अर्थ/बजारमंगलबार, बैशाख २१, २०७३
देशको आर्थिक वृद्धिदर ०५८ साल यताकै न्यून
केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर शुन्य दशमलव ७७ प्रतिशतमात्र रहने प्रक्षेपण गरेको छ ।
सरकारले गत १० मंसीरमा श्वेतपत्र जारी गरी मुलुकको आर्थिक वृद्धि २ प्रतिशत हुने दाबी गरेको थियो । त्यस्तै, गत ३ मंसीरमा राष्ट्र ब्यांकले आर्थिक वृद्धिदर ऋणात्मक हुने दाबी गर्दै प्रतिवेदन सार्वजनिक गरेको थियो । तर, विभागले दुवै दाबी गलत सावित गर्दै २१ वैशाखमा आर्थिक वृद्धिबारे नयाँ प्रक्षेपण सार्वजनिक गरेको हो ।
यो आर्थिक वृद्धि आर्थिक वर्ष २०५८/०५९ यताकै न्युन हो । माओवादी हिंसासँगै संकटकाल लागेको उक्त आर्थिक वर्षमा आर्थिक वृद्धि दर शून्य दशमलव १६ प्रतिशतमात्र थियो ।
एशियाली विकास ब्यांक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १ दशमलव ५ प्रतिशत रहने प्रक्षेपण गरेको थियो भने विश्व ब्यांकले विश्व ब्यांकले आर्थिक वृद्धिदर १ दशमलव ७ प्रतिशत रहने प्रक्षेपण गरेको थियो ।
अन्तराष्ट्रिय मुद्रा कोषले चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धि शुन्य दशमलव ५ प्रतिशत रहने दाबी गरेको थियो । विभागले आज सार्वजनिक गरेको तथ्यांकले यी सबै दाबी गलत सावित गरिदिएको छ ।
“अरु संघ संस्थाले मोडेले बेस्ड भएर आर्थिक वृद्धि हिसाव गर्छन्, तथ्यांक विभागले तथ्यांकमा आधारित रहेर आर्थिक वृद्धिको हिसाव निकाल्छ,” विभागका महानिर्देशक सुमन अर्यालले भने, “त्यसकारण हामीले सार्वजनिक गरेको तथ्यांक आधिकारिक हो ।”
विभागका अनुसार, भुकम्प, नाकाबन्दी र तराई मधेश क्षेत्रमा भएको आन्दोलनका कारण आर्थिक वृद्धिमा असर गरेको हो ।
विभागको प्रक्षेपणले गत आर्थिक वर्षको तुलनामा प्रति व्यक्ति आम्दानी रू. ३ हजार ८४२ ले वृद्धि भएर रू. ८० हजार ९२१ पुगेको छ । गत आर्थिक वर्ष प्रति व्यक्ति रू. ७७ हजार ७९ थियो ।
तर, अमेरिकी डलरका हिसावले भने प्रति व्यक्ति आय गत आर्थिक वर्षको तलुनामा अमेरिकी डलर ९ घटेको छ । गत आर्थिक वर्ष प्रतिव्यक्ति आय अमेरिकी डलर ७७५ थियो भने चालु आर्थिक वर्ष अमेरिकी डलर ७६६ मात्र हुनेछ ।
विभागको प्रक्षेपण अनुसार चालु आर्थिक वर्ष कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको ३१ दशमलव १९ प्रतिशत योगदान रहने छ भने भने औद्योगिक क्षेत्रको कूल गार्हस्थ उत्पादन वृद्धि दर ९ दशमलव ८६ प्रतिशतले घट्ने छ ।
प्रक्षेपण अनुसार चालू आर्थिक वर्ष मुलुकको अर्थतन्त्रको आकार करिब रू. २० खर्ब ७ अर्ब २७ करोड पुग्नेछ । गत वर्ष अर्थतन्त्रको आकार करिब रू. १८ खर्ब ८९ अर्ब ४१ करोड थियो ।