समाचारबुधबार, बैशाख २२, २०७३

दाहाललाई सरकारबारेको निर्णयमा पुनः विचार गर्न थापाको आग्रह

हिमालखबर

उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले वर्तमान सरकारको विकल्प खोज्ने निर्णयमाथि पुनःविचार गर्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई सुझाव दिएका छन् ।

मिडिया नेपाल मकवानपुरले आज हेटौँडामा आयोजना गरेको पत्रकारसम्मेलनमा बोल्दै अध्यक्ष थापाले भने, ‘‘सरकार परिवर्तन गर्दा राष्ट्रियता कमजोर हुने, राजनीतिक अस्थिरता बढ्दै जाने तथा संविधान कार्यान्वयन कठिन र जटिल हुँदै जाने भएकाले यसमा पुनः विचार गर्न आग्रह गर्दछु ।’’

अध्यक्ष थापाले भूकम्प, मधेश आन्दोलन, भारतद्वारा अघोषित नाकाबन्दीजस्ता विषम परिस्थितिमा बनेको सरकारले आर्थिक विकास र पुनःनिर्माणको काम अघि बढाउने अवस्थामा दाहालले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने वक्तव्य निकाल्नु अप्रत्याशित र अनपेक्षित रहेको बताए ।

उनले वर्तमान सरकार गठनका बेला रोक्न लागिपरिको बाह्य शक्तिले फेरि चलखेल गरेको आरोप लगाए ।

अध्यक्ष थापाले वर्तमान सरकारको ६ महिने कार्यकालमा भएका काम कारबाहीको जश अपजशको भागी हामी सबै हौँ भन्दै देशलाई अस्थिरताबाट जोगाई राष्ट्रिय एकता बलियो बनाएर संविधान कार्यान्वयन र आर्थिक उन्नतितर्फ हामी सबै लाग्नुपर्ने बताएका थिए ।

उनले राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने बैठकले वर्तमान परिस्थितिको समीक्षा गरी पार्टीको धारणा सार्वजनिक गर्ने जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>