समाचारमंगलबार, बैशाख ७, २०७३
धुलिखेलका दुई दानवीर

वसन्तकाजी फत्यङजु (बायाँ) र अनिकलाल हिफजु।
धनीमानीका लागि सय रोपनी पनि कम होला, तर गरीबका लागि चार रोपनी जमीन भनेको धेरै हो। मन हुनेको कुरा भने अझ फरक हुने धुलिखेल अस्पतालका दुई दाताले देखाएका छन्।
काभ्रेमा धुलिखेल सामुदायिक अस्पताल स्थापना गर्न धेरैले आ–आफ्नो गच्छेअनुसार फरक दान–सहयोग गरे। ३० जनाले जमीन दिएका थिए। तीमध्ये पनि धुलिखेल–४ चोछेंका वसन्तकाजी फत्यङजु (५६) र अनिकलाल हिफजु (५०) परिवारकोे दान विशेष छ, लोकहितका लागि लगभग सर्वस्व दिएकाले।
फत्यङजुले अस्पताल बनाउन आमाको नाममा धुलिखेल पाखोमा रहेको सबै अर्थात् चार रोपनी जग्गा दान गरे भने हिफजुले पनि सबै अर्थात् एक रोपनी १२ आना। जमीन दान गरेर अस्पताल निर्माणमा स्वयम्सेवा थालेका फत्यङजु ७८ वर्षीय आमा बितेको नौ वर्षमा मासिक रु.१९ हजार ४०० बुझने स्थायी माली भएका छन्। समान तलब बुझने स्थायी कर्मचारी फत्यङजु र हिफजुले माली बाहेक अस्पतालका अरू काम पनि गर्छन्।
फत्यङजु र हिफजु दुवै अस्पताल बनेपछि २० वर्षमा पुग्दा धुलिखेलमा आएको परिवर्तन देखेर दंग छन्। बजार ठूलो बनेको छ। धुलिखेललाई फराकिलो सडकले जोडेको छ, त्यो सडक भएर बिरामीहरू छिटोछरितो रूपमा अस्पताल आइपुग्छन्।
पर्यटकीय ठाउँको रूपमा परिचित धुलिखेलमा उपचारका लागि विदेशीहरू समेत आउने गरेका छन्। “हामीले दुःख गरेर तोरी, मकै छर्ने डाँडोमा हेर्दाहेर्दै यत्रो अस्पताल बनेर यतिका बिरामीले उपचार पाउने भयो”, फत्यङजु भन्छन्, “हामी त दंगै परेका छौं।” चार कक्षा पढेका फत्यङजुको मनको विशालता उनको पारिवारिक जीवनमा पनि देखिन्छ।
बिहे भएको धेरै वर्षमा पनि जायजन्म नभएपछि उनले धर्मपुत्रीमार्फत परिवारलाई तीन सदस्यीय बनाएका छन्। अहिलेलाई छोरी हुर्कंदैछिन् र आफूले काम गर्ने अस्पताल पनि घर नजिकै छ। “यहाँभन्दा बढी के खोज्नु?” पर्वते नेपाली नबुझने उनले नेवारीमा भने।
त्यस्तै, पाँच कक्षासम्म पढेका हिफजु अस्पताल बन्दा स्थानीयवासीलाई सजिलो हुन्छ भनेर जमीन दिएकोमा अहिले त्योभन्दा धेरैले उपचार सुविधा पाएको देख्दा खुशी लाग्ने बताउँछन्। चोछेंमा घर–घडेरी मात्र भएका उनी धेरै समय अस्पतालमै फूलबिरुवा स्याहार्छन्। “परिआएको अरू काम पनि गर्छु”, हिफजु भन्छन्, “मैले गरेको कामबाट अस्पताल र बिरामीहरूलाई सेवा पुगिरहेको छ भनेर सम्झ्ँदा बडो आनन्द आउँछ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
