रिपोर्टसोमबार, बैशाख १३, २०७३
निको नभएको घाउ
७ वैशाख साँझ् ललितपुरको डोरवाटोल पुग्दा सविना महर्जन (३२) किराना पसलमा सामान बेचिरहेकी थिइन् । जब ठीक एक वर्षअघिको भूकम्पबारे कुरा गर्न थालियो, आँखा रसाउन थाल्यो । भक्कानो छुट्न बेर लागेन ।
१२ वैशाखको भूकम्पमा सविना वैदेशिक रोजगारीबाट विदामा आएका श्रीमान् ज्योतिन महर्जन परिवारसहित मनकामना मन्दिर दर्शनका लागि लाइनमा थिइन् । “एकाएक भुईं हल्लियो, हेर्दाहेर्दै घरको चौकोस खस्यो, त्यसपछि होश भएन ।”
दमौलीमा उपचार सम्भव नभएपछि सविनालाई त्यसै दिन चितवन मेडिकल कलेज पुर्याइयो । अस्पतालमा उनलाई होश आउँदा उनको धेरै चिज सकिइसकेको थियो । श्रीमान् बितिसकेका थिए । बायाँ खुट्टामा सहनै नसक्ने पीडा भइरहेको थियो । १० दिनसम्म चितवन बस्दा सविनाले त्यही खुट्टा पनि गुमाइन् । डोरवाटोलको घर पनि ढल्यो ।
भूकम्पको प्रहारअघि उनी ब्यूटीपार्लरमा काम गर्थिन् । अहिले पसलको कमाइले परिवार र ९ वर्षको छोरो हुर्काइरहेकी छिन् । “सरकारले राम्रो काम दिए बुहारीको भविष्य बन्नेथियोे”, सासु मैया महर्जन भन्छिन् ।
भूकम्पको दिन भक्तपुरकी गोमा गिरी रामकोटस्थित माइतीघरमा चिया पिउँदै हाँसीखुशी गफिंदै थिइन् । अचानकको भूकम्पले घर ढाल्यो । सबै पुरिए । उठेर हेर्दा पाँच वर्षीया बहिनीको ज्यान गइसकेको थियो । बायाँ खुट्टाको उपचारका लागि उनी त्यही दिन शहीद मेमोरियल अस्पताल भर्ना भइन् । ८ जेठमा अस्पतालबाट ‘डिस्चार्ज’ हुँदा उनको बायाँ खुट्टाको घुँडादेखि तिघ्रासम्म प्लेट राखिएको थियो । एक महीनासम्म छडीको सहायताले हिंडडुल गर्नुप¥यो । “खुट्टा पहिलेकै जस्तो हुन्छ, गरिखान सकिन्छ जस्तो पनि छैन”, उनी भन्छिन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार, भूकम्प र परकम्पनहरूमा २२ हजार ३०३ घाइते भए । तीमध्ये २७ सय ७८ जनालाई मेजर शल्यक्रिया गर्नुपरेको थियो । ३७ हजार ७३१ जनालाई मनोवैज्ञानिक परामर्श दिइएको थियो ।
मध्य बानेश्वरको कच्ची घरमा भाडामा बस्ने कृष्ण सुवेदीकी छोरी पुनम (१३) लाई पनि घरले नै पुर्यो । निधारदेखि बीच भागबाट ठाडो गरी अनुहार चिरियो । अगाडिका दाँत भाँच्चिए । “हामीलाई त बाँच्ली भन्ने नै थिएन, डाक्टर राम्रा भएकाले छोरीले पुनर्जीवन पाई ।”
बाँचे पनि पुनमको जीवन सहज छैन । टाउकाको देब्रे भाग अहिले पनि अचेत छ । कुनै कुराको पनि महसूस हुँदैन । “पैसा नभएकैले टाउकाको उपचार गर्न सकिनँ”, सुवेदी भन्छन् ।
भूकम्पका धेरै घाइते स्टील पाताको भरमा छन् । हात, खुट्टा र शरीरका अन्य भागका हड्डी भाँचिएका कारण धेरैलाई स्टीलका पाता राखेर उपचार गर्नु परेको वीर अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ डा. गणेश गुरुङ बताउँछन् । उनका अनुसार, भूकम्पपछि ट्रमा सेन्टर र वीर अस्पतालबाट मात्रै २४ सय हाडजोर्नीका बिरामीको उपचार गरिएको थियो ।
हाडजोर्नीका बिरामीमा संक्रमणको ठूलो जोखिम हुन्छ । त्यसैले पटकपटक स्वास्थ्य परीक्षण गरिरहनुपर्छ । डा. गुरुङ विशेषज्ञ उपचार सेवा नभएका ग्रामीण क्षेत्रका अस्पताल र शिविरका बिरामीमा संक्रमण देखिएको बताउँछन् । “विदेशी चिकित्सकको जथाभावी उपचारले दुई सयभन्दा बढी बिरामी थप उपचारका लागि ट्रमा सेन्टरमा आएका छन्”, उनी भन्छन् ।
