समाचारसोमबार, बैशाख २०, २०७३

सरकारले मनपरि नियुक्ति गरेको भन्दै कांग्रेसद्वारा विरोध

हिमालखबर

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले सत्ता साझेदार र अन्य दललाई वास्ता नगरी एकलौटी र मनोमानी ढङ्गले राजनीतिक, न्यायिक र कूटनीतिक नियुक्ति गरेको भन्दै त्यसको विरोध गरेको छ ।

कांग्रेस संसदीय दलको आज संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले मुलुकमा लामो समयदेखि खाद्य सामग्री र इन्धनको कृत्रिम अभाव हुँदासमेत सरकार मौन बसेको भन्दै त्यसलाई नियन्त्रण गर्न जोडदार माग गरेको छ ।

बैठकले भूकम्प प्रभावित जिल्लामा पुनःनिर्माण र पुनर्वासको कार्यमा ढिलासुस्ती भएको भन्दै यथाशीघ्र पुनःनिर्माणको काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको संसद् मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

कांग्रेसले भोलि वैशाख २१ गते बस्ने व्यवस्थापिका–संसद्को अधिवेशनमा पुनःनिर्माणको कामलाई प्राथमिकताका साथ उठाउने निर्णय गरेको छ ।

त्यस्तै देशभरका जङ्गलमा डढेलो नियन्त्रण हुन नसकेको, त्यसबाट मानवीय तथा भौतिक क्षति पुगेकाप्रति ध्यानाकर्षण गराउँदै काँग्रेसले डढेलो नियन्त्रण गर्न र पीडितलाई उचित राहत दिन सरकारसँग आग्रह गरेको छ ।

बिग्रँदो अन्तर्राष्ट्रिय र कूटनीतिक सम्बन्धलाई सुधार गर्न सरकार गम्भीर नभएको भन्दै कांग्रेसले त्यसप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।

बैठकले आन्दोलनरत मधेस केन्द्रित दलसँग वार्ता गरी संविधान कार्यान्वयन गर्न सरकार उदासिन देखिएको भन्दै त्यसको समाधानका लागि कांग्रेस आफैँले पहल गर्ने निर्णय गरेको सांसद विश्वकर्माले जानकारी दिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>