अन्तर्वार्ता/विचारसोमबार, बैशाख २०, २०७३

नागरिक समाज होइन, नागरिक सञ्जाल

कनकमणि दीक्षित

केही क्षेत्र मात्र नभई पूरै मुलुक दुष्ट सिन्डिकेटको नियन्त्रणमा जाँदैछ, यसलाई परास्त गर्न नयाँ र जागरुक नागरिक सञ्जाल चाहियो ।

वीर अस्पतालमा उपचाररत् कनकमणि दीक्षित पूर्व राष्ट्रपति रामवरण यादवसँग भेट गर्दै ।

वीर अस्पतालमा उपचाररत् कनकमणि दीक्षित पूर्व राष्ट्रपति रामवरण यादवसँग भेट गर्दै ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा मलाई वीर अस्पतालको पुरानो आईसीयूमा उपचार गराउन लेराउँदा गंगामाया अधिकारीको छेउकै शैय्यामा राखिएको रहेछ । गंगामाया– जसको आमरण अनशनमा बसेका श्रीमानलाई बचाउन मानवअधिकारका क्षेत्रबाट म र साथीहरू लागिपरेका थियौं, तर सकेनौं । न्याय, कानूनी शासन र जवाफदेहिता स्थापनाको लडाइँमा गंगामाया आफू पनि निरन्तर लागिरहनुभएको छ । उहाँ २४ जेठ २०६१ मा चितवनमा मारिएका आफ्ना छोरा कृष्णप्रसादका हत्याराहरू कानूनको दायरामा आएको हेर्न चाहनुहुन्छ ।

अख्तियारको हिरासतमा शैय्या नं. १६ मा रहँदा मैले ड्यारन एसमोग्लु र जेम्स ए रबिन्सन्को संयुक्त कृति ‘ह्वाई नेशन्स फेलः द ओरिजिन अफ पावर, प्रस्पेरिटी एण्ड पोभर्टी’ पढें र अन्यत्रको तुलनामा हाम्रो समाजको अवस्था धेरथोर पहिल्याउन सकें । यस कृतिको सार हो– समाज अग्रगमनको लागि समावेशी नागरिक सञ्जालको निर्माण आवश्यक छ जसले आविष्कार, उद्यमशीलता तथा समृद्धिको लागि लोकतान्त्रिक स्थायित्वको वातावरण बनाउँछ ।

संवेदनशील मोडमा पुगेको समाजको अग्रगमन पूर्वनिर्धारित हुन्न र बृहत् नागरिक सञ्जाल निर्माण हुनु वा नहुनुबाट समाज कि लोकतन्त्र–समृद्धिको बाटोमा जान्छ कि त शक्तिका दलाल र आसेपासे पूँजीवाद (क्रोनी क्यापिटलिजम्) द्वारा बर्बादीतिर ।

Kanak Dixit_1.inddअस्पताल शैय्यामा बसेर यी सब विषयहरूमाथि घोत्लिंदा म के भन्न सक्छु भने, नेपाललाई प्राप्त प्राकृतिक स्रोत–साधनको बुद्धिमत्तापूर्ण दोहनबाट नेपाली धनी हुन सक्छन्, मात्र चाहिएको छ– लोकतान्त्रिक राजनीतिक स्थायित्व । २०४६ को घुम्ती पार गरेपछि हामीले लोकतान्त्रिक स्थायित्वको बाटो समात्नुपर्ने थियो, तर आजसम्म पनि लड्नुपरेको छ; र दुर्भाग्य, विकासका चिन्तनहरू छाडेर लोकतन्त्र–बहुलवादको रक्षा तथा प्राप्तिको लडाइँमा नै रहनुपरेको छ ।

यो लडाइँमा हामीले जहिल्यै खुला विचार र तर्कहरूको हतियार प्रयोग गरेका छौं, गोप्य गठजोडको योजना र अस्त्र होइन । माओवादीहरूले लोकतन्त्र ध्वस्त पार्न हिंसाको अस्त्र प्रयोग गर्दा हामीले खुला विचार र तर्कबाट प्रतिकार ग¥यौं । दरबार हत्याकाण्डले समाजको जग हल्लाइदिंदा निडर भई स्थिति सम्हाल्न सघायौं । त्यही बीचमा ज्ञानेन्द्रले निरंकुश राजतन्त्र पुनस्र्थापनाको मूर्खतापूर्ण प्रयास गरे । उनको दुष्प्रयासलाई सहज रूपमा पराजित गरेका हामीले द्वन्द्वकालका ज्यादतीका लागि राज्य र माओवादी दुवै पक्षलाई जवाफदेही बनाउने लडाइँ जारी राख्नुपरेको छ ।

