अन्तर्वार्ता/विचारशुक्रबार, बैशाख १०, २०७३

‘…त्यसपछि ट्याक्सी चालक बन्ने रहर छ’

हिमालखबर

'...त्यसपछि ट्याक्सी चालक बन्ने रहर छ'नयनराज पाण्डे, लेखक

विमोचन हुनै लागेको तपाईंको ‘सल्लीपिर’ उपन्यासको जरा के हो ?
यो विकट हिमाली भेगमा जीवनको जटिलता सामना गरिरहेकाहरूको कथा हो । शेर्पा परिवेश, तिनको सांस्कृतिक मूल्यमान्यता, संघर्ष र सपनासँगै राज्यको उदासीनतालाई ‘सल्लीपिर’ मा समेट्ने प्रयास गरेको छु ।

भनौं, ‘सल्लीपिर’ ले २०७३ को शुरुआत गर्दैछ । नेपाली साहित्यको लागि नयाँ वर्ष कस्तो रहला ?
साहित्यका सबै विधाको समृद्धिमा यो वर्ष झनै अर्थपूर्ण हुने विश्वास लिएको छु । आख्यानमा नयाँ विषय, परिवेश र चरित्र भित्रिने सम्भावना जति छ, कवितामा परिपक्व विचारहरूको हस्तक्षेप पनि जारी रहनेछ । निबन्ध लगायतका गैरआख्यानात्मक विधाप्रति पाठकको अभिरुचि बढ्नेछ ।

केही समीक्षक र साहित्यकारहरू समेत अचेलका नेपाली साहित्यिक कृतिहरूलाई ‘बोल्नेको पीठो’ भनिरहेका छन् । तपाईंको विचारमा कुन पीठो, कुन चामल ?
मलाई त्यस्तो लाग्दैन । अहिलेका पाठकलाई भ्रममा पार्दै कमजोरलाई असल हो भनी स्थापित गर्न सकिन्न । पाठकको चेतना विकासले लेखकलाई जिम्मेवार बन्न जागरुक बनाउँछ । तर, राम्रो, नराम्रो, असल, खराबबारे बहस भइरहनुपर्छ । यो पहिले पनि हुन्थ्यो, भोलि पनि भइरहने छ । बहस जति स्वस्थ भयो, साहित्य विकासको गति उति तीव्र हुन्छ ।

'...त्यसपछि ट्याक्सी चालक बन्ने रहर छ'किशोर नेपालले ‘पठन फेसन’ बारे तपाईंका भनाइ भन्दै लेख लेख्नुभयो । तपाईंले ‘असफल लेखकहरूको रुवाबासी’ भनी प्रतिवाद पनि गर्नुभयो । भनेपछि, तपाईं नेपालको सफल लेखक हो ?
फेसनलाई पनि संस्कृतिकै अंग मानेर विश्लेषण गर्न पनि सकिएला । तर अहिले पाठकमा जुन जागरुकता छ, त्यो फेसनजस्तो मौसमी र क्षणभरमै अप्रासंगिक हुने प्रकृतिको होइन । शिक्षा, इन्टरनेटका कारण सामाजिक संजालको सहजता र सञ्चारमाध्यमले साहित्यलाई दिइरहेको ‘स्पेस’ आदिका कारणले जागरुक पाठक बढेका छन् भन्ने मेरो मान्यता हो ।

म त साहित्यका गम्भीर पाठकसित निरन्तर सम्वाद गर्ने लेखनीमा विश्वास गर्छु । निरुद्देश्य मनोगत कुरा लेख्दिनँ । बलियो विषय, दमदार चरित्र र कलात्मक प्रस्तुतिमा विश्वास गर्छु । मेरो लेखनले केही न केही मुद्दा सम्बोधन गरोस् भन्ने चाहन्छु । म आफैंलाई सफल या असफलको पगरी लगाइदिन चाहन्न । पाठकले जे भन्छन्, त्यही हो म ।

लेखकबीच यस्तो मालिन्य किन हुन्छ ?
म नकारात्मक सोचको विपक्षमा छु । साहित्यको नयाँ पुस्ताप्रति मलाई विश्वास छ । पाठकको चेतनाप्रति विश्वास छ । त्यसैले म अबको साहित्य झनै समृद्ध हुनेछ भन्नेमा विश्वास राख्छु । आफ्नो असफलता वा कुण्ठाको आधारमा समय र समाजको पूर्वाग्रहपूर्ण व्याख्या गर्नेसित मेरो सधैं विमति रहनेछ । यो विमति कुनै व्यक्तिविशेषसँग होइन, प्रवृत्तिसँग हो ।

