थप समाचारबिहीबार, बैशाख २३, २०७३
अनियमित विद्युत कटौतिविरुद्ध वीरगञ्जमा प्रदर्शन
विद्युत प्राधिकरणले उपलब्ध गराएको लोडसेडिङ तालिका बाहेकको अवधिमा पनि विद्युत कटौति गर्ने समस्या नहटेपछि वीरगञ्जमा विरोध प्रदर्शन भएको छ ।
वीरगञ्जका युवा विद्यार्थीहरुले २३ वैशाखमा पावरहाउस चोकमा केहीबेर प्रदर्शन गर्नुकासाथै नेपाल विद्युत प्राधिकरण, वीरगञ्ज वितरण केन्द्रमा धर्ना समेत दिएका छन् ।
सदभावना पार्टीका ओमप्रकाश सर्राफको नेतृत्वमा स्थानीय युवा र विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।
प्राधिकरणले वीरगञ्ज लगायत आसपास क्षेत्रमा अनियमित तरिकाले विद्युत कटौति गर्दै आएका कारण उद्योग व्यवसायका साथै नागरिकको जनजीवन कष्टकर बनेको र विद्यार्थीहरुको अध्ययनमा समेत असर पारेकाले धर्ना दिइएको सर्राफले बताए ।
ठूला उद्योगको फिडरमा नियमित रुपमा विद्युत आपूर्ती गरेर प्राधिकरणले साना व्यवसायी एवम् सर्वसाधारणलाई दुख दिने गरेको आरोप स्थानीयको छ ।
प्राधिकरणको वीरगञ्ज वितरण केन्द्रका प्रमूख च्युटुनकुमार श्रीवास्तवले भने यो समस्या वीरगञ्ज केन्द्रका कारण नभएको बताए ।
“हेटौंडा–जनकपुर प्रशारण लाईनमा खराबी आएकोले फागुनदेखि यस्तो समस्या देखिएको छ,” उनले भने, “प्रशारण लाईन मर्मतको काम भइरहेको छ । केही दिनमै नियमित हुन्छ ।”
सर्राफले भने विद्युत वितरण अनियमित रहेसम्म दैनिक एक घण्टा धर्ना दिइने बताएका छन् ।
सुरेश बिडारी, वीरगञ्ज