर्राष्ट्रिय ‘एक्स्पोजर’ पनि पाएन । यस्तोमा खेल जितिन्छ भन्ने आधार के के हुन् ?
हामी राम्रो क्रिकेट खेल्न मैदान छिर्दैछौं । राम्रो खेले अवश्य जितिन्छ । हामीलाई ‘होम ग्राउण्ड’ को एड्भान्टेज छ । अर्को, यो पिचमा हामी १५ वर्षदेखि खेलिरहेका छौं । यहाँ ‘स्लो विकेट’ छ । हाम्रो बलियो पक्ष भनेकै ‘स्पिन अट्याक’ हो ।

नामिबियालाई यहाँको विकेटबारे जानकारी छैन । हामीले करीब १५ हजार दर्शक अपेक्षा गरेका छौं । यत्रो ‘क्राउड’मा खेलेको अनुभव पनि उनीहरूसँग छैन । यस्ता कुराहरुले हामीले जित्छौं भन्ने आशा छ । सबैले आ–आफ्नो जिम्मेवारी अनुसार खेल्नुपर्छ, हामी जित्छौं ।

नामिबिया कस्तो टिम हो ?
नामिबिया एक दशकभन्दा लामो समयदेखि डिभिजन–१ मा खेलिरहेको छ । राम्रो टिम हो तर, भर्खरै अफगानिस्तानसँगको खेल उसका लागि सुखद रहेन । अफगानी स्पिनरले धरासायी बनाए । हाम्रो ‘स्ट्रेन्थ’ पनि स्पिन बलिङ नै हो । त्यसैले उनीहरुलाई पनि सहज छैन ।

यस्तो स्थितिमा तपाईंको रणनीति के हुनेछ ?

आज (३ वैशाख) अलिकति हेर्न बाँकी छ । दुईवटा रणनीति बनाउँदैछौं । मुख्य त स्पिनर लिएर खेल्नुपर्छ भन्ने नै छ । तर फास्ट बलरले पनि मौका पाउनसक्छन् ।

स्कटल्याण्ड र पपुवा न्यूगिनीसँगका चार खेल हारिसकेको नेपालका लागि यो खेलको महत्व कत्तिको छ ?
सन् २०१९ मा हुने विश्वकपका लागि २०१८ मा छनोट खेल हुन्छ । अहिले विश्व क्रिकेट लिग च्याम्पियनशीप खेलिरहेका ८ मध्ये चार टीम सन् २०१८ मा बंगलादेशमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् । त्यसैले त्यहाँ पुग्ने सम्भावना बचाई राख्न पनि हामीले यी दुई खेल जित्नैपर्नेछ । अघिल्ला हारका कारण पनि यसपटक जित्नैपर्ने दबाब छ । खेल्न बाँकी अरु टोली तुलनात्मक रुपमा हामीभन्दा बलिया भएकाले पनि यस्तो स्थिति देखिएको हो ।

मेरो आफ्नै जीवनका लागि पनि यो खेलको महत्व छ । पहिलो पटक ‘सिनियर टिम’ हेर्दैछु । अवसर र चुनौती दुवै छन् । खेलाडीहरूले राम्रो ‘सपोर्ट’ गरेका छन् । जित्ने/जिताउने कसरी भनेर सबै लागिपरेका छौं ।

खेलाडी र प्रशिक्षकको तयारी त छदैंछ, तर क्यानको विवादले नेपाली क्रिकेट धरासायी बन्ने चौतर्फी चिन्ता छ नी ?
विवाद सर्वोच्च अदालत पुगेको छ । छिटो टुंगो लगाइदिए राम्रो हुन्थ्यो । विवाद टुंगिएन भने आईसीसीले के गर्ला भन्ने पनि चिन्ता छ । क्रिकेटको भविष्यका लागि थुप्रै तयारी थाल्नुछ, त्यसैले अहिलेको जञ्जालबाट जतिसक्दो चाँडै निस्कुनपर्छ ।

दर्शकलाई केही भन्नुछ ?
दर्शकले सँधै समर्थन गर्दै आउनुभएको छ । यस पटक पनि खेल हेर्न आउनुहोस्, समर्थन गर्नुहोस्, मनोबल बढाइदिनोस  ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>