समाचारआइतबार, बैशाख १९, २०७३
फोरम लोकतान्त्रिकको महाधिवेशन, शीर्ष नेताहरु विराटनगर जाँदै
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदारले पार्टीको महाधिवेशनबाट लोकतान्त्रिक विधिमा आधारित पार्टीको विधान बन्ने बताएका छन् ।
पार्टीको २० वैशाखदेखि तीन दिनसम्म विराटनगरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा गच्छदारले उद्घाटनसत्रमा नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपा नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाका साथै विभिन्न राजनीतिक पार्टीका नेता सहभागी हुने जानकारी गराए ।
बन्दसत्रमा विधान पारित हुने र पार्टीको नाम परिवर्तन गर्ने कि नगर्ने भन्ने विषयमा छलफल हुने पनि उनले बताए ।
पार्टीको यो प्रथम महाधिवेशनमा मुलुकभरबाट दुई हजार ५०० प्रतिनिधि र ५०० पर्यवेक्षकको सहभागिता रहने छ ।
विराटनगरको शहीद रङ्गशालामा मध्याह्नदेखि शुरु हुने महाधिवेशनको उद्घाटनमा भारतबाट भारतीय राष्ट्रिय काँग्रेस, भारतीय जनता पार्टी, जनता दल (युनाइटेड) बहुजन समाजवादी पार्टी, झारखण्ड पार्टीका वरिष्ठ नेता पनि सहभागी हुने निश्चित भइसकेको उनले जानकारी दिए ।
पार्टी अध्यक्ष पदमा प्रतिस्पर्धाको सम्बन्धमा पत्रकारको जिज्ञासामा नेता गच्छदारले लोकतान्त्रिक विधिअनुसार प्रतिस्पर्धा गर्ने अधिकार रहेको तर, सर्वसम्मत निर्णय हुने विषयमा आफू विश्वस्त रहेको बताएका थिए ।
पार्टीले समावेशी सिद्धान्त स्वीकार गरेको भन्दै उनले महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चितता हुने र पहाडी समुदायका लागि विशेष व्यवस्था गरिने जानकारी गराए ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
