समाचारशुक्रबार, बैशाख १७, २०७३

संसद नियमावलीमा सहमति खोज्न कांग्रेस सभापति र सभामुखबीच भेटवार्ता

हिमालखबर

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख ओनसरी घर्तीबीच संसद नियमावली पारित गर्न सहमति जुटाउने सम्बन्धमा छलफल भएको छ ।

सभापति देउवा निवास बूढानीलकण्ठमा सभापति देउवा र सभामुख घर्तीबीच संसद् नियमावली पारित गर्न सहमति जुटाउने विषयमा छलफल भएको भेटमा सहभागी कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले बताए ।

सत्ता पक्ष र प्रतिपक्षको आ–आफ्नो अडानले संसद्का काम कारबाही सञ्चालनका लागि आवश्यक पर्ने संसद् नियमावली पारित हुन सकेको छैन । संसद् नियमावली पारित हुन नसक्दा संसद्का गतिविधिसमेत प्रभावित हुँदै आएका छन् ।

नयाँ संविधानअनुसार संसद् नियमावलीअन्तर्गत रहने संसदीय सुनुवाइ विशेष समितिको संरचनाका बारेमा निक्र्योल हुन नसक्दा संवैधानिक निकायको नियुक्तिमा समेत कठिनाइ उत्पन्न भएको छ ।

भेटमा कांग्रेसले नयाँ संविधानका सबै संरचना निर्माण नहुन्जेलसम्म सङ्क्रमणकालीन व्यवस्थाअनुसार व्यवस्थापिका–संसद्का अन्य समिति झैँ संसदीय विशेष सुनुवाइ समिति पनि स्वतः व्यवस्थापिका–संसद्को समितिमा परिणत हुनुपर्ने तर्क गरेको थियो ।

सभामुख घर्तीले संसद् नियमावली पारित गर्ने सम्बन्धमा ठूला दलका शीर्ष नेताहरुले शीघ्र सहमतिका लागि आग्रह गरिन् । सभामुख घर्तीले आगामी २१ वैशाखदेखि बजेट अधिवेशन सुरु हुने र त्यसको कार्यतालिका बनाउनुपर्ने भएकाले सहमतिका लागि पहल गर्न सभापति देउवालाई आग्रह गरेकी छन् ।

संसदीय सुनुवाइ विशेष समितिका सम्बन्धमा कांग्रेसलगायत साना दलले हाल कायम समितिलाई यथावत् राख्नुपर्ने अडान राखेका छन् भने सत्तारुढ दलहरुले नयाँ संविधानअनुसार छरितो समिति गठन हुनुपर्ने अडान राख्दै आएका छन् । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>