समाचारआइतबार, बैशाख १९, २०७३

अख्तियारले मौलिक अधिकार खोस्योः नागरिक अगुवाहरु

हिमालखबर

तस्वीर: बिक्रम राई

तस्वीर: बिक्रम राई

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिकको मौलिक अधिकार खोसेको भन्दै नागरिक अगुवाहरुले काठमाडौंको वीरअस्पताल अगाडि विरोध प्रदर्शन गरेका छन् ।

१९ वैशाख दिउँसो वीरअस्पताल अगाडि आयोजित नागरिक धर्ना कार्यक्रममा नागरिक अगुवाहरुले पत्रकार कनकमणि दीक्षितलाई गिरफ्तार गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुलुकमा ‘मौन संस्कृति’ लाद्न खोजेको भन्दै आपत्ति प्रकट गरे ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्व सभापति शिव गाउँलेले अख्तियारले आफूले पाएको संवैधानिक अधिकार वदनियतपूर्ण रुपमा प्रयोग गरेर नागरिकहरुमा त्रास फैलाएकाले आफूहरु सडकमा आउन वाध्य भएको बताए ।

उनले बन्द भइसकेको साझा बस सुचारु हुनुले मात्रै पनि अख्तियारले दीक्षितमाथि लगाएको आरोप झुठ्ठा भएको प्रस्ट हुने बताए । भने,   “राजधानीका सडकमा गुड्ने साझा बसहरु मात्रै पनि अख्तियारलाई जवाफ हुन् ।”

उनले नागरिकहरु भय र त्रासमा बस्न नसक्ने र कसैले त्यसो गर्न खोजे नागरिकस्तरबाट प्रतिरोध हुन्छ भन्ने सन्देश पनि आफूहरु सडकमा उत्रनु परेको बताए ।

“हामीले हाम्रो संविधानमार्फत बलिया र जनताप्रति साँच्चिकै उत्तरदायी संवैधानिक निकायको परिकल्पना गरेका छौं, तर एउटा संवैधानिक निकायले जनताको स्वतन्त्रतामाथि बलपूर्वक हस्तक्षेप गरेकाबेला नागरिकले अन्य  संवैधानिक निकाय संसद र न्यायालयबाट न्याय पाउने आशा राखेका छन् , हामी त्यसमा विश्वस्त छौं,” गाउँलेले भने ।

मुलुकमा धेरै खालका निरंकुशताविरुद्ध आन्दोलन गरिसकेका नागरिकहरुलाई अख्तियार प्रमुख लोकमानसिंह कार्कीको धाकधम्की सह्य नहुने बताएका थिए ।

तस्वीर: बिक्रम राई

तस्वीर: बिक्रम राई

नेपाल बार एशोसिएसनका पूर्व महासचिव सुनिल पोखरेलले अख्तियारको कार्वाहीले लोकतन्त्रमा कानूनको शासनको उपहास गरेको बताए । उनले अख्यितार अहिले कानून तोडेको, निरंकुशता लाद्न खोजेको र अभिव्यक्ति स्वतन्त्रतामाथि नै आक्रमण गरेको भन्दै विरोध गरे ।

त्यस्तै मानवअधिकारकर्मी चरण प्रसाइँले अख्तियारले हिरासतमा लिएका दीक्षितलाई आफ्ना कानून व्यवसायीसँग समेत भेट्न नदिएर व्यक्तिको मानवअधिकार हनन् गरेको बताए । व्यक्तिको मौलिकहक प्रयोग गर्न नदिएर संविधानको उल्लंघन गरेकाले आफूहरु सडकमा आउन वाध्य भएको बताए ।

अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई व्यवस्थापिका सं‌सदले  महाभियोग लगाउनुपर्ने सहभागी नागरिकहरुको माग थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>