ब्लगसोमबार, बैशाख १३, २०७३

नेपाल–चीन सम्बन्धको उहापोह (इतिहास)

ज्ञानमणि नेपाल

उतारचढावपूर्ण नेपाल–भोट सम्बन्ध नै थियो, जसले नेपाल–चीन सम्बन्धको गोरेटो खन्यो।

chandraमल्लकालमा नेपालका तीनै शहरबाट भोट गएका खोटाटकले नेपाललाई समस्या पार्‍यो। सरावरी चलाउँदा नेपाललाई ठूलो घाटा हुने, बट्टा लाएर लिंदा भोटलाई घाटा हुने। यो समस्या नमिली नै निकै वर्ष बित्यो। भोट बेपार बन्द हुँदा दैनिक उपभोग्य वस्तुको अभाव हुने नै भो। त्यो वेला सुनदेखि नूनसम्म उतैबाट आउँथ्यो। यताबाट खाद्यान्न जान्थ्यो। यस्तो बेपार रोकिंदा नेपालले भोट युद्ध नगरी धरै पाएन र सं. १८४६ मा नेपाल–तिब्बत युद्ध भयो।

काजी दामोदर पाँडेको नेतृत्वको सैनिक दल लडाइँ जित्दै दिगर्चा हमला गर्न पुगेपछि भोटले चीनसँग गुहार माग्यो। वादशाहको हुकुमले सेनापति मद्दतको लागि आए। तर, कसको अर्घेलो भनी खुट्याएर मात्र सैनिक कारबाही चलाउनु भन्ने आदेश अनुसार पुर्पक्ष गर्दा भोटकै अर्घेलो ठहर्‍यो र चिनियाँ सेनापतिकै रोहवरमा नेपाल–भोट मिलापत्र हुनेभयो। भोटले वर्षेनि पचास हजार दिने, नेपालले जितेको जमीन छाड्ने र मुख्य झ्गडाको बीउ खोटाटकलाई सटही दर निर्धारण गरी साविक बमोजिम बेपार कारोबार चलाउने आदि शर्तमा सन्धि भयो।

यस सन्धिबाट नेपाल सरकार चीन वादशाह र चिनियाँ सेनापतिप्रति आभारी भयो र कृतज्ञता ज्ञापन गर्न सेनापतिकै सल्लाह बमोजिम प्रतिनिधिमण्डल पठाउन मञ्जुर भयो। वादशाहसँग भेट्न जाने प्रतिनिधिमण्डलका नेता कि राजै कि त मुख्य काजी हुनुपर्ने हुँदा हरि शाही जानेमा परे।

नेपाल–चीन प्रतिनिधिमण्डल आउने जाने चलन सातौं शताब्दीमा लिच्छवि राजा नरेन्द्रदेवकै पालादेखि चलेको थियो। त्यसवेला चीनमा तङ वंशको शासन थियो। विक्रमको चौधौं शताब्दीमा मिङ्ग वंशको शासनकालमा बनेपाका बर्द्धनवंशी शासकहरू र चीन वादशाहबीच सौगात आदान–प्रदान भएको थियो। त्यसवेला चीन वादशाह युङ्गलोले शक्तिसिंह रामबर्द्धनलाई पठाएको संस्कृत भाषाको परवाना पाइन्छ। त्यसमा नेवारी सम्बत् महाचीनाब्द लेखिएको छ। चीनबाट आउने मुख्य प्रतिनिधि तिङतासी र रिजिन छन्।

त्यसपछि पनि चीनसँग वा ल्हासा बसेका चिनियाँ प्रतिनिधि अम्बाहरूसँग पत्राचार भयो होला। आधुनिक कालमा चीन जाने पहिलो नेपाली प्रतिनिधिमण्डल चाहिं हरि शाही नेतृत्वको हो। प्रतिनिधिमण्डलमा काजी, सरदार, सुवेदार, जमादरसहित १६ पगरी र २९ सिपाही हुन्थे।

