समाचारशनिबार, बैशाख ११, २०७३

दीक्षित आईसीयूमा

हिमालखबर

dixitअख्तियारले नियन्त्रणमा लिएका पत्रकार कनकमणि दीक्षितको स्वास्थ्य अवस्था विग्रिएपछि उनलाई वीर अस्पतालमा भर्ना गरिएको छ ।

उच्च रक्तचापका विरामी दीक्षितको छाती र मुटुमा समेत समस्या देखिएपछि वीर अस्पतालका चिकित्सकले स्वास्थ्य जाँच गरी उपचारका लागि आइसीयू (सघन उपचार कक्ष)मा भर्ना गरेका हुन् ।

दीक्षितको स्वास्थ्य अवस्था असामान्य र असहज हुँदै गएपछि उनलाई आज ११ बैशाख बिहान वीरअस्पतालको ‘इमर्जेन्सी’ मा पु¥याइँदा उनको रक्तचाप १९०–१२० थियो ।

ईसीजी (मुटुसम्बन्धी जाँच) र छातीको जाँचमा समेत अवस्था असामान्य देखिएपछि उनलाई आइसीयुमा राखेर उपचार गर्नु परेको अस्पतालका निर्देशक स्वयमप्रकाश पण्डितले जानकारी दिए ।

“लोकमानलाई धन्यवाद छ, उनले मलाई पक्राउ नगरेको भए मेरो मुटुमा समस्या भएको पनि थाहा हुने थिएन,” मुटुको परीक्षणमा समस्या रहेको थाहा पाएपछि दीक्षितले भनेको उनलाई भेटेकी शान्ता दीक्षितले भनिन् ।

कडा सुरक्षा पहरामा राखिएका दीक्षितलाई अस्पतालमा उनकी पत्नी शान्ताबाहेक अरु कसैसँग पनि भेट्न दिइएको छैन ।

दीक्षितलाई वीर अस्पतालको पुरानो आइसीयुमा राखिएको छ जहाँ नजिकै आफ्नो छोराका हत्यारालाई कार्वाहीको माग गर्दै लामो समयसम्म अनशनरत गंगामाया अधिकारी छन् । गंगामायाका पति नन्दप्रसाद त्यही आइसीयूमा अनशनरत रहेकै बेला न्याय नपाएर विते । अधिकारी दम्पतीलाई न्याय दिलाउनका लागि कनकमणि दीक्षित लामो समयदेखि संघर्षरत छन् ।

हिजै अख्तियारले नियन्त्रणमा लिएपछि वीरअस्पतालमा जाँच गराउँदा उच्च रक्तचाप देखिएका दीक्षितलाई अख्तियारले आफ्नो हिरासत कक्षमा नराखी महानगरीय प्रहरी वृत्त, गौशालामा अन्य कैदीहरुसँगै एउटा कोठामा कोचेर राखेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>