समाचारशनिबार, बैशाख १८, २०७३
बजेट अधिवेशनबारे प्रमुख दलहरुबीच छलफल
व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दलहरुले आगामी बजेट अधिवेशनलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने सम्बन्धमा छलफल सुरु गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा बोलाएको बैठकमा दलका नेताहरुले संसद्लाई प्रभावकारी बनाउने, भूकम्पपछिको पुनःनिर्माण वर्षा अगावै सक्ने र मधेश समस्याका विषयमा संयुक्त गठबन्धनले उठाएका जायज माग सम्बोधन गरेर अघि बढ्न सुझाव दिए ।
बैठकपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले प्रभावकारी काम गर्न नसक्दा यस वर्षको वर्षातमा पनि पीडितले ओत नपाउने सङ्केत देखिएको बताए ।
“पुनःनिर्माणका लागि जम्मा भएको सहयोग परिचालन गरेर क्षति भएका संरचना बनाउन ढिला भएको छ, सरकार अझै स्वयम्सेवक परिचालनको रट लगाएर पुनःनिर्माणलाई ओझेलमा पार्दैछ”, देउवाले भने ।
बजेट आउनुपूर्व घनीभूत छलफल गरेर आगामी आवको नीति तथा कार्यक्रम र बजेट ल्याउन पनि सभापति देउवाले सरकारसँग माग गरेका छन् ।
एमाओवादीका महासचिव कृष्णबहादुर महराले आगामी संसद् अधिवेशन र भूकम्पपछिको पुनःनिर्माणलाई प्रभावकारी बनाउने तथा मधेशमा आन्दोलनरत दलसँग वार्ताका विषयमा छलफल भएको बताए । रासस