रिपोर्टमंगलबार, बैशाख १४, २०७३
भूकम्पको एक वर्ष: दोस्रो जुनी
भूकम्पको विध्वंसबाट नयाँ जीवन पाएकाहरूमा एकोहोरो चिन्ता होइन, भविष्यप्रतिको आशा समेत छ।
१२ वैशाखको भूकम्प, २९ वैशाखको अर्को ठूलो झ्ट्का र निरन्तरका परकम्पमा परी देशभर ८ हजार ८५६ जनाले ज्यान गुमाए। २२ हजार ३०९ जना घाइते भए भने, करीब ८ लाख निजी घर भत्किए। यहीबीचमा तराईमा आन्दोलन चर्कियो, यो वहानामा भारतले नाकाबन्दी लगायो। किंकर्तव्यविमूढ सरकार पीडितलाई आश्वासनको नूनचूक छर्नमै मग्न रह्यो। यसको चर्को मार मध्यपहाडका गरीब नेपालीले भोग्नुपर्यो।
भूकम्पपीडितले दोस्रो बर्खा पनि अस्थायी टहरामै बिताउनुपर्ने भएको छ। ‘सहन जन्मेका हामी’ भन्दै पीडितहरू दुःखका पहाड चढिरहेकै छन्।
अर्घाखाँचीका ऋषि खनाल सात समुद्र पार पुगेर परिवारलाई सुख दिन चाहन्थे। तर, यतिवेला उनलाई उपचारार्थ काठमाडौं आउजाउ गर्नै समस्या परिरहेको छ। बर्दियाकी कृष्णदेवी खड्कालाई शारीरिक चोटसँगै परिवार विछोडको पीडा पनि छ। बायाँ खुट्टो घुँडामाथिबाट काट्नुपरेकाले मकवानपुरकी प्रिया बिकको प्रहरी बन्ने सपना चकनाचूर भएको छ। बायाँ खुट्टो गुमाएका नेपालगञ्जका अमृत मगरको फूटबलर बन्ने योजना पनि तुहिएको छ।
बालाजुको गेष्टहाउसमा पुरिएका दैलेखका रमेश खत्रीले दुवै खुट्टा गुमाए। तर; पौडी, बास्केटबल र ह्वीलचेयर दौड जस्ता प्रतियोगितामा सहभागी भएर उनले दोस्रो जीवनको यात्रा थालेका छन्। भक्तपुरमा भत्किएको घरबाट २२ घण्टापछि उद्धार गरिएका सोनिश अवाले ‘सेलिबे्रटी’ भएका छन्। मृत्युलाई नजिकबाट अनुभूत गरेरै पनि जीवन पाएका भूकम्पका घाइतेमध्ये केहीका कथाव्यथाः
सोनित अवाल
त्यो चमत्कार!
भूकम्पको पहिलो झट्कासँगै भत्किएको भक्तपुरको मूलढोकामा रहेको घरबाट २२ घण्टापछि उद्धार गरिएपछि पाँचमहीने बालक सोनित अवालको तस्वीर इन्टरनेटबाट क्षणभरमै विश्वभर पुग्यो।
भग्नावशेषबाट धूलो टकटकाइँदै नेपाली सेनाका जवानहरूले आकाशतिर उचालेको त्यो तस्वीर भूकम्पको प्रतिनिधि तस्वीर झै बन्यो।
दूधे बालक सोनित अहिले डेढ वर्षका भए। टुकुटुकु हिंड्छन्। तोतेबोली बोल्छन्। चकचक गर्छन्। आमा र पाहुनासँग जिस्कन्छन्। छुट्ने वेला ‘बाई बाई’ गर्छन्।
घरमा पुरिएकी दिदीको तीन घण्टामै उद्धार भए पनि एक दिनपछिसम्म पनि छोरा सोनितको अत्तोपत्तो नहुँदा धेरैले माया मारिसकेका थिए। तर आमाको मन के मान्थ्यो र? “रातभर प्रार्थना गरें”, आमा रश्मिला सम्झिन्छिन्, “बच्चा रोएको आवाज सुनेपछि भने कतिखेर उज्यालो होला भन्दै बसें।”
नभन्दै ‘चमत्कार’ भयो। तस्वीरमा तिनै ‘चमत्कारी’ बालक हाँसिरहेका छन्। बच्चाको ओंठमा हाँसो देख्दा आमा सबै पीडा बिर्सिन्छिन्। तर, भाडाको एउटै कोठामा चार जनाको परिवार कोचिएर बस्नुको कष्ट अवाल परिवारले भोगिरहेको छ। जग्गा धनीपुर्जा नभएकै कारण भूकम्पपीडितको परिचयपत्रसमेत नपाएकी उनले अझैसम्म राहत पाएकी छैनन्।