मनोरोगीलाई बेवास्ता
“भूकम्पपछि शारीरिक मात्र होइन, मानसिक रोगका बिरामी पनि बढेका छन्” त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका मानसिक रोग विशेषज्ञ सरोजप्रसाद वझ बताउँछन् । “वेलावेलामा गइरहने परकम्पनका कारण मानिसहरुको मनमा डर कायमै छ”, उनी भन्छन् ।
मनोरोग विशेषज्ञ डा. कपिल देव उपाध्याय भूकम्प जस्ता प्राकृतिक विपत्का वेला प्रभावित कुल जनसंख्यामध्ये कम्तीमा २० प्रतिशतमा मनोसामाजिक समस्या देखा पर्ने अध्ययनले देखाएको बताउँछन् । भूकम्पपछि दैनिक चार जना जति मनोसामाजिक समस्या लिएर जाँचका लागि आउने गरेको बताउँदै उनी भन्छन्, “बिरामीमा भूकम्पको त्रास उत्ति नै छ ।”
चिकित्सकका अनुसार, भूकम्पपछि धेरैमा एन्जाइटी, डिप्रेसन र पोष्ट ट्रमाटिक स्ट्रेस डिसअर्डरको समस्या देखिएको थियो । यस्ता रोगहरूमा डराउने, आत्तिने, घरमा बस्न नसक्ने, निद्रा नलाग्ने जस्ता थुप्रै लक्षण देखिन्छन् । मनोसामाजिक समस्याबाट पुरुषभन्दा महिला बढी सताइएको डा. उपाध्यायको भनाइ छ । “भूकम्पका बीभत्स दृश्य देखेकाहरूमा समस्या देखिएको छ”, उनी भन्छन् ।
भूकम्पपीडित शारीरिक रोगीको उपचारमा मात्र सहुलियत व्यवस्था गराएको सरकारले मानसिक रोगीलाई भने बेवास्ता गरेको छ । स्वास्थ्य मन्त्रालयको उपचार मनोवैज्ञानिक परामर्शमा मात्र सीमित छ । मन्त्रालयले भूकम्प प्रभावित १४ जिल्लाका प्रभावितलाई ११४ मेडिकल अफिसरमार्फत मनोसामाजिक परामर्श दिइएको बताएको छ ।
डा. वझ लामो समय गाँस–बास गुमाएकाहरूमा पनि मनोसामाजिक समस्या देखिने बताउँछन् । “त्यसैले घरबार गुमाएकाहरूलाई तत्काल उचित बास र औषधि उपचार आवश्यक छ”, उनी भन्छन् ।
कता हरायो सहुलियत ?
भूकम्पको पाँच दिनपछि १७ वैशाखमा मन्त्रिपरिषद् बैठकले घाइतेको निःशुल्क उपचारमा तत्काल रु.२५ हजार उपलब्ध गराउने निर्णय गरेको थियो । जटिल शल्यक्रियाका लागि यति रकमले नपुग्ने भएपछि २२ जेठमा सरकारले पुनः रु.५० हजार थप गर्ने घोषणा गरेको थियो । तर, घाइतेहरूले अझै पनि अस्पतालबाट उपचार बापतको सहुलियत पाएका छैनन् ।
भूकम्पकी घाइते भक्तपुरकी गोमा गिरीले औषधि उपचार बापत शहीद मेमोरियल अस्पताललाई रु.६० हजार बुझइन् । गोमाका श्रीमान् श्याम गिरी भन्छन्, “अहिलेसम्म कतैबाट पनि पैसा फिर्ता पाएका छैनौं ।” गिरी जस्तै ललितपुरकी सविनाले पनि सहुलियत पाएकी छैनन् । “घर भत्केपछि एक पटकमा १५ हजार बाहेक थप केही पाएका छैनौं”, उनको गुनासो छ ।
हाल कुँवर मार्ग नयाँ बानेश्वर बस्ने कृष्ण सुवेदीले छोरीको उपचार गर्दा कतैबाट सहयोग र सहुलियत पाएनन् । उपचारमा खर्च भएको रु.५ लाखमध्ये डेढ लाख ऋण तिर्नै बाँकी भएको बताउँदै उनी भन्छन्, “सबै पैसा अस्पतालले लिए । कसैले छूट दिएनन् ।” उनीसँग भूकम्पपीडित परिचयपत्र पनि छैन । सुवेदी भन्छन्, “बहालमा बस्ने हाम्रो बिचल्ली भएको छ ।”
सरकारले घाइतेलाई सोझै रकम नदिई उपचार शुल्कको आधारमा अस्पताललाई नै भुक्तानी दिने प्रबन्ध मिलाएको थियो । तर, उपत्यकाका ३६ अस्पतालले भूकम्पका बिरामीको जटिल शल्यक्रिया गरेको भन्दै स्वास्थ्य मन्त्रालयबाट रु.१ करोड ४३ लाख ५० हजार बुझिसकेका छन् ।