थप समाचारशुक्रबार, बैशाख १७, २०७३
अदालतले सांसद खातुनसँग लिखित जवाफ माग्यो
बारा जिल्ला अदालतले अदातलतको अवहेलना मुद्दामा नेकपा एमालेकी सांसद नेजमा खातुनलाई अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
नेपाल बार एशोसियशन बाराले दायर गरेको अदालतको अवहेलना सम्बन्धी मुद्दाको १७ वैशाखमा प्रारम्भिक सुनुवाइ गर्दै अदालतले त्यस्तो आदेश दिएको हो ।
न्यायाधीश रितेन्द्र थापाको इजलासले सात दिनभित्र अदालतमै उपस्थित भएर लिखित जवाफ पेश गर्न सांसद खातुन सहित १८ जनालाइ आदेश दिएको छ ।
अदालतको अवहेलना गरेको भन्दै नेपाल बार एशोसियशन बाराले एमाले सांसद खातुन, उनका छोरा सहित १८ जना विरुद्ध हदैसम्मको कार्वाहीको माग गर्दै १६ बैशाखमा मुद्दा दायर गरेको थियो ।
सांसद खातुनका पति एंव एमाले नेता स्वर्गीय महमुद आलमको हत्याका अभियुक्त रामचन्द्र प्यासी कुशवाहलाई १५ बैशाख बुधबार बारा जिल्ला अदालतले १० वर्ष सजायको फैसला सुनाएपछि सांसद खातुन र समर्थकहरुले अदालतमै न्यायाधीशलाई गालीगलौज गरेका थिए ।
आलमको हत्यामा संलग्न भारतीय नागरिकहरु विपिन यादव भन्ने महम्मद फहीद, अतिक खान र राजु श्रीवास्तवलाई पनि जिल्ला अदालत बाराले १०÷१० वर्ष कैदको सजाय तोकेको छ भने अर्का भारतीय नागरिक रवि पाण्डे भन्ने राजेश मिश्रलाई मुख्य दोषी ठहर गरि २१ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
सांसद खातुनका पति एंव दोस्रो संविधानसभा चुनावका एमाले उम्मेदवार आलमको १८ असोज २०७० मा बाराको लिपनीमालमा गोली हानी हत्या भएको थियो ।
सुरेश बिडारी, वीरगञ्ज