थप समाचारसोमबार, बैशाख ६, २०७३

नामिबियाविरुद्ध नेपालको जित

हिमालखबर

कप्तान पारश खड्काको शतकीय पारीसँगै नेपालले विश्व क्रिकेट लिग च्याम्पिएनशीपमा नामिबियाविरुद्धको दोस्रो खेल पनि जितेको छ । ६ वैशाखमा त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा नामिबियाले दिएको २४० रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर ४९.५ ओभरमा भेट्यायो ।

नेपाललाई जिताउने क्रममा कप्तान पारस खड्काले आफ्नो ‘लिष्ट ए’ करियरकै उच्च स्कोर १०३ रन बनाए । ९४ बल खेल्दै ५ चौका र ७ छक्का प्रहार गरेका पारस जिभागो ग्रोएनवाल्डको बलमा एलबीडब्ल्यू शिकार भए ।

शरद भेषवाकरले १०८ बलमा ७७ रन बनाएर नट आउट रहे । खेलमा दुई बल बाँकी रहेको र जितका लागि एक रन चाहिएको बेला उनले बिजयी चौका प्रहार गरी नेपालको जित सुनिश्चित गरे ।

ओपनरद्वय उपकप्तान ज्ञानेन्द्र मल्लले २२ र नरेश बुढाएरले ६ रनको योगदान दिएका थिए । त्यस्तै राजेश पुलामी ७ बलमा १ रन बनाएर क्याच आउट भए भने विनोद भण्डारी१३ बलमा १२ रन बनाएर बोल्ड भए ।

त्यस्तै ६ बल खेलेका सागर पुनले २ रन बनाए भने सोमपाल कामीले ४ बलमा एक रनमात्रै जोडे । ३ बलमा १ रन बनाएका वसन्त रेग्मी नटआउट रहे ।

नेपालले टस जितेर ब्याटिङका लागि निम्त्याएको नामिबियालाई २३९ रनमा रोकेको थियो । शक्ति गौचन, वषन्त रेग्मी र सन्दिप लामिछानेले समान २–२ विकेट लिएका थिए ।

नामिबियासँगका दुवै खेल जितेर नेपालले २०१८ मा बंगलादेशमा हुने एकदीवसीय विश्वकप छनोट खेल्ने सम्भावना कायमै राखेको छ । नेदरल्याण्ड, हङकङ, स्कटल्याण्ड, केन्या, पपुवा न्युगिनी, युएई, नामिविया र नेपाल सहभागी प्रतियोगिताको उत्कृष्ट चार टोलीले उक्त छनोट खेल्नेछन् ।

स्कटल्याण्ड र पपुवा न्युगिनीविरुद्धका चार खेल हारेको नेपालले नामिबियाविरुद्धका दुवै खेल जितेर सम्भावना कायमै राखेको हो ।

————————————–

विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत कीर्तिपुरमा जारी खेलमा नामिबियाले दिएको २४० रनको लक्ष्य पछ्याउँदै नेपालले ब्याटिङ् गरिरहेको छ ।

४९.२ ओभरको समाप्तिमा नेपालले ७ बिकेट गुमाउँदै २३८ रन जोडेको छ ।

अहिले क्रिजमा वसन्त रेग्मी र शरद भेषवाकर छन् ।

कप्तान पारस खड्काले ७ छक्का र ५ चौकाको मद्दतले ९३ बलमा १०३ रन बनाएर आउट भएका छन् । उनको यो पहिलो शतक र अहिलेसम्मको सर्वाधिक स्कोर हो । शरद भेषवाकरले ९७ बलमा ६७ रन बनाएका छन् ।

विनोद भण्डारीले १३ बलमा १२ रन बनाएर बोल्ड भए । राजेश पुलामी ७ बलमा एक रन बनाएर क्याच आउट भएका छन् । चौथो बलमा नरेश एलवीडब्ल्यू भए भने १४ औं ओभरको पहिलो बलमा ज्ञानेन्द्र मल्ल क्याच आउट भए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३९ रनको सम्मानजनक स्कोर बनाएको थियो ।

राम्रो शुरुवात गरेको नामिबियाका लागि कप्तान स्टेफन वार्डले अर्धशतकीय पारी खेल्दै ५१ तथा जेन ग्रिनले ४७ रन बनाए । त्यस्तै, सरेल बर्गरले अविजित ४३ तथा जेपी कोट्जेले ३२ रन जोडेपछि आज बलिङतर्फ नेपालले खराब सुरुवात गर्‍यो ।

नेपालले पहिलो विकेटका लागि २०.४ ओभरसम्म कुर्नुपर्‍यो । तर युवा बलर सन्दीप लामिछानेले नामिबियाका कप्तान बार्डलाई पेवेलियन फर्काएपछि नेपाल खेलमा फर्कियो ।

त्यसपछि पुनः सन्दीपले सातौँ विकेट लिँदै विकेट सङ्ख्या दोब्बर पारे । त्यस्तै, वसन्त रेग्मी र शक्ति गौचनले पनि समान दुई/दुई विकेट लिए ।

त्यसैगरी, विकेटकिपर विनोद भण्डारीले एक क्याच र एक स्टम्पिङ गराए भने शरद भेषवाकर, कप्तान पारस खड्का, सुशन भारी र नरेश बुढाएरले एक/एकजना नामिबियाका खेलाडीलाई रन आउट गराए ।

नेपाली बलर अन्तिममा पुनः सम्हालिन नसक्दा अन्तिम पाँच ओभरमा नामिबियाले छक्का, चौका प्रहार गर्दै सम्मानजनक स्कोर बनाउन सक्यो ।

आज नेपाली टोलीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, शक्ति गौचन, वसन्त रेग्मी, सोमपाल कामी, विनोद भण्डारी, राजेश पुलामी मगर, सागर पुन, नरेश बुढाएर र सन्दीप लामिछाने छन् ।

प्रतियोगिताअन्तर्गत तेस्रो चरणको नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले शनिबार उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेटले पराजित गरेको थियो ।

यदि आजको खेलमा नेपालले नामिबियालाई पराजित गर्न सकेमा नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना बलियो हुनेछ ।
सहभागी विभिन्न आठ टोलीमध्ये शीर्ष चारभित्र पर्ने टोलीले सन् २०१८ मा हुने विश्वकप छनोटका लागि प्रतिस्पर्धा गर्ने मौका पाउनेछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>