समाचारशुक्रबार, बैशाख १०, २०७३
सार्क राष्ट्रका पूर्वप्रधानमन्त्रीहरुको सम्मेलनको तयारी
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सार्क राष्ट्रका पूर्व प्रधानमन्त्रीहरुको संगठन बनाई सम्मेलन गर्ने तयारीमा रहेको बताएका छन् ।
दक्षिण एशियाली राष्ट्रका राजनीतिक दलहरुको अन्तर्राष्ट्रिय सम्मेलनका संस्थापक समेत रहेका नेपालले सार्कका पूर्वप्रधानमन्त्रीहरुको संगठन बनाई निकट भविष्यमा सम्मेलन आयोजन गर्ने बताए ।
संगठनका लागि आफूले नेपालका सातजना पूर्वप्रधानमन्त्रीहरुसित कुरा गरिसकेको बताउँदै उनले पाकिस्तानका पनि पाँचजना पूर्वप्रधानमन्त्रीसित छलफल भएको बताए ।
भारतमा भारतीय जनता पार्टीका नेता विजय जोलीलाई त्यहाँका पूर्वप्रधानमन्त्रीहरुसित कुराकानी गर्ने जिम्मा दिएको बताउने नेपालले बंगलादेशका पूर्वमन्त्री महबुबमार्फत त्यहाँका पूर्व प्रधानमन्त्रीहरुसँग सम्पर्क भइरहेको जानकारी दिए ।
हेटौंडामा आयोजित एक कार्यक्रममा नेता नेपालले पूर्वप्रधान मन्त्रीहरुको संगठन आफैँमा गरिमापूर्ण संगठन हुने र सार्कको प्रतिष्ठामा वृद्धि हुने विश्वास व्यक्त गरे ।
पाकिस्तानका पूर्व प्रधानमन्त्री सुजत हुसैन चौधरीले पूर्वप्रधानमन्त्रीहरुको सम्मेलन पाकिस्तानमै बोलाउने गरी आन्तरिक गृहकार्यमा जुटेको पनि नेता नेपालले बताए ।
सञ्जय साह मित्र, रौतहट