थप समाचारसोमबार, बैशाख २०, २०७३
मुगु: आगो, धुवाँ र तुँवालो जनजीवन कष्टकर
मुगु सदरमुकाम गमगढीदेखि १० मिनेटको दूरीमा रहेको भदाली सामुदायिक वनमा आगलागी भई सदरमुकाम वरिपरि रहेका सात गाविसमा धुवाँ र तुवाँलो फैलिएको छ ।
श्रीनगर गाउँका वडा नं १ देखि ४ छत्यालवाडाका गाउँलेले आगो निभाउने प्रयास गरिरहे पनि निभाउन सकेका छैनन् । नेपाल प्रहरी र नेपाली सेनाको टोली पनि आगो निभाउन खटिएका छन् तर नियन्त्रणमा आउन सकेको छैन ।
दुई वर्षअघि उजाड बनेको यो वन महिलाले संरक्षणको जिम्मा लिएपछि जिल्लाकै नमुना वन बनेको थियो । गत मङ्सिरमा जिल्ला वन कार्यालयले यो वनलाई जिल्लाभरिका सामुदायिक वनमध्ये उत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको थियो ।
सदरमुकामकै शोभाका रुपमा रहेको यो वनमा भीषण आगलागी भएपछि सबै सरोकारवाला चिन्तित भएका छन् । भदाली सामुदायिक वनकी अध्यक्ष चुच्या मल्ल महिलाले गरेका लगानी बालुवामा पानी सरह भएको भन्दै दुखेसो पोखिन् । वनमा चारैतिरबाट आगो लाग्दा नियन्त्रणमा आउन ल्याउन कठिन भइरहेको छ ।
उक्त वनमा लागेको आगोको धुवाँले गाउँ पूरै छोप्दा बालबालिका तथा वृद्धवृद्धालाई श्वास प्रश्वासमा समस्या भएको छ । श्रीनगर–३ का ८७ वर्षीय कालीबहादुर मल्ल सास फेर्न गाह्रो हुने र आँखा पिरो हुने समस्या आएको बताउँछन् ।
एक सातायतादेखि मुगुमा कुनै हवाई उडान भएका छैन । बाक्लो धुवाँका कारण रारा विमानस्थलमा हवाई सेवा हुन नसकेको रारा नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
मुगुवासीले तीन दिनयता घाम देखेका छैनन् । रोवा गाविसका घट्टलेख, तल्ललेख, झकोट, रोवा, सालिम गाउँका बासिन्दा सदरमुकाम गमगढी आउन सकिरहेका छैनन् । उनीहरु त्यही भदाली वन भएर सदरमुकाम आउने गर्थे । उक्त वनमा आगो लागिरहेकाले आवतजावतमा समस्या भएको छ ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