साहित्यमा प्रगतिशील या प्रजातन्त्रवादी हुनुले के फरक पार्छ ? त्यसो त तपाईं दुवै तर्फकासँग उत्तिकै संसर्गमा देखिनुहुन्छ ?
समाज परिवर्तनका मुद्दा उठाउने ठेक्का प्रगतिशील ठप्पा लागेकाहरूले मात्र लिनुपर्छ र बाँकीले यौन, मनोविज्ञान, कुण्ठा आदिबारे घोत्लिनुपर्छ भन्नु कमजोर, अतिवादी सोच हो । म साहित्यमा चरम कल्पनाशीलता रुचाउँछु, तर त्यसले धरातल छोडेको हुनुहुन्न भन्ने मान्यता राख्छु । साहित्यिक समाजको कुन कित्तामा छु भन्नेसँग मेरो सरोकार छैन । तर, के लेख्नुपर्छ भन्ने हेक्का भने सधैं छ । त्यसैले पनि म दुवै कित्ताका असल लेखकहरूसँग सधैं सम्पर्कमा रहन्छु ।

तपाईंका कृतिहरू समथरकै उपज भएका छन् । अहिलेसम्म भिरालोतिरको पात्र–परिवेश किन आएनन् ?
म कुनै विषय, परिवेशमा लेख्नै पर्छ भनी कनीकुथी लेख्दिनँ । कथामा मैले काठमाडौंको नेवारी समाजको कथा पनि लेखेको छु, तिब्बती शरणार्थीको कथा पनि लेखेको छु । यो विषयमा लेख्नुपर्छ र लेख्न सक्छु भन्ने आत्मविश्वास भएपछि मात्र लेख्छु । त्यसैले यसपटक ‘सल्लीपिर’ मा मैले पृथक् हिमाली परिवेश लेखेको छु । ‘सल्लीपिर’ लेखनीमार्फत मैले फरक विषयमा काम गर्नुको भरपूर आनन्द उठाएँ ।
'...त्यसपछि ट्याक्सी चालक बन्ने रहर छ'

पछिल्लो एकदशक तपाईं ‘दुई वर्ष, एक कृति’ नीतिमा देखिनुहुन्छ र मसालेदार–कमाउ पटकथातिर लहसिएको आरोप पनि छ । त्यसले गर्दा साहित्यमा पनि सतहीपन आउन थाल्यो भनियो भने तपाईंलाई कस्तो लाग्छ ?
मैले पटकथा नलेखेको त आठ दश वर्ष नै भैसक्यो नि । ‘सल्लीपिर’ लगभग अढाइ वर्षपछि आउँदैछ । यति ‘ग्याप’ पर्याप्त हो जस्तो लाग्छ । मैले आफूभित्र लेखनको हुटहुटी रहुन्जेल लेख्ने हो ।

पछिल्लो एक दशकमा मेरा तीन नयाँ उपन्यास आएका हुन् । अरू त पुराना कथाहरूको संकलन मात्र हुन् । विषयको पुनरावृत्ति हुन थाल्यो भन्ने जब आभास हुनेछ, म त्यही दिनबाट लेख्न छाड्नेछु । त्यसपछि मलाई ट्याक्सी चालक बन्ने रहर छ ।

नयनराज पाण्डेले दुईदशक अघिको ‘उलार’ जस्तो परैबाट देखिने माइलस्टोन खडा गर्न सकेनन् भन्दा गलत हुन्छ ?
म आफैंले के भनुँ; यो त पाठकले भन्ने कुरा हो । गुमनाम ‘उलार’ लाई समीक्षकहरूले ‘एप्रिसिएट’ गर्न एक दशक लगाइदिनुभयो । त्यसैले असफलताको स्वाद मैले भोगिसकेको छु । कतिले ‘उलार’ भन्दा ‘लू’ राम्रो भन्नु भएको छ । ‘घामकिरी’ मन पराउने पनि ठूलो तप्का छ । तर, मलाई भने सर्वश्रेष्ठ लेख्नै बाँकी छ भन्ने लागिरहन्छ ।

मेरो लेखनमा विषयको विविधता होस् भन्ने चाहन्छु । एउटै विषयमा ‘लौ मैले गजब लेखें’ भनेर आत्ममुग्ध भएर बसिरहन चाहन्नँ ।

तस्वीरहरूः विक्रम राई

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>