समाचारबुधबार, बैशाख ८, २०७३
‘जनक शिक्षाले दायित्व पूरा गरेन’
शैक्षिक सत्र शुरु हुन केही दिन बाँकी छँदा देशका सबै भागमा विद्यार्थीले पाठ्यपुस्तक नपाउने पक्का भइसकेको सन्दर्भमा शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्साल भन्छन्, “पुस्तक अभावको जिम्मेवारी जनक शिक्षा सामग्री केन्द्र, विद्यालय र मन्त्रालयले पनि लिनुपर्छ।”
विद्यार्थीले पाठ्यपुस्तक नपाउने समस्या यो साल पनि दोहोरियो, किन?
कक्षा १–५ सम्मको पाठ्यपुस्तक छाप्ने र वितरण गर्ने जिम्मेवारी निजी क्षेत्रलाई दिइएको छ। कक्षा १–१० सम्मको पाठ्यपुस्तक छाप्ने, बिक्री–वितरण गर्ने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले हो। तर, जनक शिक्षाले कक्षा ६–१० सम्मको मात्रै पुस्तक छापेको छ। अभावको प्रमुख कारण यही हो।
जिम्मेवारी पूरा नगर्ने निकायलाई शिक्षा मन्त्रालयले कारबाही किन नगरेको?
विद्यालयहरूलाई पाठ्यपुस्तकका लागि पैसा अपुग भएको भए लिन आउन र पुस्तक लैजान भनेका छौं। यद्यपि पैसा लिन आउन ढिला भइसकेको छ। क्षेत्रीय शिक्षा निर्देशनालय (क्षेशिनि) र जिशिकालाई प्रभावकारी अनुगमन गर्न निर्देशन दिइसकेका छौं।
हरेक वर्ष पुस्तक अभाव भइरहेको अवस्थामा जिम्मेवार सबै निकायलाई अक्षम साबित भएको किन नभन्ने?
यो हेर्ने दृष्टिकोणमा निर्भर छ। गत वर्षहरूमा भन्दा बढी विद्यार्थीको हातमा पुस्तक पुगेको छ भन्ने कि यसपटक पनि सबै विद्यालयमा पुस्तक पुगेन भन्ने? हाम्रो लक्ष्य सबै विद्यार्थीको हातमा पुस्तक पुर्याउने नै हो। तर मन्त्रालयको नियन्त्रणमा नभएको विषय, चाहेरै पनि काम गर्न नसकिएको हो भन्ने पनि बिर्सनुहुँदैन।
सामुदायिक विद्यालयका अभिभावक पहुँचवाला नभएकाले यसरी हेपेको भन्न मिल्छ?
सतप्रतिशत विद्यार्थीको हातमा पुस्तक नपर्दासम्म आलोचना हुन्छ। मन्त्रालयलगायत सम्बन्धित निकायबाट भइरहेको अधिकतम प्रयासलाई नजरअन्दाज गर्न मिल्दैन। भूकम्प, इन्धन अभावका बाबजूद पुस्तक उपलब्ध गराउन गरिएको प्रयासलाई पनि बिर्सनु भएन।
विद्यार्थीको हातमा पुस्तक पुर्याउन आजको मितिमा के गर्नु आवश्यक छ?
वैशाख दोस्रो सातासम्म सबै विद्यार्थीको हातमा पुस्तक पुगिसक्नुपर्छ र पुर्याउन सकिन्छ भन्नेमा विश्वस्त छौं। यसका लागि जनक शिक्षाले दिनरात गरेर पुस्तक छाप्नु पर्छ। क्षेशिनिले अनुगमन गर्नुपर्छ। जिशिकाले जम्मा विद्यार्थी संख्या र भित्रिएको पुस्तकको अभिलेख हेरेर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्छ। विद्यालयहरू पुस्तक लिन तुरुन्तै आउनुपर्छ। पैसा नपुगेको भए लिन आउन हिमाल मार्फत पनि आग्रह गर्छु।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