माओवादी खुला राजनीतिमा आएपछि पनि हामीले तिनको एकल पार्टी अधिनायकवाद लाद्ने चेष्टा विरुद्ध ज्यान छाडेर प्रतिकार गर्नुप¥यो । सँगसँगै हामीले पश्चिमा ‘डिप्लो–डोनर’ हरूलाई पनि हाँक दिनुपर्‍यो, जो नेपाली समाजको विशेषता नै नबुझी हाम्रो ‘सोसल इन्जिनियरिङ’ गर्न उद्यत रहे । चीन र अझ अचम्म लाग्दो गरी भारतमा लोकतन्त्र विरोधी राजनीति हावी भइरहँदा हामी नेपालको खुला लोकतान्त्रिक समाजको प्रतिरक्षामा झनै लाग्नुपरेको छ ।

पछिल्लो पटक नेपाल भूराजनीतिक पासोमा पर्दैछ भन्ने बुझेकाहरु भारतको सूक्ष्म व्यवस्थापन विरुद्ध लड्यौं, त्यसमा पनि खास गरेर उसको खुफियातन्त्रको दायित्वविहीन तर खुला गतिविधिले निम्त्याएको परिणाम विरुद्ध । राजनीतिक शीर्षस्थको लाचारीसामु बोल्नुपर्ने अभिभारा पनि हामीमा नै आयो । ती कथित लोकतान्त्रिक दलहरू विरुद्ध पनि गतिविधि गर्नुपर्‍यो, जसले देशमा कानूनी राज र जवाफदेही स्थापनामा खुला अरुचि देखाउन थाले । माओवादी शीर्षस्थसहित भारतपरस्त सिन्डिकेट राजनीति गर्न थालेका विरुद्ध पनि लड्नुपर्‍यो ।

विकृत संघीयताको बहसले मधेशी नागरिकको हित विपरीत प्रान्त निर्माण गर्न खोज्दा पनि समथरमा चलेको लोकरिझयाइँ विरुद्ध लड्यौं, ‘मधेश विरोधी’ को बिल्ला लगाइदिंदा पनि । हामी नेपालको नयाँ संविधानप्रति असहमति जनाउँदै भारतले गरेको नाकाबन्दीबारे प्रष्ट हुनुपर्छ भन्दै लड्यौं, नेपाली नागरिक र यहाँका निर्वाचित जनप्रतिनिधिहरू आन्तरिक विवाद समाधान गर्न सक्षम छन् भन्यौं ।

Kanak Dixit_1.inddहामी लड्यौं, तर सधैं विजयी भएनौं । नेपालमा नागरिक तथा मानवअधिकारको लागि लड्नेहरूको शक्तिमा पनि ह्रास आइदियो । कोही थाके, कोही अन्यत्र लागे, थोरै बाँकी छौं । नयाँ, जुझरु नागरिक समाजको पर्खाइमा छ भर्खर संविधान निर्माण गरेका मुलुक र जनता । संविधान त बन्यो, तर यसलाई कार्यान्वयन गर्न सकिएन भने हाम्रो शक्ति अझ् क्षीण भएर, स्थिति अझ् बिग्रिएर जानेछ । नागरिक समाजको कामै आवाज उठाउने हो– मौनतामा जानुहुँदैन ।

नागरिक समाज ब्यूँताउने कुरा गर्दा आजसम्मको असफलता पनि हृदयङ्गम गर्नुपर्छ । मेरो विचारमा सबभन्दा ठूलो असफलता भनेको नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारलाई नन्दप्रसाद र गंगामाया अधिकारीको न्यायको मागको सम्मान गराउन नसक्नु थियो । ६ असोज २०७१ मा भएको नन्दप्रसादको मृत्यु नागरिक समाजको कलंक हो । र आजै पनि हामी मौन छौं, जब उनको सद्गत समेत हुनसकेको छैन, शव अझै शिक्षण अस्पतालमा छ ।