ऋषि खनाल
‘विश्वास गुमेको छैन’
९ वैशाखमा दुबई जान घरबाट विदावारी भएर निस्किएका थिए, ढाकाबाङ–६ अर्घाखाँचीका ऋषि खनाल (२७)। १४ गते उड्ने आश्वासन पाएका उनी १२ वैशाखको भूकम्पमा पनि गोंगबु, काठमाडौंस्थित होटलमै थिए।
भत्किएको होटलमा पुरिएका ऋषिले बाँच्नका लागि पिसाब पनि पिए। उनकै शब्दमा मृत्यु कुरिरहेको वेला १५ वैशाख राति ११ बजे सशस्त्र प्रहरी र फ्रान्सेली उद्धारकर्ताको टोलीले संयुक्त रुपमा उनको उद्धार गर्यो। उनको देब्रे खुट्टा गुम्यो।
उनी बाँचे तर पीडा कम भएन। करीब सात महीना अस्पताल बसेका ऋषि गएको एक वर्षमा आफूले गरेको संघर्ष ८२ घण्टा घरभित्र पुरिंदाको भन्दा फरक नभएको बताउँछन्।
“उपचार खर्च त सरकारले बेहोर्यो, तर कमाउनुपर्ने मान्छे ओछ्यान पर्दा परिवारको बिचल्ली भएको छ”, उपचारका लागि काठमाडौं आएको वेला १० वैशाखमा उनले हिमाल सँग भने, “मेरोसँगै छोराको भविष्य पनि अन्धकार हुनेभयो भन्ने चिन्ता लागिरहन्छ।”
कुनै सीपमूलक तालीम पाए केही गर्न सक्छु भन्ने विश्वास भने उनमा छ। “त्यस्तो सीप पाए एउटै खुट्टामा पनि उभिनसक्थें”, उनी भन्छन्।
प्रिया विक
केही गर्ने अठोट
सहपाठी भन्दा टाठी, दौडमा सबैलाई जित्ने प्रिया विक (१५) लाई दिदीहरू हौस्याउँथे, ‘तिमी पनि मामा जस्तै प्रहरी बन्नुपर्छ।’ त्यसपछि उनलाई पनि लाग्यो, ‘हो, म प्रहरी बन्नुपर्छ।’
मकवानपुर स्थायी घर भई काठमाडौंको तार्केश्वर–६ मा परिवारसहित डेरामा बस्ने प्रिया शनिवारको त्यो दिन डेरा बाहिरको धारामा आमासँग कपडा धुँदै थिइन्। भूकम्पको झट्का महसूस हुनेवित्तिकै भाग्न थाल्दा कच्ची पर्खाल भत्किएर उनी पुरिइन्।
तत्कालै उनलाई शिक्षण अस्पताल पुर्याइयो। स्वास्थ्यकर्मीले बायाँ खुट्टामा प्लाष्टर गरिदिए। तर, भोलिपल्ट खप्नै नसक्ने गरी दुख्न थालेपछि उनी रुन थालिन्। प्लाष्टर खोलेर हेर्दा घुँडामुनिसम्म पूरै पाकिसकेको थियो।
स्वाथ्यकर्मीले खुट्टा काट्नुपर्ने, नत्र क्यान्सर हुनसक्ने चेतावनी दिए। प्रियाका बुबा अर्जुन भन्छन्, “छोरीको जीवनको सवाल थियो, मन नहुँदा नहुँदै पनि काट्ने निर्णय गर्नुपर्यो।”
घुँडाभन्दा माथिको भाग काटिएपछि ह्वील चियर गुडाउन, बैसाखी टेक्न, कृत्रिम खुट्टा लगाउन, शौचालयमा कुर्सीको प्रयोग सिक्न प्रियालाई धेरै समय लाग्यो। उनको पहिलो त्रैमासिक परीक्षा छुट्यो। दोस्रो, तेस्रो र अन्तिम परीक्षामा मिहिनेत गरेकी उनी अहिले कक्षा १० मा पुगेकी छिन्।
तर, स्कूल आउन, जान अहिले पनि सहयोगी चाहिन्छ। विद्यालयको शौचालय कुर्सी राख्न मिल्ने नहुँदा उनलाई समस्या परेको छ।
