समाचारबिहीबार, बैशाख २३, २०७३

प्रधानमन्त्रीले फेरि सुनाए आफ्ना कामका फेहरिस्त

हिमालखबर

२३ वैशाखमा बसेको व्यवस्थापिका संसदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले सरकारको प्रतिक्षा गरेका छन् ।

PM KP Oli

व्यवस्थापिका–स‌ंसद्लाई सम्बाेधन गर्दै प्रधानमन्त्री अाेली । तस्वीरः विक्रम राई

सरकारले गरेका कामहरुको फेहरिस्त सहितको लामो संवोधन गरेका ओलीले पुरानै कुराहरु दोहोर्‍याए ।

उनले सरकारविरुद्ध मनगढन्त आरोप लगाइएको र विरोधका लागि मात्रै विरोध भएको दाबी गरे । मुलुकमा अस्थिरता ल्याउनका लागि सँधै दौड र षडयन्त्र हुने गरेको भन्दै उनले जिम्मेवार राजनीतिक दलहरु बसेर संवाद र सहमतिबाटै समस्याको समाधान गरिनुपर्ने बताए ।

संविधानप्रति असन्तुष्ट पक्षलाई लक्षित गर्दै उनले भने, “के नेपालले कहिले पनि संविधान नपाउने ? अग्रगमनको बाटो लिन नपाउने ? जनतका अधिकारलाई संस्थागत हुन नदिने खालका प्रयासहरु उचित हुँदैनन् ।षडयन्त्र र धोकाको जगमा राष्ट्रिय सहमति हुँदैन ।”

आफ्ना कुरामा जिद्दी गर्ने र हुनै नसक्ने माग राख्ने जस्ता आग्रहबाट लोकतन्त्रका आधारभुत कुरालाई अस्विकार गर्न नसकिने उनको भनाई थियो ।

संविधान पुनर्लेखनको माग गर्नेहरुलाई उनले भने, “संविधान पुनर्लेखनको अधिकार कसैलाई छैन । त्यो कुरा नगरौं । संसदले संविधानको पुनर्लेखन गर्दैन, संशोधन मात्रै गर्न सक्छ ।”

संविधानको प्रशंसा गर्ने क्रममा ओलीले भने, “यही संसदमा बसेर संविधानको खोइरो खन्न, धज्जी उडाउन पाइएको छ । कती विशाल छ यो संविधान ।”
संविधानको कार्यान्वयनका लागि सरकार चुकेको भन्ने आरोपको जवाफ दिंदै ओलीले राष्ट्रपति, प्रधानमन्त्री लगायतको निर्वाचन, विभिन्न आयोग गठन र कानूनदेखि संविधान संशोधनसम्मका फेहरिस्त सुनाए, वर्तमान संविधान अन्तर्गत नै भएको भन्दै ।

पुनःनिर्माण सम्बन्धमा सरकारले धेरै गरेको भन्दै उनले अघिल्लो सरकारले के गरेको थियो भन्ने प्रश्न गरे । त्यसैगरी पुनःनिर्माण प्राधिकारणका कार्यकारी प्रमुखको योग्यताको कुरा गर्दै पहिलेका प्रमुखको अनुभव र योग्यतामाथि समेत प्रश्न गरे ।

ओलीले भने, “प्राधिकरणमा अनुभव नभएका जुनियरलाई ल्याइयो भन्ने आरोप लाग्छ तर, पहिलेका सिईओको अनुभव र उमेर कति थियो ?”
उनले विदेशी दाताहरुले ४ खर्ब दिने प्रतिवद्धता गरेको र त्यो अझै नआएको बताए ।

प्रधानमन्त्री ओलीले सयौं घरहरु निर्माण भइसकेका, हजारौं घरहरु निर्माण हुँदै गरेका, गोरखाको लाप्राकमा पुनःनिर्माणको जिम्मा एनआरएनएलाई दिएको, सयौं विद्यालय बनाइएको, स्वास्थ्य संस्था बनाउन विभिन्न संस्थासँग समझदारी भइसकेको बताए ।

ओलीले भने, “हिंजो के के गाइँगुइँ भयो, सरकारमा खडेरी पर्ला, आपतै पार्छन कि क्या हो भनेपछि हिजै पानी पर्‍यो ।”

उनले वर्तमान सरकार मधेशी, जनजाति, थारु, दलित लगायत सबैका मागमा संवेदनशील रहेको भन्दै आफूमाथि मिथ्या आरोप नलगाउन आग्रह गरे ।

भने, “सरकार संवेदनशील छ, म प्रधानमन्त्री हुँदा तराई बलेको थियो । बन्द थियो, आम हडताल थियो । त्यहाँ सुरक्षाकर्मीकै सुरक्षा थिएन । ४८ जनाको ज्यान गइसकेको थियो । जनधनको ठूलो क्षति, भयानक र उत्तेजनाको अवस्था थियो । अनी हामीले सघन ढंगले वार्ता गर्‍यौं ।”

उनले मधेशका माग सम्बोधन गर्न संविधान संशोधन भएको, राजनीतिक समिति बनाएको, पटक पटक संवाद गरेको भन्दै बाँकी कुरालाई छलफल गरी टुंग्याउनका लागि संवादमा आउन मधेशकेन्द्रित दल साथै अन्य असन्तुष्टहरुलाई आग्रह गरे ।

मानवअधिकार र लोकतन्त्रका लागि आधा शताब्दी संघर्ष गरेको आफ्नो प्रतिवद्धता शंका नगर्न भन्दै ओलीले थपे, “मानवअधिकार र लोकतन्त्रप्रति वर्तमान सरकारको प्रतिवद्धता अद्वितीय छ ।”

‘उखान टुक्काले देश चल्दैन’ भनेर आफूमाथि ब्यंग्य हुने गरेको भन्दै ओलीले जवाफ दिए, “विशाखापट्टनमको बन्दरगाह उखान टुक्का हो ? चीनसँगको पारवहन सम्झौता उखानटुक्का हो ?”

उनले लोडसेडिङ एकवर्षभित्र अन्त्य गर्ने, काठमाडौं–पोखरा र काठमाडौं–लुम्बिनी रेल सञ्चालन गर्ने, फोहरबाट ग्यास उत्पादन गर्ने जस्ता योजना दोहोर्‍याए ।
प्रधानमन्त्रीले भने, “रेल चलाउने सुन्दा केही लाई छटपटी भएको छ । बनाइयो बनाइयो काठमाडौं पोखरा, काठमाडौं लुम्बिनी रेल ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>