ब्लगशनिबार, बैशाख १८, २०७३
हतारको व्यक्तिवृत्त
इच्छामृत्यु वशमा नभएकै कारण मानिस ‘यसरी मर्न पाइयोस्’ भनी सहज मृत्युको कल्पना र कामना गरिरहेका हुन्छन्। साहित्यकार राजवले नयाँ उपन्यास सोटिट मा मृत्युको यस्तै परिकल्पना गरेका छन्। अखबार पढ्दा पढ्दै त्यही अखबारले छोपिएर उनको मूल पात्र सोटिटको मृत्यु हुन्छ। अखबार ओढ्ने पात्र कोही नभई पत्रकार हुन्छ।
सोटिट उनै पत्रकारको ‘कलात्मक’ मृत्युको खबरबाट शुरु हुन्छ। यो खबरले ‘म’ पात्र बद्री साइकल चलाउँदै आफ्नो पुरानो गाउँ बेलनापुर पुग्छ। साइकलका पाइडलले गन्तव्य डोर्याए पनि उनको मानस भने विस्मृतितर्फ घुमिरहेको हुन्छ।
एसएलसी पास गरेपछि बद्रीलाई काठमाडौं बसेर पढ्ने व्यवस्था गाउँका पूर्वप्रधानपञ्च हरिदेव उपाध्यायले मिलाइदिन्छन्। हरिदेवका छोरा महेन्द्र काठमाडौंमा एसोसिएटेड प्रेस (एपी) का नेपालस्थित संवाददाता हुन्छन्। एसोसिएटेड, एसोसिएट, सोसिएट हुँदै गाउँवासीका लागि महेन्द्रबाबु ‘सोटिट’ बन्छन्।
पत्रकार महेन्द्र राजा महेन्द्रको मृत्युको समाचार ‘ब्रेक’ गर्नेदेखि वीरेन्द्रको राज्याभिषेकमा गरिएको खर्च, प्रजातन्त्रका खातिर भारतमा भूमिगत नेपाली कांग्रेसका नेताहरुलाई लुकिछिपी नेपालीले गरेको सहयोग, भारतमा इन्दिरा गान्धीको संकटकालपछिको अवस्था जस्ता थुप्रै घटनामा थुप्रै ‘स्कूप’ मार्न खप्पिस छन्। विदेशी सञ्चारसंस्थाका प्रतिनिधि भएकैले निर्धक्क समाचार लेख्ने महेन्द्रका केही समाचारस्रोत र पात्रसँगको सम्पर्क रोचक छ। पेशाप्रति उनी दक्ष र प्रतिबद्ध लाग्छन्।
उपन्यासले पत्रकार महेन्द्रको समग्र जीवन एकांकी बनाइदिएको छ। लेखकले समाचार संकलनका क्रममा अनेकथरी मानिस, ठाउँ, संस्कारसँग एकैपटक परिचित हुने पत्रकारको अवसरबारे ख्याल पुर्याएका छैनन्। सोखले मदिरा पिउने, राजनीतिज्ञ कृष्णप्रसाद भट्टराईकै शैलीमा ‘आइ नो ह्वाट इट इज, आइ एम नट डम भर्जिन’ भन्ने र वेलावेला कोठामै महिला प्राध्यापकसँग देखिने पत्रकारको निजी जीवनमा लेखक पुग्नै सकेका छैनन्। समाचार निर्माणका क्रममा हुने अनेकन् तनाव छोइएकै छैन।
आम मानिसका लागि पत्रकारको जीवन आफैंमा रोमाञ्चकताले भरिएको हो। तर, सोटिट पढ्दा यस्तो अनुभूति हुँदैन। आफूलाई थाहा भएका विषयमा मनग्गे लेख्नु तर पाठकको जिज्ञासा हतारमा समाधान गर्न खोज्नुले लेखकमा आत्मविश्वास झल्कँदैन। सोटिट का लेखक राजवको मुख्य कमजोरी यही हो।
पत्रकारको बीपीसँगको भेटमा सँगै रहेका बद्री आफू भने वामपन्थी झुकाव राख्छन्। तर, आन्दोलनमा वामपन्थी नेताहरुको सक्रियताबारे उल्लेख गर्दैनन्। बीपीसँगको वार्ता सामान्य लागे पनि भारतमा संकटकालका वेला प्रधानमन्त्री इन्दिरा गान्धीले भनेका भनिएका नश्लबन्दी जस्ता कुरा हदैसम्म कल्पित छन्। बसमा बाकसबाटै चोरिएको आँपलाई ‘बलात्कार’ जस्तो भद्दा शब्द प्रयोग गर्ने उनी उदाहरणलाई ‘उधाहरण’ जस्ता व्याकरणीय गल्ती बारम्बार दोहोर्याइरहन्छन्।
देशमा प्रजातन्त्रको पुनर्बहालीपछि ६७ वर्षको उमेरमा स्वनिवृत्त भई पत्रकार सधैंका लागि गाउँ फर्कन्छ। तर, पुराना कुरा उप्काउन ऊ उत्साही देखिंदैन। पत्रकारको यस्तो मनोदशा केलाएरै पनि लेखक उपन्यासलाई केही खँदिलो बनाउन सक्थे।
कम शब्दमा उपन्यास सिध्याउने यत्न हो भने पनि उनी विषय र चरित्रमा विविधता थप्न सक्थे, पात्रहरुलाई विचार, संवेदना, ह्युमर अवयवले ज्यान दिन सक्थे, तर यसको अभावमा कृति एउटा पत्रकारको हतारको व्यक्तिवृत्त बनेको छ।
जसै उपन्यास सकिन्छ, आख्यानमार्फत एउटा गतिलो पत्रकारको दृष्टिबाट ३० को दशकको राजनीतिक कालखण्ड बुझ्ने आशा पनि सकिन्छ। यहाँनेर पाठकलाई थोरै मात्र विश्वसनीय बनाउन सकेको भए पनि उपन्यास ‘लामो तर कमजोर कथा’ बन्नबाट बँच्ने थियो।