समाचारसोमबार, बैशाख ६, २०७३
संसद्को बैठक बोलाउन कांग्रेसको आग्रह
नेपाली कांग्रेसले व्यवस्थापिका–संसद्को बैठक चाँडै बोलाउन सरकारसित आग्रह गरेको छ ।
नयाँ संविधानअनुसार संसद्को नियमावली जारी गर्न पार्टीको तर्फबाट पूर्ण सहयोग हुने संसद्का प्रमुख प्रतिपक्षी दलसमेत रहेको नेकाले जनाएको छ ।
आज नयाँ बानेश्वरमा बसेको उपत्यकामा उपलब्ध कांग्रेस केन्द्रीय सदस्य तथा संसदीय दलको संयुक्त बैठकले रु संसद् बैठक आह्वानमा सरकार उदासीन देखिएको आरोपसमेत लगाएको छ ।
शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित भएपछि पहिलो पटक बसेको बैठकले संविधान कार्यान्वयनका लागि मार्ग प्रशस्त गर्न आवश्यक ऐन तथा कानून संसद्माछ पेस गर्नुपर्ने र छलफल चलाउनुपर्नेमा सरकार उदासीन बनेको आरोप लगाएको छ ।
बैठकले छिटो संसद् बैठक बोलाउन पहल गर्न सरकारसित माग गरेको कांग्रेस प्रवक्ता दिलेन्द्र बडूले जानकारी दिए ।
सभापति देउवा आजै भारत भ्रमणमा जाने भएकाले दलको बैठक नेता रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको थियो ।
प्रवक्ता बडूले कालोबजारी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाउँदै गणन्त्रवादी र राजतन्त्रवादी मिलेर बनेको सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताए ।
भूकम्पपीडितलाई आवास निर्माण गर्ने आश्वासनमात्र बाड्ने काम सरकार र भूकम्प पुनःनिर्माण प्राविधिकरणले गरिराखेको उनले आरोप लगाए ।