समाचारबुधबार, बैशाख २२, २०७३
एमाले रणनीति: सरकार छाड्नै परे बजेट ल्याएर मात्रै
प्रमुख सत्ता साझेदार एमाओवादीले आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन गर्न दलहरूलाई आह्वान गरेपछि एमालेले अविश्वासको प्रस्ताव आए पनि सामना गर्ने रणनीति बनाएको छ ।
प्रतिपक्षी नेपाली कांग्रेसको सहमतिमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व गर्ने गरी छलफल तीव्र पारेपछि एमालेले ‘प्रधानमन्त्रीले त्यत्तिकै राजीनामा नदिने र संसदमा विश्वासको मतका लागि प्रस्ताव पनि नगर्ने’ रणनीति बनाएको हो ।
“पहिले यति चाँडै सरकार परिवर्तनको आवश्यकता किन पर्यो भनेर माओवादीसँग जवाफ खोज्छौं”, प्रधानमन्त्री केपी शर्मा ओलीका एक सल्लाहाकारले हिमालखबरसँग भने,“जसरी पनि सरकार परिवर्तन गरेर अगाडि बढ्ने एमाओवादीको रणनीति देखिएमा हामीले पनि त्यसै अनुसार व्यवहार गर्छौं ।”
उनले एमालेको सहमतिमै राजनीतिक कोर्ष अगाडी बढाउन एमाओवादी तयार भएमा त्यसै अनुसार व्यवहार गर्ने तर कांग्रेस मात्रैको आडमा एमाओवादी अगाडी बढ्न खोजे एमालेले सबै विकल्पको सामना गर्ने बताए ।
आफ्ना कुरा प्रष्ट्याउँदै उनले अगाडि भने,“प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न, विश्वासको मत लिने प्रस्ताव पनि गर्नुहुन्न, अविश्वासको प्रस्ताव दर्ता भएमा त्यसको सामना गर्छौ ।”
अविश्वासको प्रस्तावको प्रक्रिया पुरा हुँदासम्म एक महिना लाग्ने भएकाले त्यसबेलासम्म संसदमा बजेट पेश गरिसक्ने उनले बताए ।
“हामीले प्रस्तुत गर्न खोजेको नीति तथा कार्यक्रम र बजेट रोक्ने कांग्रेस, एमाओवादीको योजना देखियो”, उनी भन्छन्,“अविश्वासको प्रस्ताव दर्ता भएर प्रक्रिया शुरु हुन्जेलमा हामीले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिसक्छौं ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