हामी ‘नागरिक समाज’ भनिनेहरूको अर्को ठूलो असफलता राजनीतिक दलहरूलाई स्थानीय निकाय निर्वाचन गर्न बाध्य पार्ने गरिको दबाब सिर्जना गर्न नसक्नु हो । यो असफलताले १२ वैशाख २०७२ को महाभूकम्पपछिको उद्धार, राहत र पुनःनिर्माणमा ठूलो असर पुर्‍यायो । न त हामीले सरकारलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरण बनाएर चलायमान पार्ने दबाब नै दिन सक्यौं ।

बौद्धिकहरूमा होशियारीको अभाव हुँदा नेपालका समुदायहरूमा विभाजन बढ्यो । जुझारुहरू तलबी र पढैयाहरू ‘कन्सल्ट्यान्ट’ बन्न पुगेको देशमा समुदाय–समुदाय विभाजित बनाउने काम भयो । पहाडे बाहुन जातिको राज्य संयन्त्रमा प्रतिनिधित्वलाई यथोचित रूपमा घटाउँदै अधिक भन्दा अधिक समावेशी संरचनाहरू निर्माणका लागि राज्यलाई खबरदारी गर्न असफल हामी नागरिक समाजका सदस्य हौं ।

बहुलवादी समाजका लागि खतराहरू बढेकै गतिमा नागरिक समाजको दायित्व पनि चुलिन पुगेको छ, तसर्थ ‘नयाँ नागरिक समाज’ चाहियो, जसले चुस्तताका साथ बहुलवाद, लोकतन्त्र, स्थायित्व जोगाउन विभिन्न तप्कालाई जोड्ने सञ्जाल बनाओस् । अब उर्लिंदो विकृतिहरूसँग लड्न राष्ट्रिय जीवनका हर क्षेत्रका नागरिकले यथाशीघ्र मोर्चाबन्दी गर्नुको विकल्प छैन । यसका लागि नागरिक समाज मात्र नभई नागरिक सञ्जाल चाहिएको छ ।

सबै नेपाली मिलेर चुनौती दिन सकेकैले ज्ञानेन्द्रको अधिनायकवादी ‘डिजाइन’ पराजित भयो । १० वर्षपछि आज त्योभन्दा खतरनाक ‘डिजाइन’ देखिएको छ । ज्ञानेन्द्रको एक्लो रथ थियो, रोक्न सकियो, तर आज लोकतान्त्रिक स्थायित्वको ठाउँमा पुग्नै नदिने दुष्टहरूको सञ्जाल नै तयारीमा छ । यो गठजोडमा सहभागी छन्, राज्यका महत्वपूर्ण निकायका प्रमुखदेखि दुईनम्बरी व्यापारी/व्यवसायी, वर्तमान र पूर्व कर्मचारी तथा प्रभावशाली राजनीतिज्ञहरू । नेपाललाई सिन्डिकेट बनाएर ‘आसेपासे पूँजीवाद’ को बाटोमा हिंडाउन वैदेशिक स्वार्थसँग सहकार्य गरिरहेको छ, यो गठजोड ।

ज्ञानेन्द्र विरुद्ध लड्न सजिलो थियो, उनीसँग सत्ताको शक्ति भए पनि ‘नेटवर्क’ नभएकोले । आज पन्पिएको गठजोडले दल, कर्मचारीतन्त्र, उद्योग–व्यापारदेखि मिडियासम्मलाई वशीभूत पारेको छ । यस्तो दुष्ट सञ्जालले नेपाली समाजमा अशुभको बादल लगाइसक्दा पनि हामी केही गर्न अक्षम रह्यौं, यो गाह्रो कुरा ।

शुभसंकेत के भने, नेपाली समाजको कुभलोका लागि जतिसुकै ठूला ‘डन’ को वरिपरि गठजोड बने पनि त्यो असफल हुनेछ, किनकि देशका सबै कलपुर्जामा तिनको नियन्त्रण पुग्दैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...