रिपोर्टबिहीबार, बैशाख २३, २०७३

केयर गिभरः सेवक नै सिकिस्त

सजना बराल

सिद्धि शालिग्राम ज्येष्ठ नागरिक आश्रममा नर्सिङ सेवा दिंदै।

सिद्धि शालिग्राम ज्येष्ठ नागरिक आश्रममा नर्सिङ सेवा दिंदै। तस्वीरहरुः गोपेन राई

चिकित्सा क्षेत्रमा औपचारिक नाम समेत नपाएको ‘केयर गिभर स्ट्रेस’ जटिल समस्या बनेर आएको छ।

केयर गिभरको चार महीने तालीम लिएका १४ जना नेपाली २७ चैतमा काम गर्न इजरायल उडे। पाँच वर्षको श्रम स्वीकृति पाएका उनीहरूले इजरायलमा वृद्धवृद्धा, बालबच्चा, बिरामी र अपांगता भएकाहरूको हेरचाह गर्नुपर्छ।

सुन्दा सहजै लाग्ने यस्तो कामका लागि श्रम तथा रोजगार विभागले ५ फीट उँचाइ, ४५ किलो तौल, न्यूनतम २५ वर्षको उमेर र एसएलसी पास गरेको हुनुपर्ने मापदण्ड तोकेको छ। तर, यस्तो मापदण्ड किन? धेरैले जिज्ञासा राख्ने गरेका छन्।

आठ वर्षयता केयर गिभिङ सम्बन्धी तालीम दिंदै आएका पुकार कायस्थसँग यसको जवाफ छ। उनका अनुसार, अरूको स्याहार गर्नु शारीरिक र मानसिक रूपले असाध्यै गाह्रो काम हो। सेवा दिने मान्छे शारीरिक रूपमा विकसित र तालीमप्राप्त हुन आवश्यक छ।

भक्तपुरमा सञ्चालित सिद्धि शालिग्राम ज्येष्ठ नागरिक आश्रममा ७ वर्षदेखि नर्सिङ सेवा दिंदै आएकी कान्छीमाया बादेको भनाइ पनि कायस्थको जस्तै छ। उनी भन्छिन्, “वृद्धवृद्धा र त्यसमा पनि अल्जाइमर, डिमेन्सिया जस्ता जटिल समस्या भएका वा अरू दीर्घरोगले सताइएका बिरामीको स्याहार गर्दा आफैं शिथिल भइन्छ।”

त्यसबाहेक, कतिपय वृद्धवृद्धा र मानसिक समस्या भएका बिरामीहरू पैसा चोरियो भनेर गन्गन् गर्छन्, कोही भर्खर खाना खाएको भए पनि खानै ख्वाएन भनेर रिसाउँछन्। त्यस्तो अवस्थामा केयर गिभरले ठूलो धैर्य र हिम्मत राख्नुपर्छ। केटाकेटीको हेरचाह पनि उत्तिकै गाह्रो काम हो। काठमाडौंको बालुवाटारस्थित किड्स केयर इन्टरनेशनल प्रिस्कूलकी प्रधानाध्यापक प्रतिमा राई बालबच्चालाई खेलाउन, पढाउन वा क्रियाशील बनाइरहन शिक्षकमा अधिक सहनशीलता चाहिने बताउँछिन्। “बच्चाबच्चीको स्वभाव बुझेर चकचकलगायत सबै क्रियाकलाप सहनुपर्छ”, उनी भन्छिन्, “यसका लागि तालीमले मात्र पुग्दैन।”

केयर गिभर सिन्ड्रोम

तस्वीरहरुः गोपेन राई सिद्धि शालिग्राम ज्येष्ठ नागरिक आश्रममा ७ वर्षदेखि नर्सिङ सेवा दिंदै आएकी कान्छीमाया बादे।

सिद्धि शालिग्राम ज्येष्ठ नागरिक आश्रममा ७ वर्षदेखि नर्सिङ सेवा दिंदै आएकी कान्छीमाया बादे।

पछिल्लो समय केयर गिभर अर्थात् स्याहार–सुसार गर्ने व्यक्तिहरूमा बढ्दो रूपमा देखिन थालेको ‘केयर गिभर सिन्ड्रोम/स्ट्रेस’ को समस्या चिकित्सकहरूका लागि नौलो चुनौती बनिरहेको छ। अध्ययन–अनुसन्धान शुरू भए पनि यसलाई कसरी घटाउने भन्नेबारे विश्वभर बहस भइरहेको काठमाडौं मेडिकल कलेजकी मनोचिकित्सक डा. रचना शर्मा बताउँछिन्। नेपाल जस्ता देशहरूमा परिवारकै सदस्यले बिरामी, वृद्धवृद्धा वा केटाकेटीको स्याहार–सुसार गर्ने चलन भए पनि औसत आयु बढेकाले केयर गिभिङ सम्बन्धी समस्या थपिने उनी बताउँछिन्।

डा. शर्माले आफूकहाँ डिप्रेसन, बाइपोलर डिसअर्डर, एन्जाइटी जस्ता समस्या लिएर आउने केयर गिभरहरूको संख्या बढेको अनुभव सुनाइन्। त्यसको कारण पत्ता लगाउन चाहिं समय लाग्ने उनको भनाइ छ। केयर गिभरहरूको समस्या धेरै पटकको निरीक्षण र सोधखोजपछि मात्र थाहा हुने उनले बताइन्।