प्रतिनिधिमण्डलले सीमानासम्म मात्र यताबाट खानाखर्च, घोडा खल्मा–भारी बोक्ने भरिया लैजानुपर्थ्यो। भोट पसेपछि सबै मेजमानी उतैबाट हुन्थ्यो, घोडा खाल्मा सबै उतैबाट बेहोरिन्थ्यो। पहिले सदस्य संख्या बढाउने, अर्जीको बेहोरा सच्याउने कुरा गर्दा चीनले कहिल्यै कुनै तल–माथि पार्ने कुरा स्वीकार गरेन। पहिले घोडा, हात्ती, तामदाम पनि पठाइएको थियो। त्यहाँको हावापानीमा बाँचेनन् अनि पठाइएनन्।

पहिलो सन्धिपत्रले नेपाल–भोट सम्बन्धलाई सुचारु गर्न सकेन। भोटले दोस्रो वर्षदेखि सन्धि बमोजिम रकम बुझाउन छाड्यो र सं. १८४९ मा फेरि युद्ध शुरू भयो। यसपालि चीनबाट भोटको मद्दतको लागि बजीर टुङथ्वाङको नेतृत्वमा ठूलो सैनिक दल आयो। निकै दिन चलेको नेपाल–भोट युद्ध पनि आखिरमा मेलमिलापमै टुंगियो र नेपालले पाँच–पाँच वर्षमा प्रतिनिधिमण्डल पठाउने परम्परै बस्यो। पहिलो साल काजी देवदत्त थापा मगरको नेतृत्वमा प्रतिनिधिमण्डल गयो भने दोस्रो पल्ट काजी नरसिंह गुरुङलाई ‘शाही’ पदवी दिएर पठाइयो। त्यसपछि पाँडे र थापाहरूकै नेतृत्वमा गइरह्यो।

जंगबहदुरले पठाएका काजी सुरथसिंह पन्थ बीच बाटोमै आकाशचली (हृदयघात) बाट विते। सं. १९०९ मा गएका काजी र सरदार दुवै जना बाटैमा परलोक भए। त्यसपछि ताइपिङ्ग विद्रोह उठेकाले एकैचोटि सं. १९२५ मा जगतशेर सिजापतिको नेतृत्वमा गएको प्रतिनिधिमण्डल बाटामा अशान्तिको वातावरणले भोट–चीन सिमानासम्म अर्जी सौगात पुर्‍याई फर्केर आयो। यसरी जंगबहादुरको पालामा गएको प्रतिनिधिमण्डल सुचारु रूपले कुनै सफल भएन। उताबाट पाउने दस्तुर र तक्मा चाहिं उनले पाएका थिए।

रणोद्दीप सिंहको पालामा तेजविक्रम राणाको नेतृत्वमा एक पटक, वीरशमशेर राणाको पालामा तेजविक्रम राणा र इन्द्रविक्रम राणाको नेतृत्वमा दुईपल्ट नेपाली प्रतिनिधिमण्डल पेचिन गयो। चन्द्रशमशेरको पालामा सं. १९६३ मा भैरवबहादुर गडतौला क्षेत्रीको नेतृत्वमा अर्जी–सौगातका साथ प्रतिनिधिमण्डल जानै लाग्दा रेजिडेन्टले महाराजसँग असन्तुष्टि पोखे। त्यो असन्तुष्टि न पहिलो थियो न त अन्तिम। नेपाल– चीन सम्बन्धमा शुरूआतबाटै अरूको आँखा लाग्दै आयो, अहिले पनि लागेकै छ।

अर्जीको बेहोरा र सौगातको सामानलाई लिएर कतिपय विदेशीले विभिन्न कुरा लेखेका छन्। परन्तु, त्यस्तो बेहोरा कोरिया, बर्माको पनि त्यस्तै हुन्थ्यो, स्वयं ब्रिटिश सरकारले लेखेको पनि त्यस्तै हुन्थ्यो। त्यसकारण त्यो लेखाइ र सौगातको आदान–प्रदानबाट राजनीतिक प्रभावको आकलन गर्नु व्यर्थ छ। बरु त्यसबाट नेपाललाई प्रचुर आर्थिक लाभ भएको महाराज बताइरहेकै थिए। अरू मानपदवी र तक्मा दिने परम्परा चलिआएकै थियो। त्यसले नेपालको सम्मान बढाएको थियो।