“पढेर प्रहरी बन्ने सपना थियो, तर खुट्टाले दिएन”, उनी भन्छिन्, “तर केही न केही त गर्छु नै।”
कृष्णादेवी खड्का
पर्खाइ सहयोग र सीपको
मगरागडी–६, बर्दियाकी कृष्णादेवी खड्का (३२) माघ २०७१ देखि काठमाडौं नयाँ बसपार्क नजिकैको जनसेवा गेष्ट हाउसमा ‘कुक’ थिइन्। सानैमा आमा बितेपछि बाबुले दोस्रो विवाह गरे र उनलाई अलपत्र छाडे। त्यसपछि बिहे गरेर दुई सन्तानकी आमा बनेकी उनलाई पतिले पनि छाडे।
छोराछोरीको पढाइ खर्च जुटाउन काठमाडौं आएको तीन महीनामै उनी भूकम्पमा परिन्। १२ वैशाखमा होटलमा खाना पकाउँदै गर्दा भूकम्प बेहोरेकी उनी भाग्दाभाग्दै घर भत्कियो। ६ दिनसम्म भाँचिएको बीमले च्यापिएकी उनलाई नेपाली सुरक्षाकर्मी र इजरायली टोलीले उद्धार गर्यो। “पहिलो दिन राति बाहिर मान्छेहरू बोलेको, हवाईजहाज र हेलिकप्टर उडेको, गाडी गुडेको सबै थाहा पाएँ”, उनी भन्छिन्, “त्यसपछि होश आउँदा म हस्पिटलमा थिएँ।”
भतिजीको खोजीको लागि १७ वैशाखमा काठमाडौं आएका कृष्णादेवीका काका दुर्गाबहादुर थापाले छाउनीस्थित नेपाली सेनाको अस्पतालमा रगताम्य भेटे। “भतिजी काम गर्ने होटलमा थुप्रै मानिस मरेछन्, मैले त आश मारिसकेको थिएँ”, उनी भन्छन्, “देउतै भेटेजस्तो लाग्यो।”
७ वैशाखमा हिमाल प्रतिनिधि कृष्णादेवी बस्ने मगरागडी–६ सिउनियास्थित काका दुर्गाबहादुरको घरमा पुग्दा उनी काका, काकी र भाइबुहारीसँगै थिइन्। छोरा, छोरी विद्यालय गएका थिए। “थोरै भए पनि सहयोग वा सीप सिकेर छोराछोरीलाई पढाउन मन छ”, उनी भन्छिन्, “काकालाई कति दुःख दिनु!”
उद्धारको १४ दिनपछि होश खुलेकी कृष्णादेवीको टाउकोको चोटले अहिले पनि दुःख दिन्छ। कान थुनिएजस्तो हुन्छ। “राम्रोसँग उपचार गराउन पाएकी छैन”, उनी भन्छिन्।
-भावुक योगी, बर्दिया
अमृत मगर
सपना मरेको छैन
बाँकेको मनिकापुरस्थित राँझा एअरपोर्टका अमृत मगर (१६) सानैदेखि फूटबल खेल्थे। फूटबलर बन्ने सपना थियो। तर, भूकम्पले उनको देब्रे खुट्टो छिनालिदियो।
काठमाडौंको पेप्सीकोलामा बुवा आमासँगै बस्ने उनी त्यस दिन घरमै टिभी हेरिरहेका थिए। बुबा आमा काममा गएकाले घरमा उनी एक्लै थिए। भूकम्प आएको थाहा पाएलगत्तै भागेका उनी आँगनको भत्किएको पर्खालमा च्यापिए। छिमेकीले नजिकैको अस्पताल पुर्याए। भाँचिएको खुट्टोमा प्लाष्टर गरेपछि उनी घर फर्किए। तर, हरेक दिन खुट्टो दुख्न थाल्यो, सुन्निन थाल्यो। दुई सातापछि शिक्षण अस्पताल महाराजगञ्ज पुग्दा चिकित्सकले खुट्टो काट्नुपर्ने बताए। “त्यो दिन मलाई खुट्टो गुमेकोमा भन्दा अब फूटबल खेल्न नपाइने भयो भन्ने चिन्ता लाग्यो”, उनी भन्छन्, “तर खेलाडी बन्ने सपना भने अझै छ।”
