थप समाचारमंगलबार, बैशाख २१, २०७३
व्यवस्थापिका–संसद्को दोस्रो अधिवेशन शुरु
व्यवस्थापिका–संसद्को दोस्रो अधिवेशन संसद् भवन नयाँ बानेश्वरमा आजदेखि शुरु भएको छ ।
निर्धारित समय बिहान ११ बजे नै प्रारम्भ भएको बैठकमा राष्ट्रपति कार्यालयबाट संसद्को दोस्रो अधिवेशन आह्वान गरिएको सम्बन्धी पत्र सभामुखले वाचन गरेकी थिइन् भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको थियो ।
व्यवस्थापिका–संसद् कार्यसञ्चालनसम्बन्धी नियमावली निर्माणमा दलबीच सहमति भइनसकेका कारण बैठकमा अन्य कार्यसूची समावेश भएनन् ।
संसद्को पहिलो अधिवेशनले नेपालको संविधान, २०७२ लाई जारी गरेको थियो । संविधानको कार्यान्वयन गर्ने सन्दर्भमा पहिलो अधिवेशनले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखको चयन निर्वाचनका माध्यमबाट गरेको थियो । पहिलो अधिवेशन गत फागुन ५ गते अन्त्य भएको थियो ।
संसद्को चालु अधिवेशनले संविधान कार्यान्वयनका लागि आवश्यक सम्पूर्ण ऐनकानुन बनाउने छ । त्यस अतिरिक्त अन्य ४० विधेयक समेत संसद्मा दर्ता रहेका छन् । बजेट अधिवेशनका रुपमा परिचित बर्खे अधिवेशनमा खास गरी आगामी आव ०७३/७४ को सरकारका नीति तथा कार्यक्रम र पूर्वबजेटमाथि सैद्धान्तिक रुपमा प्रारम्भिक छलफल हुनेछ ।
अधिवेशनका क्रममा आगामी आवको सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति मार्फत संसदमा प्रस्तुत गरिने छ । मुलुकको आर्थिक सर्भेक्षण र आगामी आवको आयव्यय (बजेट) को विवरण संविधानमा व्यवस्था भए अनुसार अर्थमन्त्रीले आगामी जेठ १५ गते यसै अधिवेशनमा प्रस्तुत गर्नेछन् ।
यस अधिवेशनका क्रममा यही वैशाख २२ र २३ गते भूकम्पपछिको पुनःनिर्माण तथा डढेलो लगायत समसामयिक विषय र वैशाख २४ र २५ गते पूर्वबजेटमाथि छलफल हुनेछ । वैशाख २६ गते सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्न दलबीच सहमति भइसकेको संसद् सचिवालयले जनाएको छ ।
संसद्को अर्को बैठक २२ वैशाख बिहान ११ बजे बस्नेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
