थप समाचारबिहीबार, बैशाख १६, २०७३
सम्पूर्ण वस्तीमाथि नै दुर्व्यवहार
‘सारा संसारकै फोहर यहीं थुप्रिन्छ, सबै हामीलाई दबाउनै लागिपरेका छन्,” बाराको जितपुरस्थित दलित बस्तीकी राजमती देवि पासवान एकाविहान कराउँदै थिइन् । बजारभरीकै फोहर बोक्ने ढल र वरपरका टोलको फोहर उनकै वस्ती छेउमा थुपारिएपछि निक्लेको गन्धले घरभित्रै पनि बसिनसक्नु भएपछि उनी त्यसरी आक्रोशित भएकी थिइन् ।
सबैले आफ्नो टोल नजिक फोहोर थुपार्ने गरेको र त्यसो नगर्न पटक पटक आग्रह गर्दा पनि कतैबाट सुनुवाई नभएको उनले बताईन् ।
चालू आर्थिक वर्षको कार्ययोजनामा नगरभित्रका दलितको उत्थान र नगरलाई सफा पार्ने भनेको गढिमाई नगरपालिकाले दलित बस्तीको फोहोर उठाउन चासो त दिएको छैन उल्टो वरपरका वस्तीको फोहर समेत यही वस्ती नजिक थुपारिन्छ ।
“मरेका जनावरको सिनो, सेफ्टी ट्याङ्की सफा गरेको फोहर समेत यही ल्याएर थुपार्छन,” दलित बस्तीकै किस्मतीया देवी रामले भनिन्, “बजारका सबै नालाको पानी यही थुप्रेर फोहरको पोखरी बनेको छ, हामीलाई महामारी लागोस भनेर होला ।”
दलितलाई हेपेरै स्थानीय नेता, अगुवा, नगरपालिकाले समेत यस्तो व्यवहार गरेको उनको गुनासो छ । “भाषण गर्दा दलितमाथि विभेद हुन दिन्नौं भन्दै कुर्लन्छन, हाम्रा बालबालिकालाई आउँ, झडापखाला, ज्वरो लागिरहेको छ तर, ठूलाठालू सबै तमासा हेर्दैछन्, ” उनले भनिन् ।
कतिसम्म भने वरपरका उपल्लो जातका भनिनेहरुले आफ्ना शौचालयको ढल समेत यही वस्ती नजिक पु¥याएर खुला छोडेका छन् ।
फोहोर र दुर्गन्धले बस्तीमा बस्नै गाह्रो भएको युवा सिकेन्द्र राम बताए । नगरपालिकाले नै यहाँ ल्याएर फोहर थुपार्ने गरेको भन्दै उनले पटक पटकको आग्रहलाई नगरपालिकाले बेवास्ता गरेको बताए ।
दलित मुक्ति मोर्चाका नगर कमिटि अध्यक्ष चन्देश्वर पासवान दलितका मुद्दामा कोही पनि गम्भीर नभएको र हेपाहा प्रवृत्ति देखाइरहेको आरोप लगाउँछन् ।
सुरेश बिडारी, वीरगञ्ज