ब्लगशुक्रबार, बैशाख ३, २०७३
रूपमतीको हाईहाई
नेपाली जाति जहाँजहाँ पुगेका थिए ती सबैतिर पुगेर ‘रूपमती’ हाईहाई भइन्।
“ए चमेली, चमेली, के तेरी दुलही बज्यै अझै उठेकी छैन? लम्पसार परेर सुतिरहेकी होली। घाम बाबुलालको छानामा पुगिसक्यो! छि! आजकालका ठिटीहरू त कस्ता नकच्चरी हुँदा रहेछन्! कागले आएर ठुङ्ला भन्देन ऐ!…”
१९९१ सालमा प्रकाशित नेपाली भाषाको पहिलो मौलिक सामाजिक उपन्यासका शुरूका केही वाक्य हुन् यी। काठमाण्डू खाल्डाको, भनौं त्यस वेलाको भाकामा नेपालको, सम्भ्रान्त बाहुन परिवारले बोल्ने भाषामा लेखिएका त्यति दुई–चार वाक्यले नै ‘रूपमती’ लाई नेपालीमाझ् लोकप्रिय बनाइदियो। अनि दरबार स्कूलका ‘हेडमाष्टर’, प्यूखाटोल निवासी रुद्रराज पाण्डेय रातारात सुप्रसिद्ध भए।

रुद्रराज पाण्डे। तस्वीरः नइ प्रकाशन
हिन्दी र नेपालीका ‘तोतामैना’, ‘वीरसिक्का’ अनि ‘चन्द्रकान्ता सन्तति’ र ‘भूतनाथ’ जस्ता मनगढन्ते तथा तिलस्मी हिन्दी उपन्यास पढ्ने बानी परेका नेपाली महिलाहरू त ‘रूपमती’ का ‘फ्यानै’ भैहाले!
अझ्, स्कूलका ९–१० क्लासमा नेपाली पाठ्यपुस्तक बनाइदिएर त्यो भर्खरभर्खर खुलेको एस.एल.सी. परीक्षामा प्रश्न समेत सोधिने पुस्तक भएपछि त ‘रूपमती’ लाई देशव्यापी हुन बेरै लागेन।
नेपालमा मात्र होइन, नेपाली जाति जहाँजहाँ पुगेका थिए ती सबैतिर ‘रूपमती’ पुग्यो नै। पुगेको मात्र पनि होइन, पुस्तक जहाँजहाँ पुग्यो सबै ठाउँमा रूपमती सबैकी ‘हाईहाई’ भइन्। विचरी त्यहाँभित्रकी ‘बरालपुत्री’ ले भने सबैतिर टोकसो नै खानु पर्यो! अनि चमेलीकी मालिक्नी ‘सासूबजै’ ले सबै ठाउँमा ‘कस्ती मापाकी बूढी’ भन्ने अखानो खेपिन्।
नेपाली समाजमा ‘रूपमती’ किन लोकप्रिय भयो, किन यसले हाम्रो समाजमा त्यसरी जरो गाड्यो भनेर बुझनलाई यस किताबको भूमिकास्वरूप १९९१ सालमै बालकृष्ण शमशेर (समजी) ले लेखेको ‘प्रस्तावना’ यहाँ पूरै सार्नुपर्ने हुन्छ। तर स्थानाभावले हामी यहाँ त्यो गर्न सक्दैनौं। अतः त्यस प्रस्तावनाभित्रका समजीका केही सान्दर्भिक वाक्यहरू उद्धृत गरेर हेरौं।
त्यो लेखोट हेर्दा के स्पष्ट हुन्छ भने उतिवेला अर्थात् विक्रमीय गत शताब्दीको नब्बे सालतिरसम्म नेपाली समाजमा उपन्यास भन्ने विधालाई राम्रो नजरले हेरिंदो रहेनछ। भनौं हेय नै मानिंदो रहेछ त्यो। ‘रूपमती उपन्यास रूपमा छ। उपन्यासको नाम घृणाले लिने, सुन्ने धेरैको बानी छ। त्यो उनीहरूको भूल हो’ भन्दै समजी ‘रूपमती’ ले नेपालीको त्यो भ्रम मेटाउला भन्ने विश्वास प्रकट गर्छन्।
