थप समाचारआइतबार, बैशाख ५, २०७३
जाजरकोटः रेडपाण्डाको उद्धार
जाजरकोटको ढिमेका गाउँलेले स्थानीय सरु खोलामा बग्दै गरेको रेडपाण्डालाई उद्धार गरेका छन् ।
ढिमे–९ का दीपक हमालका अनुसार स्थानीयले उद्धार गरेको रेडपाण्डा अहिले गाउँमै राखिएको छ, त्यसलाई जिल्ला वन कार्यालयको रोहवरमा जंगलमा छोडिने योजना छ ।
गोठालो गएका केटाकेटीले सरु खोलामा रेडपाण्डालाई देखेपछि गाँउलेलाई खवर गरेका थिए ।
“पानीमै सवै मिलेर छोप्यौं” हमालले भने, “केही गाँउलेले थाहा नपाएर शिकार भन्दै मार्ने योजना बनाएका थिए तर, विश्वमै दुलर्भ जीव मार्नु हुदैन भनेपछि सुरक्षित तरीकाले समातेका छौं ।”
कुकुरले मारिदेला वा गाउँलेले थाहा नपाएर शिकार गर्लान भनेर सुरक्षित राख्न रेडपाण्डा समातेको स्थानीयको भनाई छ । उक्त पोथी रेडपाण्डाको तौल ७/८ केजी रहेको हमालले बताए ।
गत वर्ष पनि छिमेकी पैकमा गाँउलले छोपेको रेडपाण्डा बन कार्यालयका कर्मचारीको रोहवरमा जंगलमै छोडेको उनले बताए ।
जिल्लाका उत्तरी भेगका ढिमे, पैक, नायकवाडा, रोकायगाउँ, रामीडाँडा, सक्ला लगायतका गाविसमा रेडपाण्डा पाइन्छन् ।
राजेन्द्र कार्की, जाजरकोट