समाचारबुधबार, बैशाख ८, २०७३
‘पहिलो चरणमा फोहोर उपहार, दोस्रो चरणमा कथाले मागेअनुसार’
“मुख्य गेटमा फोहोर थुपारिएको छ, सिनो खोजेर ल्याउँदैछन् रे ! पर्खेर बसेको छु ।”
कृषि सामाग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय वीरगञ्जका निमित्त प्रमुख राजेन्द्र कार्कीले ‘व्यस्त हुनुहुन्छ ?’ भनेर सोध्नेलाई फोनबाट दिएको जवाफ हो यो ।
८ बैशाखमा आफ्नै कार्यकक्षमा रहेका उनी तनावमा देखिन्थे । उनको तनाव बढाएको हो– वीरगञ्ज, श्रीपुरस्थित उनको कार्यालयको मुल गेटमै वीरगञ्ज उपमहानगरपालिका कार्यालयले थुपारिदिएको फोहोरले ।
त्यसमाथि उपमहानगरपालिका प्रमुख विष्णु कोईरालाले गेटमा सिनो पनि थुपारिदिने धम्की दिएका रहेछन् ।

कृषि सामाग्री कम्पनी लिमिटेडको वीरगञ्ज कार्यालयको गेटमा उपमहानगरपालिकाले थुपारिदिएको फोहरको थुप्रो । तस्वीर: सुरेश बिडारी
कृषि सामाग्री कम्पनीले तिर्नु पर्ने बक्यौता कर नतिरेको भन्दै उपमहानगरपालिका कार्यालयले मुल गेटमै ८ बैशाख बिहान एक टयाक्टर फोहोर थुपारिदिएको छ ।
फोहोर थुपार्ने क्रममा उपमहानरपालिका कार्यालयका कर्मचारीले कृषि सामाग्री कम्पनी लिमिटेडको मुल गेटमा ‘वीरगञ्ज उपहानगरपालिका कार्यालयलाई तिर्नुपर्ने रु ९१,३६,०४५/४१ कर नबुझाएकोले सांकेतिक विरोध स्वरुप प्रथम चरणमा १ ट्याक्टर फोहोर उपहार’ लेखिएको सूचना पाँच ठाँउमा टाँसिदिएका छन् ।
कृषि सामाग्री कम्पनी लिमिटेडले २०५२ साल देखिको मालपोत, घरजग्गा कर र एकीकृत सम्पति कर वापतको ९१ लाख ३६ हजार ४५ रुपैया तिर्न बाँकी रहेको वीरगञ्ज उपहानगरपालिका कार्यालयको दाबी छ ।
गत १२ चैतमा कर तिर्न पत्रचार गरे पनि कृषि सामाग्री कम्पनी लिमिटेडले कर तिर्न चासो नदेखाएपछि सांकेतिक विरोधस्वरुप गेटमै फोहोर थुपारिदिएको उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णु कोइरालाले बताए ।
मुलगेटमै फोहोर थुपारिदिएका कारण कार्यालयको काममा असर परेको कार्कीले बताए । “दिनमा सयदेखि डेढसय सवारी साधन ओहोरदोहोर गर्थे, आज सबै ठप्प छ,” कार्कीले भने ।
कर उठेन भन्दैमा उपमहानगरपालिकाका कार्याकारी अधिकृत कोईरालाले कार्यालयकै अगाडी फोहोर थुपारिदिनु उनको नालायकीपन भएको कार्कीले बताए ।
“सरकारले अनुदानमा ल्याएको मल किसानको घर घरमा पुर्याउने काम हामी गर्छौ,” कार्कीले आक्रोशित हुँदै भने “हामी राज्यकै निकाय हौं, चित्त नबुझे कानूनी पक्रियामा जानुपर्छ । अख्तियारको दुरुपयोग गरेर जनस्वास्थ्यमा खेलबाड गर्न मिल्दैन नी ।”
“सबै करदातालाई कर तिर्न भनेर पत्र काटिसकेका छौं,” कोईरालाले हाँस्दै भने, “पहिलो चरणमा फोहोर उपहार दिएका छौं, दोस्रो चरणमा कथाले जे माग्छ त्यही गर्छौं ।”
पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरले भने कर असुल्ने बहानामा कसैको कार्यालय वा घर अगाडि फोहोर थुपार्ने तरिका ठिक नभएको बताए ।
“कर उठाउने यस्तो तरीका ठिक भएन । कृषि सामाग्री कम्पनी लिमिटेडको मुल गेट अगाडि थुपारिएको फोहोर तुरुन्त हटाउन उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत विष्णु कोइरालालाई मैले निर्देशन दिइसकेको छु,’ प्रजिअ घिमिरेले भने ।
सुरेश बिडारी, वीरगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
