समाचारबुधबार, बैशाख २२, २०७३
दाहाल नेतृत्वमा सरकार बने आपत्ति छैनः राप्रपा अध्यक्ष राणा
राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति शम्शेर राणाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सहमतिको सरकार बनाउँदा आफ्नो दललाई कुनै आपत्ति नरहने बताएका छन् ।
रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै राप्रपा अध्यक्ष राणाले दाहालको नेतृत्वमा सरकार बनाउन आफ्नो समर्थन रहे पनि नरहेपनि केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार भने ढल्ने निश्चित भएको दाबी गरे ।
सरकारलाई दिएको समर्थन फिर्ता लिने र नयाँ सरकारका लागि कसको समर्थन गर्ने भन्ने बारे पार्टीका प्रमुख तीन नेता र कार्य सम्पादनसमितिको बैठक बसेर ठोस निर्णय गर्ने उनले स्पष्ट पारे ।
भुकम्पपछिको पुनर्निर्माण र नाकाबन्दीका बेलाको आपूर्ति ब्यवस्थाको विषयमा जुद्ध शम्शेर र मरिचमान सिंहले गरे जति पनि काम गर्न वर्तमान सरकारले नसकेको आरोप लगाउँदै राणाले अहिलेको सरकार मुलुकका कुनै पनि समस्या समाधानमा लचिलो नभएको आरोप लगाए ।
उनले भने, “पुनःनिर्माणमा यो सरकार जुद्ध शम्शेर भन्दा अदक्ष देखियो, मरिचमान सिंहले १३ महिनासम्म नाकाबन्दी झेल्दा जहाजबाट तेल ल्याए तर, यत्रो कालोबजारी भएन । नाकाबन्दी अन्त्य भएको दुई महिना वित्दा पनि अभाव जारी नै छ । यो भन्दा दयनीय सरकार अरु के हुन सक्छ ?”
राणाले मधेशको समस्या समाधान गर्न सरकार लचिलो नभएको भन्दै वार्तामा ल्याएर समस्या समाधान गर्न सरकार असफल भएको टिप्पणी गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