अहिले उनले नयाँ साथी पाएका छन्। ‘एनएचईडी’ संस्थाको संरक्षणमा बसिरहेका उनी दुवै खुट्टा गुमाएका दैलेखका रमेश खत्रीसँग पौडी, बास्केटबल खेल्छन्। गान्धी आदर्श उमावि काँडाघारीमा कक्षा ९ मा पढ्दै गरेका उनी रमेशसँगै खगेन्द्र नवजीवन केन्द्र भर्ना हुने तयारीमा छन्।
महर्जन परिवार
दोहोरो शोक
काठमाडौं सीतापाइलाका सानु महर्जनले १२ वैशाखको भूकम्पमा चारतले घर गुमाए, २९ वैशाखमा आमा। भूकम्पको त्यो दिन उनी पत्नी गंगादेवी, छोरो मनिष र छोरी मनिषालाई घरमै छोडेर जोरपाटीस्थित पसलमा गएका थिए। भूकम्पको झट्का लाग्नेवित्तिकै उनी घरतिर हान्निए। घरका भग्नावशेषमा पुरिएका पत्नी, छोरा र छोरीको सकुशल उद्धार भइसकेको थियो। “सग्लो जोगिएको एउटा स्टील दराज र पलङ मात्र थियो”, गंगादेवी भन्छिन्, “सम्पत्ति सबै नासिए पनि हामीलाई त केही भएको छैन भनेर चित्त बुझाएर बसेका थियौं, तर २९ गतेको भुईंचालोले आमालाई लग्यो।”
महर्जन परिवार अहिले भत्किएको घरभन्दा १०० मिटरजति माथि जस्ताले छाएको घर बनाएर बसेको छ। गंगादेवी अहिले पनि तर्सिरहन्छिन्। छोरा मनिष पनि घर लडेको, दराज ढलेको, सामान खसेको झझल्को आइरहने बताउँछन्।
रमेश खत्री
झन् बढी आत्मविश्वासी
बाँसी–३ दैलेखका रमेश खत्री काठमाडौं बालाजुको भूमेश्वरी गेष्टहाउसमा वेटर थिए। १२ वैशाखमा उनी घर जाने योजनामा थिए। बिहानै किनमेल गरे, दिउँसो ४ बजेको गाडीको टिकट पनि काटे।
होटल फर्किएर साथी पेम्बा लामासँगै घुम्न निस्कनै लागेका वेला जमीन थर्कियो। भाग्दाभाग्दै उनी भर्याङमा लडे। ८ तलाको गेष्टहाउस क्षणभरमै जमीनमा भास्सियो र भग्नावशेषमा परिणत भयो। दोस्रो तलामा रहेका उनलाई राति १२ बजे खाल्डो खनेर जमीनमुनिबाट निकालियो। साथी पेम्बाको पनि ६ दिनपछि जीवितै उद्धार गरियो। रमेशले दुवै खुट्टा गुमाए।
“भूकम्पमा पुरिएको सम्झँदा सपना जस्तो मात्रै लाग्दैथ्यो, होश खुल्दा अस्पतालको बेडमा हल्लिन पनि नसक्ने गरी पल्टिरहेको थिएँ”, उनी सम्झन्छन्, “विस्तारै हिंड्न सक्छु होला भन्ने लागेको थियो, तर कहिल्यै हिंड्न नसक्ने भएछु।”
भाइबहिनीलाई धेरै पढाउने योजना बुनेर कक्षा ८ को पढाइ छाडी काठमाडौं आएका रमेशको सपनामा यतिवेला तुवाँलो लागेको छ। तर, जीवनप्रति उनको विश्वास गुमेको छैन। बरु, आत्मविश्वास बढेको छ। दुवै खुट्टा गुमाएको यो एक वर्षमा उनले ह्वीलचेयर दौड, पौडी र बास्केटबल जस्ता प्रतियोगितामा भाग लिएका छन्। यस्ता प्रतियोगिताबाटै करियर बनाउने सपना देख्न थालेका छन्। पढाइलाई निरन्तरता दिने सोच बनाएका छन्। उनी भविष्यमा आफू जस्तै अपांगता भएकाहरूको जीवन सुधार्न काम गर्ने बताउँछन्।
“सरकारले उपचार खर्च पनि दिएन, अरु त परै जाओस्”, उनी भन्छन्, “दोस्रो जीवन म जस्ताहरूको जीवन सुधार्न लगाउनेछु।”