ब्लगशनिबार, बैशाख १८, २०७३
अजर अमर मुनामदन
शान्तभवन अस्पतालमा मृत्युशैय्यामा सुतेको वेला, देवकोटाले भनेछन्– ‘मुनामदन’ बाहेक मेरा अरू सबै कृति जलाइदिए पनि हुन्छ!
आधुनिक नेपाली भाषासंसारका त्रिमूर्तिमध्येका एक, लक्ष्मीप्रसाद देवकोटालाई सरकारले होइन, नेपाली जनताले ‘महाकवि’ भन्ने उपाधि दिएका हुन्। त्यसोभन्दा राजनीति घुसाएजस्तो देखियो, त्यसैले यसो भनूँ, “महाकवि भन्ने विशेषण लक्ष्मीप्रसाद देवकोटालाई नेपाली जातिले दिएका हुन्।”
देवकोटा कवि मात्र थिएनन्, उनी सबै विधाका पण्डित थिए। उनले के के लेखे, कति लेखे भन्ने कुनै लेखा नै छैन। कति लेखिए, त्यसै फालिए, कति चोरिएर अरूकै भए ठेगान छैन। अतः देवकोटाका कृति यति नै हुन् भन्न कसैले सकेका छैनन्, उनको जीवनी र कृतित्वमा शोध–खोज गर्ने नित्यराज, कुमारबहादुर या ‘बन्धु’ ले समेत। मदन पुरस्कार पुस्तकालय (मपुपु) मा भने उनका नाममा जम्मा ६८ ओटा कृति चढेर रहेका छन्। तर पक्का छ– त्यो ‘समग्र’ होइन।
यी सत्तरी जति पुस्तकलाई नै समग्र मानेर यीमध्ये सबभन्दा ठूलो या मह140वपूर्ण कुन हो? भनेर सोध्यो भने छान्न कठिन हुन्छ। कसैलाई कुनै मन पर्ला अरू कसैलाई अर्कै कुनै। भए पनि, देवकोटाको ‘म्याङ्गनम् ओपस्’ (सबैभन्दा ठूलो किताब) त शाकुन्तल महाकाव्य नै हो नभनी सुख छैन। देवकोटाकै भाकामा पनि यो महाकाव्य नेपाली भाषामा ‘आइसल्याण्डको सर्प’ जस्तो भएर आएको थियो। अर्थात् केही नभएको ठाउँमा प्रवेश गरेको थियो त्यसले। भनेको के भने, त्यस वेलासम्म हाम्रो भाषामा महाकाव्य लेखिएकै थिएन, ‘शाकुन्तल’ नै सबभन्दा पहिलो नेपाली महाकाव्य हो। राम्रो पनि छ त्यो। काव्यशास्त्रका सबै रीत पुर्याएर अत्यन्त सुन्दर ढङ्गले लेखिएको छ ‘शाकुन्तल’।
यति हुँदाहुँदै पनि पछि त्यसका स्रष्टा स्वयंलाई लाग्न थालेछ― ‘शाकुन्तल’ दोषरहित छैन, अनेक त्रुटि छन् त्यसमा भन्ने। त्यसैले नै हुनुपर्छ शान्तभवन अस्पतालमा मृत्युशैच्चयामा सुतेको वेला, उनले भनेछन्– ‘मुनामदन’ बाहेक मेरा अरू सबै कृति जलाइदिए पनि हुन्छ! त्यही कुरालाई लिएर २०२७ सालमा साझा प्रकाशनले ‘मुनामदन’ पहिलो पटक छाप्दा लेखेछ– “महाकविले भने पनि हामी नेपालीचाहिं एकमुखले भन्छौं– जलाउन पर्दैन, ती सबै कृति अमर छन्, बाँचिरहने छन्। अब यस मुनामदनलाई त ‘अमर’ मात्र भनेर पनि पुग्दैन होला। यो त ‘अजर’ पनि रहेछ। आज तीस वर्ष पुगिसकेर पनि यो त्यत्तिकै प्रिय छ, जति पहिले थियो।”
१९९२ चैतमा छापिएको थियो ‘मुनामदन’ पहिलो पटक कमलपोखरी ठटुनटीका लक्ष्मीप्रसाद देवकोटा ‘बीएबीएल’ का नामबाट। मपुपुको सूची नं. २४३ मा भने त्यस पुस्तकको प्रकाशकको कोठामा ब्राकेटमा ‘ब्रह्मशमशेर राणा’ भन्ने टाँगिएको छ। त्यसको कारण के रहेछ भने पुस्तकालयमा दर्ता भएको ‘मुनामदन’ को त्यस प्रतिमा देवकोटाले आफ्नै हस्ताक्षरमा अंग्रेजीमा त्यो किताब जनरल ब्रह्मशमशेरलाई ‘प्रेजेन्ट’ गरेको बेहोरा रहेछ। मपुपु स्थापना भएपछि ती जनरलसाहेबले आफ्ना संग्रहका सबै पुस्तक मपुपुलाई उपहार दिएका थिए। एउटा संजोगै हो― त्यसै संग्रहमा रहेछ ‘मुनामदन’ को त्यो पहिलो प्रति!
अब विचार गरौं। देवकोटाको ‘शाकुन्तल’ महाकाव्य नेपाली भाषाको सर्वोत्कृष्ट र बेजोड ग्रन्थ हो। तर त्यसको उत्कृष्टता, सुन्दरता र काव्यकारिता नेपाली शिक्षित बुद्धिजीवी र प्राज्ञिकवर्गकै पेवा भएर रहिदियो, सर्वसाधारण जनतासम्म त्यसको रस रसाउन, भिज्नै पाएन। ‘मुनामदन’ ले भने हिमालका कटेरादेखि तराईमा खरका छाप्रासम्म अनि आसाम र बर्माका गोठमा पनि पुगेर रसवर्षण गरिरह्यो र अझ् गर्दैछ। त्यसै हुँदा महाकविका कृतिहरूमा ‘पुस्तक सम्पदा’ का लागि पुस्तक चयन गर्दा यो क.दी.ले ‘मुनामदन’ लाई छानेर गल्ती गरेको छैन। ‘उसो भए मुनामदनमा तँलाई सबभन्दा राम्रा लागेका केही पंक्ति भन्’ भनी मलाई कसैले भन्यो भने म यी लाइन छानुँला ‘समर्पण’ काः
“हे मेरा भाइ! हे मेरा बहिनी! पहाड शहरमा,
यो यौटा मेरो भक्तिको माला चढाएँ चरणमा।
अरू ता मैले के गर्न सक्थें! अपढ–अज्ञानी,
आँसुले भिजेको यो फूल गाँसें नजानी नजानी।।
घाम र छाया–बीचमा फुल्यो मनको फूलबारी,
सपनाभित्र फुलेको ल्याएँ विपना ओसारी!
क्या राम्रो, मीठो नेपाली गाना झयाउरे भनेको!
यो खेतभित्र बिरुवा रोपें नदेखी खनेको।
फुलेर जाओस्, वैलेर जाओस् ईश्वर–इच्छा हो,
पयरमनि नकुल्च भाइ! यो मेरो भिक्षा हो!
नेपाली गेडा, नेपाली दाना, नेपाली रसले
भिजेको मीठो रसिलो गीत, नेपाली कसले
नेपाली भन्ने कसले त्यसै आँखा नै चिम्लेला;
प्रतिभाबाट छहरा छुटे, हृदय नछोला?