ललितपुरको कुपण्डोलस्थित काठमाडौं इन्ष्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेन्टका केयर गिभिङ प्रशिक्षक कायस्थ खास गरेर मानसिक समस्या भएकाहरूलाई सेवा दिने केयर गिभरलाई डिप्रेसन, बाइपोलर डिस्अर्डर, एन्जाइटी जस्ता समस्या बढी हुने सम्भावना रहेको बताउँछन्। उनी भन्छन्, “आफूमाथि नै खनिने र कुटपीट गर्ने बिरामीका केयर गिभरलाई स्ट्रेस हुन समय लाग्दैन।”

care_giver3डा. शर्माका अनुसार, शुरूमा झर्को लाग्नु, निद्रा नलाग्नु, छटपटी हुनु, एकाग्र हुन नसक्नु स्ट्रेसको प्रारम्भिक लक्षण हो। त्यसमाथि विस्तारै अरू मानसिक रोग, उच्च रक्तचाप, मधुमेह जस्ता समस्या पनि थपिन्छन्। “अन्त्यमा सेवा दिने व्यक्ति नै सिकिस्त भई अस्पताल पुग्नुपर्ने हुन्छ”, डा. शर्मा भन्छिन्।

सन् २०११ को ‘जर्नल अफ नेपाल मेडिकल एसोसिएसन’ मा छापिएको, मलेशियाका डा. सइद ताजुद्दिन सइद हसनको ‘ट्रमाटिक ब्रेन इन्जुरीः केयर गिभर्स प्रब्लम्स एन्ड निड्स’ शीर्षकको अनुसन्धान आलेखमा मानसिक समस्या भएका बिरामीलाई सेवा दिनु पीडादायक हुने उल्लेख छ।

उक्त अनुसन्धान आलेखका अनुसार, नेपाल जस्ता अल्पविकसित देशहरूमा सेवा दिने र लिनेबीचको सम्बन्धलाई गम्भीरतापूर्वक लिइँदैन। अर्थात्, सेवा पाइरहेको व्यक्तिले जस्तोसुकै व्यवहार गरे पनि सेवकले चूपचाप सेवा दिनुपर्ने बाध्यता हुन्छ। मलेशिया पुत्र युनिभर्सिटीका डा. हसनले जर्नलमा लेेखेका छन्– ‘कोही सेवक बिरामीसँग रिसाउने, र्झ्किने पनि गर्छन्। यसले गर्दा सेवा दिने र लिनेबीचको सम्बन्ध नराम्ररी बिग्रिने गरेको छ।’

नयाँ समस्या
care_giver1हिजोआज घरमा स्याहार गर्न गाह्रो हुने बिरामी, वृद्धवृद्धा वा बालबच्चालाई नर्सिङ केयरको सुविधा भएको आश्रम र संस्थामा राख्न थालिएको छ। विशेष गरेर काठमाडौंमा यस्ता संस्था खुल्ने क्रम बढेको छ।

बिरामीलाई संस्थामा राखेपछि परिवारका सदस्यलाई हुने सम्भावित केयर गिभिङ स्टे्रसको समस्या घट्न सक्ने सिद्धि शालिग्रामका श्यामसुन्दर धौभडेल बताउँछन्। डा. शर्मा चाहिं केयर गिभरभन्दा पारिवारिक स्नेह नै उत्तम हुने बताउँछिन्। “केयर गिभरले पनि एकोहोरो खटिनुहुँदैन”, उनी भन्छिन्, “वेला–वेला छुट्टी लिए स्ट्रेसको सम्भावना घट्छ।”

डा. हसन केयर गिभरले सेवा दिइरहँदा आफूलाई कस्तो महसूस भइरहेको छ भन्नेबारे साथीभाइ र घरका सदस्यलाई सुनाइरहनुपर्नेमा जोड दिन्छन्। उनका अनुसार आफ्नो अनुभव सुनाउने, समयमा खाने, समयमा सुत्ने, योग र व्यायाम गर्ने गर्दा केयर गिभर सिन्ड्रोमबाट जोगिन सकिन्छ। “केयर गिभर सिन्ड्रोमबाट बच्न निरन्तरको स्याहार–सुसार र शारीरिक थकान घटाउने अरू उपाय पनि अपनाउनुपर्छ”, उनी भन्छन्।

अमेरिकी साइकिएट्रिक एसोसिएसनको पछिल्लो ‘डाइग्नोस्टिक एण्ड स्टाटिस्टिकल म्यानुअल अफ मेन्टल डिस्अर्डर’ (मेडिकल लिटरेचर) मा केयर गिभर सिन्ड्रोम परेको छैन। सबै किसिमका मानसिक विशृंखलता नामकरण र वर्गीकरण गर्ने म्यानुअलमा केही उल्लेख नभएकोले केयर गिभर सिन्ड्रोमलाई फिजिसियनहरूले नै हेर्दै आएका छन्। यसकारण पनि केयर गिभर स्ट्रेस भएकाहरूले उचित उपचार नपाइरहेको सन् २००७ मा सीएनएन डटकममा प्रकाशित डा. एन्ड्री लेरोयको लेखमा भनिएको छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...