लेख्छन् ‘कुनै उपन्यास जनताको आचार–सुधारको निम्ति बनेको छ भने त्यस्तो नित्य पाठ गर्नु उचित हुन्छ। ‘रूपमती’ यस्तै किसिमको उपन्यास हो भन्ने मेरो विश्वास छ।… खाना त्यही खाना हो जुन स्वादिलो छ, जुन पथ्य पनि छ। ‘रूपमती’ लाई मैले यस्तै उपन्यास ठानेको छु।’
समजी आफ्नो भनाइ प्रमाणित गर्न त्यस पुस्तकभित्रका पात्रहरूको मनोवैज्ञानिक विश्लेषण समेत गर्छन्। लेख्छन्– ‘… निष्पक्षपाती परमेश्वरको भर परी संसारका सुखदुःख दुवैलाई असार सम्झी धैर्यपूर्वक हार सहेर संसार जित्ने रूपमतीको शिक्षालाई मैले त स्त्रीजातिको निम्ति एउटा ठूलो आदर्श र कालानुसार एक मात्र अमृतको घुट्को मानेको छु। … रूपमतीले प्रत्यक्ष देखिन् कसरी एउटा अदृश्य हात आफूले नअह्राएर पनि आफ्नो निम्ति खडा भई सजाय दिनुपर्नेलाई तौली तौली सजाय दिइरहेछ।’
रूपमती त रूपमती नै भइन्, पुस्तककी मुख्य पात्र, ‘हिरोइन’। समजीले अरू पात्रलाई पनि बिर्सेका छैनन्। कतिसम्म भने उपन्यासकी खलपात्र बरालपुत्री र उसका पतिलाई पनि बन्चराले नहानेर कमलो पाराले चिरफार गरेका छन्। लेख्छन्– ‘दोस्रो श्रेणीमा शर्माजीहरू छन्, निर्दोषीका गला रेट्न सक्दैनन्। बरालपुत्री र रविलाल समेत तेस्रो श्रेणीका पात्र हुन्, राक्षस होइनन्।’
अझ्, ती तेस्रो श्रेणीका पात्रभन्दा पनि भित्र पुगेका छन् समजीका विश्लेषक आँखा। तिनले देखे– ‘अझ् चट्टुपत्नी, दाहालनी बज्यै, लुइँटेलनी बज्यै, धाई बूढी, राशविहारी, बिच्छीहरूको बयान र ठटेउली कुराले यो उपन्यासलाई, एकदम नेपालीहरूको हृदयङ्गम तुल्याइदिएको छ। यो यस किसिमको सर्वप्रथम पुस्तक हो।’
मैले भन्नुपर्ने कुरा उहिल्यै भनिदिएर समजीले मलाई सजिलो पारिदिएका छन्। अब ‘रूपमती’ लाई नेपाली पुस्तक सम्पदाको क्रममा यति माथि किन उचालें भनेर मैले बढी कैफियत दिइरहनु परेन। यतिसम्म भएपछि अब यो लेखोट टुंग्याउन फेरि म समजीलाई नै उभ्याउँछु। यसो भन्दै– “नेपाली गद्य लेखाइलाई बोलचालको भाषामा लेख्ने चलन हालै चलेको हो।
काव्यरसमा चोपिएको भाषामा सामाजिक, चल्ती भाषा जत्तिको रुचिकर हुन्छ त्यति अरू कुनै किसिमको नभएको देखिन्छ। यस्तै लेखनशैलीमा ‘रूपमती’ ढलेको छ। त्यसैले डङ्का बज्दछ– मातृभाषाका प्रेमी कोही छन् भने यो उपन्यास प्रेमपात्र छ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
