रमझममंगलबार, मंसिर १९, २०६९
स्वरसम्राट स्मृति दिवस मनाइयो
काठमाडौको किलागलमा जन्मिएका नारायणगोपालको विसं २०४७ मा आजकै दिन निधन भएको थियो । उनले गाएका गीतहरु अहिले पनि त्यत्तिकै लोकप्रिय छन् । नेपाली साङ्गीतिक क्षेत्रमा आफ्नै मौलिक स्वर र विशेष पहिचान बनाएका स्वरसम्राट नारायणगोपाल गीतका शब्द र भावनालाई सङ्गीतमा ढाल्न खप्पिस थिए ।
उनले गाएका ‘प्रियसीका यादहरू’, ‘मन्दिरमा छ की मूर्तिमा माया,’ ‘मलाई छोडी मेरो छायाँ कतै गएछ,’ ‘पर्खि बसें आउँछ भनी,’ ‘एउटा मान्छेको मायाले’ जस्ता अनगिन्ती गीत कालजयी छन् ।
काठमाडौंमा आयोजित नारायणगोपाल स्मृति कार्यक्रममा उनका सहपाठी गायक योगेश वैद्यले भने, “पीडा र व्यथाबाट स्वरसम्राटको जन्म भएको थियो, उहाँले जे जति गीतमा स्वर तथा सङ्गीत भर्नुभयो ती मुटुद्वारा गाइएका थिए ।”
साङ्गीतिक क्षेत्रमा अद्वितीय र अतुलनीय योगदान दिएबापत नारायण गोपाल संगीत कोषले यसवर्षको स्वरसम्राट स्मृति सम्मानद्वारा गायक वैद्यलाई ताम्रपत्रसहित सम्मान गरेको थियो । नगद रु २५ हजारसहित प्रदान गरिएको सो सम्मानपत्र कोषका अध्यक्ष डा बानिरा गिरी र गायक फत्तेमान राजभण्डारीले संयुक्तरूपमा प्रदान गरेका थिए ।
कार्यक्रममा गीतकार किरण खरेलले कारुणिक गीत गायनमा स्वरसम्राटकै हाराहारीमा गायक वैद्यले आफ्नो उचाई पुर्याएको बताए ।
कोषका अध्यक्ष डा गिरी, उपाध्यक्ष पुष्प चित्रकार र महासचिव उषा शेरचनले स्वरसम्राट नारायणगोपालको सम्मान राज्यले गर्न नसकेको गुनासो गरे । सो अवसरमा स्वरसम्राटद्वारा सङ्गीतबद्ध गीत सङ्गीत प्रस्तुत गरिएको थियो । रासस