समाचारशुक्रबार, बैशाख १७, २०७३
पुनःनिर्माणमा सहयोग गर्न मोर्चालाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओली मधेशकेन्द्रित दलहरुलाई आन्दोलन छोडेर पुनःनिर्माणमा सहयोग गर्न आग्रह गरेका छन् ।
भूकम्पपछिको पुनःनिर्माणका लागि सबै जिम्मेवारीपूर्वक जुट्नु पर्नेमा जोड दिंदै प्रधानमन्त्री ओलीले पुनःनिर्माणमा सहयोगका लागि मधेश केन्द्रित दलहरुलाई आग्रह गरिएको बताए ।
नेकपा एमाले धरानको कार्यक्रममा बोल्दै उनले भने, “मधेशी मोर्चाका नेता महन्त ठाकुरसँग फोनमा कुरा गरी पुनःनिर्माणमा स्वंयसेवक परिचालन गर्न आग्रह गरेको छु, मोर्चाको आगामी बैठकले यसबारे निर्णय गर्छ भन्ने विश्वास छ ।”
प्रधानमन्त्री ओलीले संविधानमा असन्तुष्टी जनाउँदै आएका पक्षहरुलाई वार्तामा आउन समेत आग्रह गरे । उनले १८ पुसमा हुने सर्वदलीय छलफलमा सहभागी हुन समेत मोर्चा र अन्य दलहरुलाई आग्रह गरेका हुन् ।
“आफूले जे भन्यो त्यही हुनुपर्छ भन्ने मान्यता उचित हुँदैन, छलफलमा आउनुस यहींबाट आह्वानगर्छु,” प्रधानमन्त्री ओलीले भने ।
एउटा निहुँमा देशलाई अशान्ति र अस्थिरतामा अल्झाई राख्न नहुने भन्दै छलफल गरी संविधान सच्याउँदै अघि बढ्न सकिने ओलीको भनाई थियो ।
सोहन श्रेष्ठ धरान