सन् १९०६ अप्रेलको २३ तारिख मुताविक सम्वत् १९६३ साल वैशाख ११ गतेका दिन विहान ८ बजे रजिडंटसाहेव हावा खादै सिंहदरवारमा आया र भेट मुलाकात हुंदा कुरा कहानी भयाको

खैरियतको कुरा भैसकेपछि:

रेजिडेन्ट– तपायींको दर्वार हुन लागेको थियो क्यारे मैले अलमल्याई दिया जस्तो भयो की श्री ३ माहाराज चन्द्रशम्शेर जंग राणाबहादुरबाट हुकुं भयाको होइन. काम सिद्धियको मात्र थियो. तपायीं आउन हुने खवर राधा सावारले भन आयो– यो सलाम्बाट मानिस फर्कि पनि सकेका थिया तपायीले टुडिखेलतीर अघि नै भेट्नु भयाकोले दर्बार खतम भयाको तपायींलाई पनि मालुम् भयाकै होला

रेजिडेन्ट– के काम हुंछ. तपायींको यो विहानको दर्बारमा. रोज हुंछ की

श्री ३– रोज हुंछ, दुनीयाँ कसैले केही आफ्नो बर्खास्त उजुरहरू पेस गर्नुपर्ने भया आइ पेस गर्छन. तिनीहरूको दर्खास्त सुनींछ.

रे– मानिसहरू आउंदा सलाम्मा आउने भन्दा रहेछन. तेसो हुनाले म पनि तपायींको सलाम्मै आयाको सम्झनुहोला

(दिल्लगीतौरसंग उठी सलाम गर्‍या)

सलाम् हुंदा तपायीं काहा बस्नुहुन्छ

श्री ३– म माथी बारादलीमा बस्छु. अरु तल बसेका हुंछ

रे– चिन्मा नेपाल्बाट जाने मिसन्को बारेमा लेख्नु भयाको चीठी पायां सो लेखनु भयाको मेहेरवानी हो. सो सौगातसंग जाने अर्जिमा कस्तो बेहोरा लेखी जांछ

श्री ३– तेस्मा सौगात भन्ने लवज लेखीछ. बढता कति लेखीदो रहेछ भन्या हाम्रा पुर्खाहरू पनि तपायीकै सरण पीछा परीआयाको मलाई पनि सोही माफीक शरण लीनु होला भन्या मजमुन्को बोली लेखिने गरेको छ

रे– तेस्तो बोली सच्याई पठाउनु भया हुदैन र

श्री ३– हुंदो रहेनछ. अघी यकपल्ट सावीक्मा लेखी जाने बेहोरासंग केही फरक पारी लेखी गयाको हुनाले ल्हासा पुग्यापछि हाम्रा चीन जान खटीयाका अफिसरहरूलाई ताहा अम्बाले सो सावीकमा फरक पारी कुरा लेखीयाको हुनाले चीठी फर्काउ साबीक बमोजिमको कुरामा कत्ति घटिबढी नपारी अर्को चीठी मगाउनु भनि नीजहरूले लगेको चीठी फर्काइ दीयाका हुनाले सो चीठी यांहा आई सावीक बमोजीम् लेखीयाको चीठी नपुगेसम्म तीमिहरू ताही अडी पर्खि रहुनपरेछ सावीक यक् रति घटीबढी पार्न हुंदो रहेनछ.

रे– सौगात्मा के के कति जाने गर्छ

श्री ३– जाईफल सुपारी यस्तै साधारन चीजहरू थोरै माल्को जान्छ सुरुमा भने हाथी घोडा पनि जाने गरेको रहेछ. पछि हाथी घोडा पठाउनु पर्दैन भनि लेखी आयाकोले वंद भयाको रहेछ. सो सौगात जानेमाल्को फिरीस्त चाहिंछ भने तपायीछेउ पठाइदीउंला.

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>