समाचारशुक्रबार, बैशाख ३, २०७३
ओलीले भने, “कमजोरी भएको हुनसक्छ, सच्याएर जाने समय दिनुहोस्”
पार्टीका बरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालले पार्टी अध्यक्षले नै गुटबन्दी गरेको भन्दै तीव्र आलोचना गरेपछि प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले विगतका गल्तीहरु सच्याएर जाने प्रतिवद्धता जनाएका छन् ।
सात दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकको समापन गर्दै अध्यक्ष ओलीले कतिपय कमजोरीहरू आफैंले थाहा नपाएको बताएका थिए । पौने दुई घण्टा लामो सम्बोधनका क्रममा अध्यक्ष ओलीले विगतमा भएका कमजोरीहरु सच्याएर जाने प्रतिवद्धता जनाए ।
पोलिटब्यूरो सदस्यदेखि समूहग छलफलमा भाग लिएका नेताहरुले नेतृत्वको कार्यशैलीबारे आलोचना गरेपछि जवाफमा ओलीले भने, “कमजोरी भएको हुनसक्छ, सच्याएर जाने समय दिनुहोस् ।”
अध्यक्ष ओलीले बैठक अन्त्य गर्नुअघि बरिष्ठ नेता माधवकुमार नेपालले बोलेका थिए । नेता नेपालले पार्टी एकताबद्ध बनाएर लैजान सहयोग गर्ने तर सहेर नबस्ने चेतावनी दिएपछि ओलीले आफूलाई गुटबन्दी गर्न आवश्यक नरहेको बताए । “अञ्जानमा कमजोरी भएका होलान् तर गुटबन्दी गर्न आवश्यक छैन”, ओलीलाई उदृत गर्दै एक नेताले भने ।
नेताद्वय खनाल र नेपालप्रति व्यङ्ग्य ओलीले आफू कुनै कक्षा नदोहोर्याउने भएकाले गुटबन्दी आवश्यक नभएको बताए । उनले भने, “मलाई सानातिना विषयमा सोंच्ने फूर्सदै छैन ।” समूहगत छलफल र पोलिट्ब्यूरो सदस्यहरुले उठाएको प्रश्नको जवाफ नदिई बैठक टंगिन लागेपछि बरिष्ठ नेताद्वय खनाल र नेपालले समय माग्दै पार्टी अध्यक्षको आलोचना गरेपछि २ वैशाखमा सक्ने भनिएको बैठक लम्बिएको थियो ।
प्रत्येक ६ महीनामा बस्नुपर्ने बैठक तीन महीना ढिलोगरी २७ चैतबाट केन्द्रीय कार्यालय धुम्वाराहीमा शुरु भएको थियो ।
प्रदेश कमिटी गठन गरिने
बैठकले संविधानअनुसार प्रादेशिक कमिटी गठन गर्ने सैद्धान्तिक निर्णय गरेको छ । यसअघि अञ्चल कमिटीको संरचना रहेकामा बैठकले प्रदेश कमिटी बनाउने निर्णय गरेको हो ।
सैद्धान्तिक सहमति भएपनि कहिले, कसरी भन्ने कुनै प्रष्ट निर्णय नभएको पोलिटब्यूरो सदस्य जगनाथ खतिवडाले बताए । उनका अनुसार स्थायी कमिटीले यसबारे थप छलफल गर्ने सहमति भएको छ ।
३ असोज २०७२ मा संविधान जारी भएपनि सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेको संरचना अहिले पनि पुुरानै छ ।
विवादले विभाग गठन भएन
नवौं महाधिवेशन भएको २ वर्ष पुग्न लागेपनि अहिलेसम्म एमालेले विभाग गठन गर्न सकेको छैन । यसअघिका बैठकजस्तै यो पटक पनि विवाद नमिल्दा विभाग गठन हुन सकेन ।
स्थायी कमिटी बैठकले विभागीय संरचनाबारे प्रस्ताव पारित गरेर केन्द्रीय कमिटीबाट अनुमोदान गराउने तयारी भएपनि अध्यक्ष ओली र बरिष्ठ नेता नेपाल पक्षबीच विवाद भएपछि बिना निर्णय बैठक सकिएको छ ।
पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मलाई विभागीय प्रमुख र उपप्रमुखको जिम्मेवारी दिइएपनि विभागले पूर्णता पाउन सकेको छैन । महासचिव ईश्वर पोखरेलले ओली पक्षीय प्रस्ताव ल्याएको भन्दै स्थायी कमिटीमा विवाद शुरु भएको थियो ।
पार्टी विधायिकाका रुपमा रहने राष्ट्रिय प्रतिनिधि परिषद सदस्य मनोनित अझै हुन सकेको छैन । तर, केन्द्रीय कमिटी सदस्य, केन्द्रीय सल्लाहकार, विभाग प्रमुख र सचिव, केन्द्रीय निकायका सदस्यहरु र जिल्ला अध्यक्ष पदेन परिषद सदस्य रहने भएकाले यसैबाट चाँडै विधान सम्मेलन गर्ने निर्णय बैठकले गरेको छ ।