थप समाचारबुधबार, बैशाख २२, २०७३

नक्कली प्रमाणपत्रधारी पाइलट पक्राउ

हिमालखबर

तस्वीर: गोपेन राई

तस्वीर: गोपेन राई

आइएस्सीको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी पाइलट बनेको अभियोगमा धनुषा भरतपुर–१ का ३६ वर्षीय विशाल कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोली महाराजगञ्जले ललितपुर महालक्ष्मी नगरपालिका–१० टीकाथली बस्ने कार्कीलाई ललितपुर कुपन्डोलबाट पक्राउ गरेको हो ।

गोमा एअरमा को–पाइलट रहेका कार्कीले अस्कल क्याम्पसको आइएस्सीको नक्कली प्रमाणपत्रका आधारमा फिलिपिन्सको डेल्टा एअरलाइन्सबाट पाइलट कोर्स पूरा गरेको ब्युरोले जनाएको छ ।

कार्कीले भारतमा आइएस्सी अध्ययन गरेको तर उत्तीर्ण नभएपछि नक्कली प्रमाणपत्र बनाएर पाइलट बन्ने आफ्नो सपना पूरा गरेको प्रहरीलाई बयान दिएका छन् ।

ब्युरोका प्रहरी उपरीक्षक तारणी लम्सालले कार्की अस्कल क्याम्पसमा भर्ना नै नभएर त्यहाँबाट उत्तीर्ण गरेको प्रमाणपत्र निकालेको अनुसन्धानका क्रममा खुलेको बताए ।

अभियुक्त कार्कीले फिलिपिन्समा पाइलट कोर्स पूरा गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट व्यक्तिगत इजाजतपत्र सिपिएल ए ४८६ प्राप्त गरेका थिए ।

निजउपर सरकारी छाप दस्तखत कीर्ते ऐनअन्तर्गत आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

पाँच दर्जनभन्दा बढी पाइलटको प्रमाणपत्र छानबिनको दायरामा
ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले पाँच दर्जनभन्दा बढी पाइलटको प्रमाणपत्र बारे ब्युरोले छानबिन गरिरहेको जानकारी दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणसँग समन्वय गरी प्राधिकरणबाट अनुमतिपत्र प्राप्त गरेका बिमान चालकको शैक्षिक प्रमाणपत्र छानबिन भइरहेको उनले बताए ।

सिलवालले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बिमान चालकसमेत विभिन्न वायुसेवामा कार्यरत रहेको भन्ने सूचनाका आधारमा ब्युरोले ‘अपरेशन ह्वाँक’ सञ्चालन गरेको र सोही क्रममा उनी पक्राउ परेको जानकारी दिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>