टिप्पणीमंगलबार, बैशाख २१, २०७३
भयको राज्य
जब संवैधानिक निकाय नै अख्तियार दुरुपयोग गर्दै व्यक्तिगत प्रतिशोधमा उत्रन्छ, त्यहींबाट मौनताको संस्कृति शुरु हुन्छ।
पहिले तिनीहरू समाजवादीहरूलाई लिन आए, र म बोलिनँ किनकि, म समाजवादी थिइनँ।
पछि तिनीहरू ट्रेड युनियनकाहरूलाई लिन आए, र पनि म बोलिनँ किनकि, म ट्रेड युनियनवादी थिइनँ।
अनि पछि तिनीहरू यहुदीहरूलाई लिन आए, र पनि म बोलिनँ किनकि, म यहुदी थिइनँ।
अन्ततः तिनीहरू मलाई नै लिन आए।
र, त्यो वेला मेरा लागि बोलिदिने कोही बचेकै थिएन। – मार्टिन निमोलर
जर्मनीमा नाजीको अभ्युदयपछि जर्मन बौद्धिक जमातको मौनतामाथि व्यंग्य गर्दै कवि मार्टिन निमोलरले यो कविता लेखेका थिए। डर र मौनता एकै सिक्काका दुई पाटा भनेझैं अधिनायकवादी शासनका अवयव हुन्। जब कुनै मुलुकमा अधिनायकवाद हावी हुन्छ, त्यहाँ सन्त्रास फैलन्छ र भयले राज्य गर्छ।
जब नागरिकहरू भयभीत हुन्छन्, त्यहाँ मौनताको मुर्दा शान्ति छाउँछ। मौनताको संस्कृति (कल्चर अफ साइलेन्स्) भनिने यस्तो परिस्थितिमा सामान्य नागरिक त परै जाओस् समाजका द्रष्टा र बौद्धिक भनिनेहरू नै मौनता साध्छन्। ‘बिरालोको घाँटीमा कसले पहिले घन्टी बाँध्ने’ भने जस्तै शीतनिद्रा (हाइबरनेसन) जसरी लुकेका उनीहरू अन्ततः बिरालोकै आहारा बन्न पुग्दछन्।
नेपालमा एकसय चार वर्षीय जहानियाँ राणाशासन र तीसवर्षे एकदलीय पंचायतकालमा भयको साम्राज्य हुनु नौलो थिएन। किनभने, त्यो वेला मुलुकमा शिक्षा र चेतनाको पहुँच अत्यन्तै सीमित थियो, विश्वबाटै अलग्गिएको भूराजनीतिक परिस्थिति थियो। ढिलै सही, थोरै मात्र सचेत व्यक्तिहरूले जनताको मौनता भङ्ग गरिदिंदा ती व्यवस्था र शासन इतिहासका गर्तमा भासिन पुगे। तर, देशमा अधिनायकवादी सन्त्रास सकिएन।
२०४६ सालको जनआन्दोनपछिको बहुदलीय शासनव्यवस्थाले बामे सर्दै गर्दा उग्र वामपन्थीहरूले राज्यविरुद्ध सशस्त्र विद्रोह छेडे र सन्त्रासलाई प्रमुख औजार बनाए। २०५२ सालदेखिको एकदशकसम्म देश मौनताको संस्कृतिमा रुमल्लिन बाध्य बन्यो। तर, द्वन्द्वकालको सन्त्रासबीच पनि केही अधिकारकर्मी र सञ्चारकर्मीले मौनता तोड्ने आँट गरे। अनि मात्र, सन्त्रास फैलाउनेहरू विधिको शासन मान्न विवश भए।
देशमा गणतन्त्र आयो। तर, संविधानप्रदत्त वैयक्तिक स्वतन्त्रता र वाक् स्वतन्त्रताको अधिकार घानमा पर्न छाडेन। जसरी राणाशासन वा पञ्चायतकालमा शासक विरुद्ध जाइलाग्नेलाई गाथगद्दी ताक्ने र राज्य विप्लवको बात लगाएर कालकोठरी पुर्याइन्थ्यो, त्यसैगरी न्यायका लागि आवाज उठाउनेहरूका अनुहारमा भ्रष्टाचारको कालो दलिदिने र काला कर्तुतकारीलाई चाहिं दूधले नुहाइदिने प्रवृत्ति मौलाउँदो छ। व्यक्तिगत रिसइबी साध्न संवैधानिक निकायबाटै अधिकार दुरुपयोग हुनु मुलुककै विडम्बना हो। परिणामतः आजको नेपालमा मौनता संस्कृति फरक रूपमा विकसित हुँदैछ।
सुशासन कायम गर्नुपर्ने संवैधानिक निकायका प्रतिशोधका कारण आज सार्वजनिक पदमा बस्नेहरू सन्त्रस्त छन्। देश भ्रष्टाचारको सिन्डिकेटमा नराम्ररी फसिसकेको छ। मानवीय मूल्य र नैतिकताको स्खलन शुरू भएको छ। लाग्छ, आजको देश भ्रष्टहरूले इमानदारलाई नैतिकताको पाठ सिकाउने पाठशाला बन्दैछ। भुईंचालोद्वारा क्षतिग्रस्त संरचना पुनःनिर्माण केही वर्षभित्र होलान् वा नाकाबन्दीबाट थलिएको अर्थतन्त्र केही समयपछि पुनः बौरिएला तर, जुन गतिमा चरित्र र मूल्यको स्खलन भइरहेको छ, त्यसको अन्तिम गन्तव्य भनेको अराजकता हो।
अहिले नागरिक अधिकार, युद्धअपराध, सुशासन र नाकाबन्दी विरुद्ध आवाज उठाउनेहरूलाई जसरी निशानामा पारिंदैछ, त्यसले सत्यका लागि आवाज उठाउन र इमानदारीपूर्वक कर्तव्यपालना गर्न दश चोटि सोच्नुपर्ने परिस्थिति उत्पन्न गराएको छ। तर, यसो भन्दैमा बोल्न छाड्नु हुन्न। इतिहासका अनेकौं कालखण्डमा सन्त्रासका कालो बादललाई सत्यको आकाशभेदी स्वरले चिरे जस्तै सबै न्यायप्रेमी नेपाली एक हुनु जरूरी छ। सन्त्रासको औषधि बोली हो भन्ने कुरा वर्षौं पहिले दक्षिणएशियाका विख्यात कवि तथा अधिकारकर्मी फैज अहमद फैंजले ‘बोल्’ कविताका हरफमार्फत लेखेका छन्।
बोल, तिम्रा ओठहरू स्वतन्त्र छन्,
बोल, तिम्रो जिब्रो अझै तिमीसँगै छ
…तिमी ठडिएको शरीर अझै तिम्रा हुन्
बोल, तिम्रो जीवन अझै पनि तिम्रा हुन्।