समाचारआइतबार, बैशाख १९, २०७३
नेविसंघको महाधिवेशन असार पहिलो साता
व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को महाधिवेशन आगामी असार पहिलो साता हुने भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवासँग आज नेविसङ्घका अध्यक्ष रञ्जित कर्णले देउवा निवास बुढानीलकण्ठमा भेटी असार पहिलो साता महाधिवेशन गर्ने तयारी थालेको जानकारी दिए ।
सभासद् पनि रहेका कर्णलाई बोलाएर सङ्घको महाधिवेशनको तयारीका बारेमा नेता देउवाले जानकारी लिएका थिए ।
नेता देउवाले पार्टीको प्रतिष्ठासँग गाँसिएकाले संघको महाधिवेशन यथाशीघ्र गर्न निर्देशन दिएको भेटमा सहभागी सङ्घका नेता ऋषिकेशजङ्ग शाहले जानकारी दिए ।
यसअघि पार्टीको पहिलो बैठकले महाधिवेशन हुन बाँकी भ्रातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन ६ महिनाभित्र गर्न निर्देशन दिएको थियो । पार्टीको निर्देशनपछि भ्रातृ संस्था नेपाल तरुण दल र नेपाल महिला सङ्घले भदौमा महाधिवेशन गर्ने निर्णय गरिसकेका छन् ।
अबको १० दिनभित्र संघको केन्द्रीय समितिको बैठक गरी महाधिवेशनको मितिका बारेमा निश्चित गरिने कर्णले जानकारी गराए ।
सभापति देउवाले आजै संघ हेर्ने निर्देशक समितिको संयोजकको जिम्मेवारी डा प्रकाशशरण महतलाई दिएका छन् ।
यसअघि सो जिम्मेवारी तत्कालीन महामन्त्री प्रकाशमान सिंहले सम्हालेका थिए ।
पार्टीको महत्वपूर्ण भ्रातृ संस्था नेविसंघको महाधिवेशन नौ वर्षदेखि हुन नसक्दा पार्टीको युवा वर्गमा ठूलो असन्तोष बढेको छ ।