समाचारआइतबार, बैशाख १९, २०७३
‘श्रमिक दिवस अर्थात सरकारी विदाको दिन’
आज मे १, अन्तर्राष्ट्रिय श्रमिक दिवस । विश्वले श्रमिक दिवस मनाइरहेका बेला दाङका ऋषिराज चौधरी कोहलपुरस्थित ग्रिल उद्योगमा फलाम काटिरहेका थिए ।
९ वर्षदेखि ग्रिल उद्योगमा काम गरिरहेका उनले भने, “छोरीको स्कुल छुट्टी रहेछ, त्यसैले थाहा भयो दिवस।”
कुनै पनि संगठनमा आवद्ध नरहेका चौधरी श्रमिक दिवसको विदा सरकारी कर्मचारीलाई मात्रै हुने भन्दै थप्छन, “मैले अहिले काम नगरे बेलुका घरमा खाना पाक्दैन, दिवसले मलाई के दिन्छ र ?”
उनले एक दिन काम नगरे पनि ज्याला पाइने समय आउला र ? भन्ने प्रश्न गरे । भने, “त्यस्तो कुनै दिन आउला र, गरीबले कामै नगरी खान पुग्ने ?”
२०५१ सालबाट जुत्ता सिलाउँदै आएका कोहलपुर २ का नन्दे सार्की (६७) लाई पनि श्रमिक दिवस भनेको थाहा छैन ।
विगत २२ वर्षदेखि यही पेशा गर्दै आएका उनले कहिल्यै पनि श्रमिक दिवस मनाएका छैनन् । सदा झैं उनी कोहलपुरको चौतारोमा जुत्ता सिउँदै गरेका भेटिए ।
“पढ्न लेख्न पाइएन्, कसैले भने पछि थाहा हुने हो” उनले भने, “के आज काम गर्न पाइँदैन र ?”
इँटा बोक्ने, बालुवा चाल्ने, गिट्टी फोड्नेदेखि कृषि मजदुरहरु सबैले आ–आफ्नो काम गरिरहेकै छन्, श्रमिक दिवस किन भन्ने थाहा छैन उनीहरुलाई ।
कोहलपुरमा घर बनाइरहेका नौवस्ताका श्यामलाल चौधरीले श्रमिक दिवसबारे आफूलाई थाहा नभएको भन्दै थपे, “यो दिवस मनाउँदा हाम्रो दुख मेटिन्छ र ?”
दिवस मनाए पनि नमनाए पनि काम अनुसारको ज्याला पाइने र गरिखाने वातावारण भइदिए मात्रै पनि श्रमिकको ठूलो समस्या समाधान हुने उनको भनाई छ ।
“२० वर्ष भयो अरुका ठूल्ठूला महल बनाएँ, आफू भने माटोको झुपडीमा छु । मैले दिनभर गरेको श्रमले मेरो परिवारलाई सामान्य सुविधा दिन सक्ने दिन आइदियो भने यो दिवसको सार्थकता हुन्छ,” उनले भने ।
कोहलपुर– ११ की मुन्नी चौधरी (३०) नाला निर्माणका लागि इट्टा फुटाइरहेकी भेटिइन् । ६ वर्षदेखि दैनिक ज्यालादारको काम गरिरहेकी उनले ‘दिवस’ भनेको सरकारी कर्मचारीले काम नगर्ने दिन भन्ने बुझेकी रहिछन् ।
यद्यपी बाँके र कोहलपुर क्षेत्रमा श्रमिक दिवसबारे कार्यक्रम नभएका भने होइनन् । आज बाँकेमा राजनीतिक आस्थाका अधारमा खुलेका विभिन्न मजदुर संगठनहरुले छुट्टाछुट्टै कार्यक्रम गरे ।
मजदुरका हक–अधिकारका चर्का भाषणबाजी भए । तर, सामान्य श्रमिकहरुका लागि भने यो भाषणबाजी ‘हर्ष न विस्मात’ भयो ।
एमाले निकट मजदुर संगठन जिफन्टका भेरी कर्णाली अध्यक्ष पूर्ण केसी आफूहरु निर्माण मजदुरहरु समक्ष पुग्न नसकेको बताउँछन् ।
“हामी त्यस्ता मजदुरहरु समक्ष पनि जाने प्रयास गरिरहेको छौं,” उनले भने ।
श्रमिक दिवसमा भाषण र कार्यक्रम गर्नेहरु सुकिला–मुकिला मात्रै देखिने गरेको बताउने श्रमिकहरु भने उनीहरुले आम–श्रमिकको पीडा बुझ्नै नसक्ने बताउँछन् ।
-केशव राना, बाँके