थप समाचारमंगलबार, बैशाख २१, २०७३
‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार’ वात्स्यायनलाई
नेपाल पत्रकार महासंघले प्रदान गर्ने ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार’ पोखराका वरिष्ठ कार्टुनिस्ट दुर्गा बराल (वात्स्यायन)लाई प्रदान गरेको छ ।
महासङ्घको चितवनमा जारी साधारणसभामा राष्ट्रपति विद्यादेवी भण्डारीले वात्स्यायनलाई उक्त पुरस्कार प्रदान गरेकी छन् । पुरस्कारको राशि एक लाख रुपैयाँ छ ।
त्यसैगरी महासङ्घका पूर्वकेन्द्रीय सदस्य स्व गौरी कठायतको स्मृतिमा स्थापित १५ हजार रुपैयाँ राशिको ‘गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार’ तुलाराम पाण्डे (कालीकोट) र रु १० हजार राशिको ‘उमा सिंह राष्ट्रिय पत्रकारिता पुरस्कार’ गणेश चौधरी (कैलाली) लाई राष्ट्रपति भण्डारीले प्रदान गरिन् ।
यस्तै प्रेस स्वतन्त्रता सेनानी सम्मानबाट शिवबहादुर कार्की (मोरङ), याम प्रधान (सुनसरी), दिनेश देव (सिरहा), धन लामा (काठमाडौँ), चक्रपाणि नेपाल (काठमाडौँ), चेतबहादुर सिंह (काठमाडौँ), लालकुमार भट्टराई (नवलपरासी), बद्रीविनोद प्रतीक (कास्की), नारायण भट्टराई (कास्की), झपेन्द्र वैद्य (प्यूठान) र चिरञ्जीवी अर्याल (सुर्खेत) लाई सम्मान गरिएको छ ।
त्यसैगरी उत्कृष्ट शाखामा चितवन र प्रतिष्ठानमा कम्युनिकेसन कर्नरलाई सो अवसरमा सम्मान गरिएको थियो ।
कार्यक्रममा यसै वर्षबाट पत्रकार महासङ्घ चितवन शाखाले स्थापना गरेको सुदश्री मैयादेवी पत्रकारिता पुरस्कारबाट चितवन शाखाकी कार्यसमिति सदस्य शान्ता अधिकारीलाई पुरस्कृत भइन् । सो पुरस्कारको राशि १० हजार रुपैयाँ छ ।
कार्यक्रमकै अवसरमा पूर्वसांसद एवम् समाजसेवी मैयादेवी श्रेष्ठले पत्रकारिता पुरस्कार कोष स्थापनार्थ १० लाख एक हजार १११ रुपैयाँ प्रदान गरिन् ।
साधारणसभामा महासङ्घका एक हजार ६५१ पार्षद छन् । साधारणसभा विधानसभा पनि हुने भएकाले साधारणसभामा महासंघलाई सङ्घीय ढाँचामा लैजाँदै अझ बढी समावेशी, श्रममैत्री हुने गरी सङ्गठनको पुनः संरचना सहितको विधान संशोधन प्रस्ताव आजै पेस गरिँदै छ ।
पेसागत र श्रमजीवी पत्रकारको पेसागत तथा भौतिक सुरक्षासम्बन्धी विशेष प्रस्तावमाथि समेत साधारणसभामा छलफल गरिने कार्यक्रम छ ।
हाल महासङ्घका ७४ शाखा, ४२ प्रतिष्ठान, १० एसोसिएट र सात विदेशी शाखा रहेका छन् । देशभरका पत्रकारको सङ्ख्या १० हजारभन्दा माथि छ । मस्यौदा छलफलका लागि सङ्घ, सङ्गठनसहित शाखा, प्रतिष्ठान र एसोसियट शाखामा पठाई सकिएको महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले बताउनुभयो । महासङ्घले आज साँझ अबेरसम्ममा बन्दसत्रसमेत सम्पन्न गर्ने तयारी गरेको छ ।
रासस