समाचारबुधबार, बैशाख २२, २०७३
मोर्चाले कांग्रेसलाई भन्यो, ‘तपाइँहरु अगाडि बढ्नुस्’
नयाँ सरकार गठनबारे नेपाली कांग्रेस र मधेशी मोर्चाबीच भएको छलफलमा मोर्चाका नेताहरुले कांग्रेसलाई ‘अगाडि बढ्न’ भनेका छन् ।
२२ वैशाखमा नेपाली कांग्रेसले नयाँ सरकार गठनका विषयमा मधेश केन्द्रित दलका शीर्ष नेताहरुसँग छलफल गरेको हो ।
बैठकपछि तमलोपा अध्यक्ष महन्त ठाकुरले मधेशका मुख्य मुद्दाहरुको सम्बोधन सहित समसामयिक राजनीतिक विषयमा कांग्रेससँग छलफल भएको बताए ।
“समसामयिक सबै विषयमा कुरा भयो, यी समस्या समाधान गर्न सरकार परिवर्तन गर्नुपर्छ भन्ने उनीहरुले (कांग्रेस नेताहरुले)कुरा राखे,” ठाकुरले भने, “हामीले चाहीं मधेशका मुद्दा सम्बोधन नभएसम्म सरकारमा जाँदैनौं, तपाइँहरु अगाडि बढ्नुहोस भनेका छौं ।”
उनले मधेशका मुद्दामा स्पष्ट हुन कांग्रेसलाई आग्रह गरिएको जानकारी दिए ।
फोरम अध्यक्ष उपेन्द्र यादवले ओली नेतृत्वको वर्तमान सरकारले मधेशका माग सम्बोधन नगरेको, कालाेबजारी गर्नेलाई संरक्षण गरेको लगायतका आरोप लगाउँदै सरकार ढाल्नै पर्ने बताए । भने, “यो सरकार ढाल्न हाम्रो समर्थन रहन्छ ।”
कांग्रेस नेता विमलेन्द्र निधीले छलफल सकारात्मक भएको र मधेशी दलहरुको कांग्रेसप्रति ठूलो भरोसा रहेको बताए । उनले भने, “कांग्रेसले गर्ने जुनसुकै निर्णयमा मधेशकेन्द्रित दलहरुले साथ दिने भनेका छ्न् । एमाओवादीसँग पनी गम्भीर र सकारात्मक कुरा भैइरहेको छ ।”
उनले एमाओवादीले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने भन्दै विज्ञप्ति जारी गरेका सम्बन्धमा पनि मधेश केन्द्रित दलहरुसँगको बैठक महत्वपूर्ण रहेको बताए ।
बैठकमा तमलोपा अध्यक्ष महन्त ठाकुर, सदभावना अध्यक्ष राजेन्द्र महतो, संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु सहभागी थिए ।
त्यसैगरी कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, नेताहरु- सीतादेवी यादव, विमलेन्द्र निधि, चिनकाजी श्रेष्ठ लगायत थिए ।
-कपिल भट्ट, काठमाडौं
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
